कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दलगत भागबन्डापछि गुटगत गलफती

कांग्रेसमा ७ मध्ये पौडेलले मागे ३, देउवा २ मात्र दिन तयार
४ मात्र मन्त्रालय पाएको एस सरकारमा जानेमै अन्योल, जसपामा पनि आकांक्षी धेरै
माओवादीबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दै 

काठमाडौँ — सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

दलगत भागबन्डापछि गुटगत गलफती

एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष्टि छ । उक्त दलभित्र मन्त्रालय नथपिए सरकारमै नजाने कि भन्ने सवालसमेत उठेको छ । जसपामा भने आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न सकस भएको छ ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा लाने भएको छ । माओवादी स्थायी कमिटी सदस्य गणेश साहका अनुसार स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम प्रस्ताव गरेका थिए । मन्त्रीका लागि प्रस्ताव गरिएका नाममा केही नेताको असन्तुष्टि देखिएको छ ।

यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रले अब शिक्षा, भूमि व्यवस्था र खेलकुद मन्त्रालय पाउने गठबन्धनमा मोटामोटी सहमति भएको छ । अध्यक्ष दाहालले पार्टीमा अझै मन्त्रालय हेरफेर हुने सम्भावना रहेको ब्रिफिङ गरेकाले को कुन मन्त्रालयमा जाने भन्ने निर्णय भइसकेको छैन । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । ‘थप तीन मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएकाले नाम टुंगो लगाएका हौं । मन्त्रालय निर्धारण गर्न बाँकी छ,’ स्थायी कमिटी सदस्य साहले भने ।

बैठकमा गिरिराजमणि पोखरेलले वरिष्ठ नेताको हैसियतमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुन उपयुक्त हुने धारणा राखेका थिए । ‘उहाँको नेतृत्वमा पार्टी र सरकारबीच समन्वय सजिलो हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने । तर उनको प्रस्तावलाई दाहालले गम्भीरतापूर्वक लिएनन् । पछिल्लो समय दाहाल र श्रेष्ठबीच मतभेद देखिँदै आएको छ ।

श्रेष्ठ आफैंले पनि उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्न चाहेका थिए । बैठकमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि मन्त्री दाबी गरेका थिए । ‘पार्टीभित्रको काम र वरिष्ठताका आधारमा मेरो पनि चाहना छ । अघिल्लो पटक पनि लामो समय काम गर्न पाइनँ,’ गजुरेलले बैठकमा भनेका थिए । गजुरेल २०७२ मा कृषिमन्त्री बनेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठलाई मन्त्री बनाउन लागिएकामा केही नेता असन्तुष्ट देखिएका छन् । असहमति भए फरक मत राख्न सकिने दाहालले बताए पनि निर्णयमा फरक मत कसैले लेखेका छैनन् । दाहालले असार २९ मा पार्टीभित्र छलफलै नगरी जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीका लागि सिफारिस गरेका थिए । यसपटक भने दाहालले पार्टी बैठकमा औपचारिक निर्णय गराएर मन्त्रीको टुंगो लगाएका हुन् ।

सिफारिस भएकाहरू को–को हुन् ?

स्थायी कमिटी सदस्य पौडेल २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । उनी बागलुङ २ बाट निर्वाचित सांसद हुन् । २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रिय पौडेल माओवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै हाल स्थायी कमिटी सदस्य छन् । स्थायी कमिटी सदस्य भएर पनि हालसम्म मन्त्री नहुनेमा पौडेल मात्रै थिए । उनले विद्यार्थी संगठनबाट राजनीति गरेका थिए । बाँके १ बाट निर्वाचित सांसद गहतराज माओवादीको केन्द्रीय सदस्य हुन् । २०५१ सालबाट माओवादी राजनीतिमा सक्रिय उनी क्षेत्रीय ब्युरो प्रमुख तथा २०५७ सालपछि विभिन्न जिल्लाको इन्चार्ज भएका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य भएका गहतराज २०७३ सालमा केन्द्रीय सचिवालय सदस्य थिए । उनले पनि विद्यार्थी संगठनबाट राजनीति गरेका थिए ।

श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध श्रेष्ठ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । २०५५ सालमा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएकी उनी एकीकरणमार्फत २०६५ मा माओवादीमा आबद्ध भएकी थिइन् । श्रेष्ठ पोलिटब्युरो, सचिवालय सदस्य हुँदै हाल केन्द्रीय सदस्य छिन् । उनले लामो समय महिला संगठनमा काम गरेकी थिइन् । हाल समानुपातिक सांसद यादव माओवादीले सशस्त्र विद्रोह सुरु गर्नुअघि नै हत्या गरिएका रामवृक्ष यादवकी छोरी हुन् । २०४४ सालमा अखिल छैटौंमार्फत राजनीतिमा आबद्ध रहेकी यादव २०६८ मा एमाओवादीको केन्द्रीय सदस्य, २०७० मा पोलिटब्युरो सदस्य हुँदै केन्द्रीय सदस्य छिन् ।

