वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको दिल्लीबाट उद्वार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको दिल्लीबाट उद्वार

शंकर आचार्य

पर्सा — झण्डै तीन महिनाअघि वीरगन्जबाट अचानक हराएकी एक ११ वर्षीया बालिका भारतको नयाँदिल्लीमा फेला परेकी छन् । वीरगन्ज १५ लक्ष्मणवा घर भएकी रेखा कुमारी (नाम परिवर्तन) जुलाई १३ तारिखमा दिल्ली पुगेकी थिइन् । वीरगन्जको सीमावर्ती सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेकी थिइन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनको उद्वारमा सक्रिय संस्था तथा नेपाल तथा भारतीय महावाणिज्य दूतावासका अधिकारीहरुले रेखाको उद्वारबारे जानकारी गराएका थिए ।

उनको उद्वारमा संलग्न आफन्त नेपालका भारत प्रमुख नवीन जोशीले भारतीय प्रहरीले जुलाई १३ तारिखमा रेखालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिसे अवस्थामा फेला पारेर भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाएको बताए । चाइल्ड लाइनले रेखालाई दिल्लीकै अनाथ तथा बेवारिसे बालबालिकाको आश्रयस्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयको जिम्मा लगाएको थियो ।

आफन्त नेपालले रेखाको घरफिर्तीका लागि करिब ३ महिनासम्मको प्रयासपछि परिवारसँग पुनर्मिलन गराउन सम्भव भएको जनाएको छ । ‘यस कार्यमा थुप्रै कानूनी प्रक्रिया अघि बढाउँदा लामो समय लाग्न गयो,’ जोशीले भने, ‘नेपाल सरकार, काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास र दिल्लीस्थित नेपाली दूतावासको पनि धेरै सहयोग पाइयो ।’

जोशीले सुरुमा रेखाले आफ्नो नाम मात्र बताएको र अरु केही नबताएकाले उनको ठेगाना तथा आफन्तको पहिचान खुल्न समस्या भएको बताए । ‘हामीले सेल्टरमा उनलाई दैनिक जसो काउन्सिलिङ गर्न थाल्यौँ, बिस्तारै उनले बोल्दै गएपछि नेपालको वीरगन्ज र उनको घरको टोलसम्मको कुरो खुल्यो, त्यसपछि टोलको नामबाट उनको परिवारजनसँग सम्पर्क स्थापित भयो ।

मेडिकल जाँचपछि बालिकाको मानसिक र शारीरिक अवस्था पूर्ण रुपले ठीक भए पनि बालिका अझै पनि खुलेर बोल्न नसक्ने उद्वार संस्थाका अधिकारीहरुले बताएका छन् ।

रेखाले बताए अनुसार उनी वीरगन्जबाट अटो चढेर सिधै सीमापार भारतीय सहर रक्सौल पुगेकी थिइन् । रक्सौलबाट उनी दिल्ली रेलमा टिकट नकाटेरै चढेको पनि अनुसन्धानबाट खुलेको छ । रेल चढको भोलिपल्ट मात्रै अर्थात् जुलाई १३ तारिखमा उनी दिल्लीको रेल्वे स्टेशनमा उत्रिएकी थिइन् ।

उनको साथबाट ३ सय रुपैयाँ नेपाली र १ सय रुपैयाँ भारु फेला परेको बताइएको छ । रेल्वे स्टेशनमा प्रहरीको नजरमा नपरेको भए उनी दिल्लीमा ठूलो जोखिममा पर्नसक्ने खतरा रहेको जोशीले बताए ।

जोशीका अनुसार हरेक वर्ष एक सयभन्दा धरै नेपालीहरु भारतका विभिन्न सहरमा हराउने गर्छन् । कोरोना महामारीपछि यो क्रम झनै बढेको जोशीले बताए । भारतको गाजियावादबाट एकैपटक १९ बालबालिकाको उद्वार गरिएको जोशीले बताए ।

