कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार

कपिलवस्तुमा झाडापखालाका बिरामी थपिँदै, दूषित पानीका कारण प्रकोप फैलिएको आशंका 
 १५ बेड क्षमताको अस्पतालमा १ सय ६५ जनाको उपचार, १ सय ५ जना डिस्चार्ज
मनोज पौडेल

बहादुरगन्ज, कपिलवस्तु — अस्पताल परिसरको प्रतीक्षालयमा बिरामीका लागि बेड हालिएको छ । बाँसका लौरालाई स्लाइन झुन्ड्याउन स्ट्यान्डका रूपमा प्रयोग गरिएको छ । नरिवलको डोरीमा लहरै ५/७ वटा स्लाइनका बोतल झुन्ड्याइएका छन् । खुला आकाशमुनि लस्करै छन्, झाडापखालाका बिरामी । आँप र पीपलको रूखमुनि ३५ जनाभन्दा बढी बिरामीको उपचार चलिरहेको छ । 

३५ बेडको अस्पतालमा ३०५ बिरामी : घरबाटै खाट लगेर उपचार

कृष्णनगर नगरपालिकाको बहादुरगन्जस्थित शिवराज अस्पतालको अवस्था हो यो । नगरका तीन वडाका ६ गाउँमा सोमबारदेखि फैलिएको झाडापखालाबाट बुधबारसम्म ३ सय ५ जना बिरामी उपचारका लागि अस्पताल आएका थिए ।

बहादुरगन्जकै १० निजी क्लिनिकमा एक सयभन्दा बढीले उपचार गराइरहेका छन् । सिकिस्त नभएका बिरामी घरमै उपचार गराइरहेका छन् । त्यस्ताको संख्या पनि २ सयभन्दा बढी रहेको स्वास्थ्यकर्मीले बताए । अहिले शिवराज अस्पतालमा मात्रै १ सय ६५ जनाको उपचार भइरहेको छ । ३५ जनालाई जिल्ला अस्पताल र प्रादेशिक अस्पताल रिफर गरिएको छ । बुधबार बेलुका ५ बजेसम्म १ सय ५ जना बिरामी डिस्चार्ज भएका छन् ।

कृष्णनगर–९, बहादुरगन्जका ७ वर्षीय आनस हलुवाईले बुधबार पखालाले थलिएर उपचारका लागि अस्पताल पुग्दा बेड पाएनन् । अस्पताल प्रशासनले भुइँमै राखेर उपचार गर्नुपर्छ भनेपछि उनका ठूलोबुबा जिब्राइमले घरबाटै खाट बोकेर अस्पताल पुगे । आनसले मात्र नभई बहादुरगन्जका ५/६ जनाले घरबाटै खाट ल्याएर अस्पताल परिसरको खुला आकाशमुनि उपचार गराइरहेका छन् । क्षमताभन्दा २० गुणा बढी बिरामी एक्कासि आएपछि अस्पताल अहिले अस्तव्यस्त बनेको छ । जता हेर्‍यो उतै बिरामी छन् । बरन्डा, इमर्जेन्सी, ड्रेसिङ रुम र गल्ली कहीं खाली छैन । १५ बेड क्षमताको अस्पतालमा बिरामीको भीड छ । एउटा बेडमा ३ जनासम्म राखेर उपचार भइरहेको छ ।

बुधबार मात्रै १ सय १० जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ‘अस्पताल सानो हुँदा साधन स्रोतको कमी छ,’ अस्पतालका निमित्त मेसु डा. मुकेश चौधरीले भने, ‘बढी सिकिस्त बिरामीको उपचारमा ध्यान दिएका छौं । बिरामीमध्ये सयभन्दा बढीको आईभी मेडिकेयरबाट उपचार गर्नुपरिरहेको छ ।’ मुखबाट औषधि उपचार सम्भव नहुँदा स्लाइनबाट गर्नुपरेको उनले बताए । बेड नपुगेपछि टेन्ट हाउसबाट १५ बेड भाडामा ल्याएको अस्पताल प्रशासनले जनाएको छ । ‘बिरामी बढ्दै गएका छन्,’ उनले भने, ‘अवस्था नियन्त्रणमा रहे पनि संवेदनशील छ ।’

