राजदूत बन्‍न परराष्ट्रभित्रै ‘अस्वस्थ’ प्रतिस्पर्धा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजदूत बन्‍न परराष्ट्रभित्रै ‘अस्वस्थ’ प्रतिस्पर्धा

आफ्नो पालोबाट पाउने अवसरका तुलनाका राजनीतिक पहुँचले प्रश्रय पाउन थालेपछि गठबन्धनका प्रभावशाली नेताकहाँ धाउन थाले कर्मचारी
पालो मिचेर सरकारले नै जथाभावी गरेपछि भएको क्रमभंगलाई सच्याउनुभन्दा दलहरूकै पछि लाग्ने बढे
जगदीश्वर पाण्डे

काठमाडौँ — कूटनीतिक क्षेत्रका उच्च पदाधिकारीहरू (सहसचिव) बीच नै मन्त्रालयभित्र ‘करिअर’ राजदूत बन्न लागि अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको कूटनीतिक मामिला हाँक्ने जिम्मेवारीमा रहेका परराष्ट्रका पदाधिकारीहरू पद्धति र प्रणालीमा चल्छन् भन्ने मान्यता छ । तर सुरु भएको प्रतिस्पर्धाले दूरगामी असर पर्ने संकेत देखिएका छन् ।

कूटनीतिज्ञका रूपमा काम गर्ने समयावधि, क्षमता र मन्त्रालयको निर्देशनलाई लत्याउँदै सहसचिवहरू राजदूत पद पाउनका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूको घरदैलो गर्न थालेपछि प्रतिस्पर्धा कुन रूपमा भइरहेको छ भन्ने प्रस्टिएको हो । ‘यी घटनाले मन्त्रालय र परराष्ट्र सेवालाई नै लज्जित पारेको छ,’ मन्त्रालयका एक पदाधिकारीले भने ।

नेपालको विदेशस्थित खाली भएका २३ नियोगहरूमध्ये १६ मा राजनीतिक कोटाबाट र बाँकी सातवटामा परराष्ट्र मन्त्रालयबाट करिअर राजदूतबाट नियुक्ति गर्ने गृहकार्य सरकारले गरेको छ । जम्मा ३३ विदेशी नियोगमध्ये अहिले १० वटामा परराष्ट्र मन्त्रालयका करिअर राजदूत छन् । सरकारले राजदूत नियुक्त गर्दा करिअरका र राजनीतिक क्षेत्रबाट आधा आधा गर्ने मापदण्ड बनाएको छ । उक्त मापदण्डलाई आधार मानेर परराष्ट्र मन्त्रालयले ३३ नियोगमध्ये १६ राजनीतिक र १७ वटा करिअर राजदूतका लागि हुनुपर्ने गृहकार्यसहित परराष्ट्रमन्त्री नारायण खड्कालाई ब्रिफिङ गरिसकेको छ ।

राजनीतिक रूपमा राजदूत नियुक्ति क्षमताभन्दा पनि नेता निकटका व्यक्तिहरूलाई मात्र अघि बढाएको भन्दै आलोचना भइरहेको बेलामा परराष्ट्र मन्त्रालयभित्र करिअर राजदूत नियुक्तिमा समेत नेता र राजनीतिक दल जोडिन थालेपछि थप समस्या हुन थालेको छ । राजनीतिक नियुक्ति हुने राजदूतहरू जस्तै परराष्ट्रका कूटनीतिज्ञहरू पनि पार्टीकै कार्यकर्ताका रूपमा नेताहरूको घरदैलो पुग्न थालेपछि मन्त्रालयभित्र समेत चर्चा सुरु भएको हो । ‘यसले गर्दा परराष्ट्र मन्त्रालयको पद्धति र गरिमामै ह्रास आउन थालेको छ,’ मन्त्रालयका ती पदाधिकारीले थपे ।

योग्यताभन्दा राजनीतिक पहुँचलाई प्राथमिकता

सामान्यतया परराष्ट्र मन्त्रालयका कर्मचारीहरू विदेशमा काम गर्ने, त्यसपछि नेपालमा आएर काम गर्ने र त्यसपछि फेरि विदेशमा जाने गरी काम भइरहेका हुन्छन् । त्यसरी काम गर्दा विदेशबाट अगाडि आउने पदाधिकारी विदेशमा नयाँ स्थान खाली भएपछि पहिलो प्राथमिकतामा नेपाली मिसनमा जान्छन् ।

तर पछिल्लो समय विदेशबाट पहिले काम गरेर आएकाहरू मन्त्रालयमै थन्किएर बसिरहेका हुन्छन् भने विदेशबाट पछि आएकाहरू मन्त्रालयमा केही महिना बसेरै अर्को विदेशी पोस्टिङका लागि जान्छन् । एउटा कर्मचारी लामो समयसम्म मन्त्रालयमा थन्किरहने र अर्को मन्त्रालयमा काम नै नगरी विदेशको एउटा मिसनबाट आएर सिधै अर्कोमा जान पाइरहेका छन् ।