पौडेल समूहको असन्तुष्टिले कांग्रेस अनिर्णीत

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुइटा मात्र मन्त्री दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । पौडेल समूहले ३ मन्त्रीको माग गर्दै आएको छ । सरकारमा पठाउने नामबारे छलफल गर्न बुधबार दिउँसो नेता रामशरण महतको निवासमा पौडेल समूहको बैठक बसेको थियो । कांग्रेसका भागमा ७ मन्त्रालय परेको हुँदा आफ्नो समूहले तीनवटा पाउनुपर्ने धारणा नेताहरूले राखेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतमको नाममाथि छलफल भएको थियो । यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको ती नेताले बताए । रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । सिंहले बुधबार साँझ देउवासँग छुट्टै भेटसमेत गरेका थिए । ‘हामीले तीन मन्त्री मागेका छौं, यसका लागि प्रधानमन्त्रीसँग कुरा पनि भइरहेको छ,’ ती नेताले भने ।

मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ शीर्ष नेताहरूले पनि छलफल गरेका थिए । उक्त बैठकमा समेत पौडेल समूहले प्रधानमन्त्रीसँग तीनवटा मन्त्रालयको माग राखेको थियो । ‘तर सबैतिर मिलाउनुपर्ने भएकाले दुईभन्दा बढी दिने सकिने अवस्था छैन,’ देउवानिकट सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘सम्भवतः मन्त्रिपरिषद् विस्तारअघि त्यही आधारमा उहाँहरूले नाम दिनुहुन्छ होला ।’ पौडेल समूहमा कोइराला र सिंहको समेत छुट्टै उपसमूह छन् । पार्टीको आसन्न महाधिवेशनमा तीनै जनाले सभापति पदमा दाबीसमेत गरिरहेका छन् । दुइटा मात्र मन्त्री पाउने भएपछि समूहभित्र सन्तुलन मिलाउन सकस भइरहेको एक नेताले बताए ।

कांग्रेसले प्रधानमन्त्रीबाहेक ७ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यसमध्ये गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुन–न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्यामा उमेश श्रेष्ठ (राज्यमन्त्री) नियुक्त भइसकेका छन् । चारै जना देउवा समूहका हुन् । प्रधानमन्त्री देउवाले बाँकी ४ मध्ये पौडेल समूहलाई दुई दिएर आफ्नो समूह र कृष्णप्रसाद सिटौला समूहलाई एक–एक वटा छुट्याएका छन् । सिटौला समूहले उमाकान्त चौधरीलाई पठाउने भएको छ । ‘हाम्रो समूहबाट सौहार्द रूपमा (उमाकान्त चौधरीको) नाम पठाइसकिएको छ,’ सिटौला समूहका एक नेताले भने ।

देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई पठाउन खोजेका छन् । देउवानिकट एक नेताले कांग्रेसबाट पठाउने नाम क्षेत्रीय र समावेशी हिसाबले सन्तुलित बनाउने प्रयास भइरहेको बताए । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । कानुन–न्याय तथा संसदीय मामिला मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि हाल उक्त मन्त्रालयको नेतृत्व गरिरहेका कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लाने मनस्थितिमा प्रधानमन्त्री देउवा रहेका उनीनिकट नेताले बताए ।

जसपामा आकांक्षी धेरै

गठबन्धनमा रहेको अर्को दल जसपामा आकांक्षी धेरै भएकाले मन्त्रीको नाम टुंग्याउन समस्या भएको छ । भागबन्डामा जसपाले चार मन्त्रालय पाएको छ । कार्यकारिणी समितिको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । राई काठमाडौंबाहिर भएका कारण बुधबार नाम टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । नेता मोहम्मद इस्तियाक राईले शीर्ष नेताले बिहीबार मन्त्रीको नाम टुंगो लगाउने जानकारी दिए ।

जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन् । सबै पार्टीबाट नाम सिफारिस भए प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

एकीकृत समाजवादी भागबन्डामै असन्तुष्ट

गठबन्धनको तेस्रो ठूलो दल एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँट सन्तुलित रूपमा नभएको भन्दै असन्तुष्टि जनाएको छ । एकीकृत समाजवादीको भागमा चार मन्त्री र एक राज्यमन्त्री छ । ‘मन्त्रालय बाँडफाँट सन्तुलित भएन,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘बिहीबार स्थायी कमिटी बैठक बस्दै छ । त्यही बैठकले उपयुक्त निर्णय लिन्छ ।’ उनले मन्त्री पठाउने/नपठाउनेबारे स्थायी कमिटी बैठकबाट थाहा हुने बताए ।

स्रोतका अनुसार कानुन मन्त्रालयसहित चार मन्त्रालय पाएको एकीकृत समाजवादीसँग प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले वकिल गोविन्द बन्दीलाई मन्त्री बनाउन आग्रह गरेका छन् । आफ्नै पार्टीमा आकांक्षी धेरै रहेको भन्दै बन्दीलाई अरू पार्टीको कोटाबाट समेट्न एकीकृत समाजवादीले देउवा र दाहाललाई जवाफ दिएको छ ।

‘मन्त्रीका आकांक्षी धेरै छन्, त्यही मिलाउन कठिन भएका बेला बन्दीलाई पनि हाम्रै कोटाबाट मन्त्री बनाउन देउवा र दाहालले प्रस्ताव गर्नुभएको छ,’ समाजवादीका अर्का नेताले भने, ‘त्यसकारण सरकारमा सहभागी हुने कि नहुने भन्ने विकल्पमा समेत छलफल चलेको छ । के गर्ने भन्ने निर्णय बैठकले नै गर्छ ।’ एकीकृत समाजवादीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, भवानी खापुङ, शेरबहादुर कुँवर र किसान श्रेष्ठ दाबेदार हुन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?