बहादुरगन्जकी बित्तर धोबीका एकै घरका १० जना बिरामी भएका छन् । चार जनालाई अस्पताल भर्ना गर्नुपरेको उनले बताइन् । ‘बिराम हुने चीजवस्तु केही खाएका थिएनौं,’ उनले भनिन्, ‘कसरी एकैचोटि सबै बिरामी पर्‍यौं, अचम्म लागेको छ ।’ मंगलबार र बुधबार सिकिस्त भएका ३५ जनालाई थप उपचारका लागि सुविधा सम्पन्न तौलिहवा, भैरहवा र बुटवल रिफर गरिएको छ । ‘सुगरको बिरामी छु,’ बहादुरगन्जका भीमबहादुर क्षत्रीले भने, ‘खानपानमा निकै होसियारी अपनाउँछु । तर, बाबुछोरी एकैचोटि बिरामी पर्‍यौं ।’

बिरामीहरूमा पखाला लाग्ने, पेट दुख्ने, उल्टी हुने र कमजोरी हुने लक्षण देखिएका छन् । बिरामीको लक्षण कालाजारसँग मिल्दोजुल्दो भए पनि ल्याब परीक्षण नभएसम्म भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । विभिन्न भौगोलिक क्षेत्रका पाँच जनाको दिसा परीक्षणका लागि बुटवल पठाइएको छ । अस्पतालमा जनशक्ति अभाव भएपछि कृष्णनगर नगरपालिका, कपिलवस्तु जिल्ला अस्पताल र प्रदेश मन्त्रालयले जनशक्ति पठाएको छ । ‘अहिले स्वास्थ्यकर्मीको टोली पर्याप्त छ,’ प्रमुख पाण्डेले भने, ‘अब बिरामीलाई छिटोछिटो उपचार गर्नेतर्फ लागेका छौं ।’

सुरुमा कृष्णनगर–७, ८ र ९ वडाका बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरागाउँका बासिन्दा बिरामी परेका थिए । अहिले संक्रमण अरू ठाउँमा पनि फैलिएको छ । कृष्णनगरकै पुरुषोत्तमपुर र शिवानगरका सर्वसाधारण पनि बिरामी पर्न थालेको सूचना आएको नगर प्रमुख रजतप्रताप शाहले बताए । यहाँ फैलिएको महामारी कडा खालको भएको एक स्वास्थ्यकर्मीले बताए ।

एन्टिबायोटिकले पनि काम गर्दैन,’ उनले भने, ‘त्यही भएर बिरामी बढ्दै गएका छन् ।’ यहाँ धेरैजसो बिरामी ५ देखि ११ वर्षका छन् । त्यसपछि वृद्धवृद्धा प्रभावित भएका छन् । दूषित पानीका कारण प्रकोप फैलिएको आशंका गरिएको छ । खानेपानी संस्थान बहादुरगन्जले पाइप लाइन विस्तार गरेको ठाउँमा बढी बिरामी देखिएका छन् । स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा अनुगमन गर्न पुगेको थियो । त्यहाँ उनीहरूले कतिपय ठाउँमा खानेपानीका पाइप टुटफुट भएको र लिक भएर पानी निस्किएको देखेको बताए ।

औषधि वितरण, बिरामीको हेरचाह र इमर्जेन्सीमा उपचार गर्दागर्दै अस्पतालका स्वास्थ्यकर्मी पनि थाकेका छन् । दुई दिनदेखि सुत्न नपाएको अस्पतालका मेसु चौधरीले बताए । ‘बुधबार बिहानबाट बढी जनशक्ति यताउताबाट थपिएका छन्,’ अस्पतालका इमर्जेन्सी फाँट प्रमुख अहेब रवि उपाध्यायले भने, ‘त्यसपछि अलि हल्का भएको छ ।’ बिरामीको उपचार गर्दागर्दै आफूसहित एक जना अनमी र दुई कर्मचारी पनि प्रकोपले थलिएको उनले बताए । ‘बिहानबाट १२/१५ पटक शौचालय जाँदाजाँदा ढल्न थालें,’ अनमी गीता भट्टले भनिन्, ‘औषधि खाँदा कामै गरेको छैन ।’ जीवनजल खाँदै बिरामीलाई औषधि वितरण गरिरहेको उनले बताइन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?