प्रकाशित : आश्विन २०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्

भारततर्फ इन्धन तस्करी

शंकर आचार्य

पर्सा — भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ । नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रुपैयाँ महँगो पर्छ । त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो । हाल वीरगन्जमा प्रतिलिटर पेट्रोल १२८ रुपैयाँ पर्छ भने डिजेल प्रतिलिटर १११ रुपैयाँमा विक्री भइरहेको छ ।

गत आइतबार ना३त २५६६ नम्बरको ट्र्याक्टरमा डिजेल राखेर चोर बाटोबाट भारततिर लैजाने क्रममा पर्सा प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले वीरगन्जको जानकी टोलाको बाटो हुँदै भारततर्फ लग्दै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका–२ बाट ट्र्याक्टरसहित डिजेल बरामद गरेको थियो । चालक ट्र्याक्टर छाडी फरार भएको प्रहरीको भनाइ छ । ट्याक्टरमा ७० लिटर डिजेल फेला परेको थियो ।

३ वर्षयता भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्दै आएको छ । त्यसैले भारततर्फ इन्धन तस्करी भइरहेको हो । वीरगन्जलगायतका सीमावर्ती बजारका पेट्रोल पम्पमा इन्धन भर्न आउने भारतीय सवारीसाधनको चाप बाक्लै हुन्छ । मोटरसाइकलदेखि चारपांग्रे सवारी आउने गरेका छन् । भारतबाट मालसामान बोकेर भन्सार नाका तथा पर्सा–बारा औद्योगिक करिडोरका उद्योगमा आउने मालबाहक सवारीसाधनले पनि यही इन्धन भरेर फर्कने गरेका छन् । सवारीसाधनमा इन्धन भरेर फर्कनेलाई कारबाही गर्न नसकिए पनि अन्य भाँडाकुँडामा बोकेर तस्करी गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्छ । तर, ग्रामीण नाकामा प्रहरीको बाक्लो उपस्थिति हुँदासमेत यदाकदा मात्र यस्ता तस्कर पक्राउ पर्छन् ।

मुलुकमै सर्वाधिक इन्धन आयात हुने नाका वीरगन्ज/आईसीपी भन्सार नाकाबाट समेत इन्धनको आयात बढेको तथ्यांकले देखाएको छ । गत र अघिल्लो आर्थिक वर्षमा पनि कोरोना महामारीको समयमा सवारीसाधन कम चलेका थिए । तर, ती दुवै आर्थिक वर्षमा वीरगन्ज नाकाबाट इन्धन आयात बढेको भन्सार कार्यालयको तथ्यांकले देखिन्छ । गत आवमा वीरगन्ज नाका हुँदै ६४ अर्ब ६० करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको ११ लाख ८९ हजार ७ सय ७३ किलो लिटर डिजेल आयात भएको छ ।

अघिल्लो आवमा ५८ अर्ब २३ करोड ४ लाख ८३ हजार रुपैयाँ बराबरको १० लाख २३ हजार ५ सय ९४ किलो लिटर डिजेल आयात भएको थियो । भन्सार तथ्यांकले पेट्रोलको आयात पनि बढेको देखाएको छ । गत आवमा यो नाका हुँदै १७ अर्ब ८४ करोड २६ लाख २५ हजार रुपैयाँ बराबरको ३ लाख २८ हजार ९ सय ५२ किलो लिटर पेट्रोल आयात भएको छ । अघिल्लो आवमा यो नाका हुँदै १७ अर्ब २४ करोड १३ लाख ९९ हजार रुपैयाँ बराबरको ३ लाख ११ हजार १ सय ३७ किलोलिटर पेट्रोल आयात भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जिल्लाको ग्रामीण भेगबाट भारततर्फ इन्धन तस्करी बढी हुने गरेको बताए । ‘विशेष गरी खेतीपाती प्रयोजनका लागि जेनरेटर तथा ट्र्याक्टरमा प्रयोग गर्न भनी ट्र्याक्टरमै बोकेर खेततर्फ लग्ने चलन छ,’ उनले भने, ‘खेतीपातीको बहानामा इन्धन भारततर्फ लग्ने गर्छन्, नियन्त्रणका लागि सक्दो प्रयास जारी छ ।’

प्रकाशित : आश्विन २०, २०७८ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×