२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको दिल्लीबाट उद्वार

शंकर आचार्य

पर्सा — झण्डै तीन महिनाअघि वीरगन्जबाट अचानक हराएकी एक ११ वर्षीया बालिका भारतको नयाँदिल्लीमा फेला परेकी छन् । वीरगन्ज १५ लक्ष्मणवा घर भएकी रेखा कुमारी (नाम परिवर्तन) जुलाई १३ तारिखमा दिल्ली पुगेकी थिइन् । वीरगन्जको सीमावर्ती सहर रक्सौलबाट रेल चढेर उनी दिल्ली पुगेकी थिइन् ।

वीरगन्जबाट हराएकी ११ वर्षीया बालिकाको दिल्लीबाट उद्वार

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनको उद्वारमा सक्रिय संस्था तथा नेपाल तथा भारतीय महावाणिज्य दूतावासका अधिकारीहरुले रेखाको उद्वारबारे जानकारी गराएका थिए ।

उनको उद्वारमा संलग्न आफन्त नेपालका भारत प्रमुख नवीन जोशीले भारतीय प्रहरीले जुलाई १३ तारिखमा रेखालाई दिल्लीको रेल्वे स्टेशनमा बेवारिसे अवस्थामा फेला पारेर भारतीय चाइल्ड लाइन संस्थाको जिम्मा लगाएको बताए । चाइल्ड लाइनले रेखालाई दिल्लीकै अनाथ तथा बेवारिसे बालबालिकाको आश्रयस्थल चाइल्ड वेलफेयर कमिटीको कार्यालयको जिम्मा लगाएको थियो ।

आफन्त नेपालले रेखाको घरफिर्तीका लागि करिब ३ महिनासम्मको प्रयासपछि परिवारसँग पुनर्मिलन गराउन सम्भव भएको जनाएको छ । ‘यस कार्यमा थुप्रै कानूनी प्रक्रिया अघि बढाउँदा लामो समय लाग्न गयो,’ जोशीले भने, ‘नेपाल सरकार, काठमाडौंस्थित भारतीय दूतावास, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास र दिल्लीस्थित नेपाली दूतावासको पनि धेरै सहयोग पाइयो ।’

जोशीले सुरुमा रेखाले आफ्नो नाम मात्र बताएको र अरु केही नबताएकाले उनको ठेगाना तथा आफन्तको पहिचान खुल्न समस्या भएको बताए । ‘हामीले सेल्टरमा उनलाई दैनिक जसो काउन्सिलिङ गर्न थाल्यौँ, बिस्तारै उनले बोल्दै गएपछि नेपालको वीरगन्ज र उनको घरको टोलसम्मको कुरो खुल्यो, त्यसपछि टोलको नामबाट उनको परिवारजनसँग सम्पर्क स्थापित भयो ।

मेडिकल जाँचपछि बालिकाको मानसिक र शारीरिक अवस्था पूर्ण रुपले ठीक भए पनि बालिका अझै पनि खुलेर बोल्न नसक्ने उद्वार संस्थाका अधिकारीहरुले बताएका छन् ।

रेखाले बताए अनुसार उनी वीरगन्जबाट अटो चढेर सिधै सीमापार भारतीय सहर रक्सौल पुगेकी थिइन् । रक्सौलबाट उनी दिल्ली रेलमा टिकट नकाटेरै चढेको पनि अनुसन्धानबाट खुलेको छ । रेल चढको भोलिपल्ट मात्रै अर्थात् जुलाई १३ तारिखमा उनी दिल्लीको रेल्वे स्टेशनमा उत्रिएकी थिइन् ।

उनको साथबाट ३ सय रुपैयाँ नेपाली र १ सय रुपैयाँ भारु फेला परेको बताइएको छ । रेल्वे स्टेशनमा प्रहरीको नजरमा नपरेको भए उनी दिल्लीमा ठूलो जोखिममा पर्नसक्ने खतरा रहेको जोशीले बताए ।

जोशीका अनुसार हरेक वर्ष एक सयभन्दा धरै नेपालीहरु भारतका विभिन्न सहरमा हराउने गर्छन् । कोरोना महामारीपछि यो क्रम झनै बढेको जोशीले बताए । भारतको गाजियावादबाट एकैपटक १९ बालबालिकाको उद्वार गरिएको जोशीले बताए ।

प्रकाशित : आश्विन २०, २०७८ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?