त्यसको पछिल्लो उदाहरण हुन्, संयुक्त राष्ट्रसंघीय स्थायी नियोगका प्रमुख अमृतकुमार राई । उनी दक्षिण अफ्रिकाका लागि राजदूत थिए । त्यहाँ चार वर्षमात्र बिताएका उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सिधै काठमाडौं झिकाएर सन् २०१९ को जनवरीमा न्युयोर्कस्थित स्थायी नियोगको अर्को राम्रो पोस्टिङमा प्रमुखका रूपमा पठायो । परराष्ट्र मन्त्रालयका परम्पराअनुसार एउटा विदेशी नियोगमा काम गरेर आएपछि अर्को स्थानमा जानका लागि पहिले नै मन्त्रालयमा आएर बसेका अन्य साथीहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ । ओलीले राईको हिसाबमा त्यो गरेनन् । जसले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई काम गर्नेभन्दा पनि नेताहरूको पछि लाग्नु हितकर भन्ने सन्देश दियो । राई उनै अधिकृत थिए, जो केपी ओली २०६३ सालमा परराष्ट्रमन्त्री रहँदा सचिवालयमा काम गर्थें ।

ओली सरकारकै पालामा पूर्वमन्त्री गोकुल बाँस्कोटाको नजिक रहेका काभ्रेका कृष्णप्रसाद ढकालले पनि एउटा विदेशी मिसनबाट आउनेबित्तिकै अर्को मिसनमा जाने अवसर पाए । राजनीतिक पहुँच प्रयोग गरेर भारतबाट काठमाडौं आएर बैठक र त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) को राजदूत बनेर गए ।

‘पहिलेका यी घटनाहरू नजिर बनेका छन् । जसले गर्दा साथीहरू मन्त्रालयको प्रणालीअनुसार विदेशी मिसनमा जानका लागि आ–आफ्नो पालो कुर्नुभन्दा म तपार्इंको पार्टीको कार्यकर्ता हो नि भन्दै नेताहरूको जान थालेका हुन्,’ परराष्ट्रका अर्का एक अधिकारीले भने । उनका अनुसार यसले मन्त्रालयको साखमै चोट पुर्‍याएको छ ।

केपी ओलीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र त्यस बेलाका परराष्ट्र सचिव शंकरदास बैरागीलाई अघि सारेर परराष्ट्र मन्त्रालयलाई अस्वस्थ र भद्रगोल पारेको आरोप परराष्ट्रका अधिकारीहरूको छ । मन्त्रालयको पद्धति र प्रणालीलाई जोगाउनुपर्ने जिम्मेवारी पाएका तत्कालीन परराष्ट्र सचिव बैरागीले मुख्य सचिव बन्नका लागि ओलीले जे भने त्यही मानेका थिए । बैरागीले आफू मुख्यसचिव बन्नकै सर्तमा तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीलाई कार्यकाल सकिनु केही दिनअघि नै पदबाट राजीनामा गराएर बेलायतका लागि राजदूत बनाएर पठाउने कामसमेत गरे ।

मुख्यसचिव बैरागी उनै हुन्, जसले मन्त्रालयमा रहँदा काठमाडौंभन्दा विदेशी नियोगमा बढी समय बिताए । कार्यवाहक सचिव र पछि सचिव भएपछि मात्र उनी मन्त्रालयमा बसेका हुन् । अन्य कर्मचारी ३–४ वर्ष मन्त्रालयमा थन्किएर बस्दा बैरागी अस्ट्रेलिया, त्यसपछि न्युयोर्क अनि जेनेभामा छोटो समयमा पुगेका थिए । ती तीनै मिसन परराष्ट्रमा लोभलाग्दो स्थानका रूपमा लिइन्छ ।

पहुँच नहुँदा मन्त्रालयमै

राजनीतिक पहुँचका आधारमा कोही एउटा मिसनबाट अर्को मिसनमा जानका लागि काठमाडौंलाई ट्रान्जिटमात्र बनाइरहँदा केही अधिकारीहरूले भने लामो समय मन्त्रालयमा बिताउनुपरेको छ । तेजबहादुर क्षत्री करिब ५ वर्षदेखि काठमाडौंमै छन् । गणेश ढकालले ४ वर्षपछि मात्र थाइल्यान्डको राजदूत बनेर जाने अवसर पाए । संयुक्त राष्ट्रसंघको स्थायी नियोग जेनेभाका प्रमुख मणि भट्टराईलाई ४ वर्षपछि मात्र विदेश पोस्टिङ हुने अवसर मिल्यो । क्यानडाका राजदूत भृगु ढुंगानाले ५ वर्षपछि मात्र मन्त्रालयबाट पोस्टिङको अवसर पाएका थिए ।

फ्रान्सका राजदूत दीपक अधिकारीले ६ वर्षपछि मात्र विदेशमा गएर काम गर्ने अवसर पाए । पाकिस्तानका राजदूत तापस अधिकारीले पनि ५ वर्षपछि मात्र विदेश जाने अवसर पाए । कुवेतका राजदूत दुर्गा भण्डारीलाई ६ वर्षमा मात्र विदेशी मिसनमा काम गर्ने जिम्मेवारी मिल्यो । ‘नेता घरदैलो नजाने र आफ्नो नियमित पालो कुर्दा लामो समय मन्त्रालयमा बस्नुपरेको हो । राजनीतिक दलका नेताहरूको पछि लाग्नेहरू अमृतकुमार राई जस्तै गरी एउटा मिसनबाट आउनेबित्तिकै अर्को मिसनमा गइहाल्छन् । सबैमा त्यस्तो क्षमता कहाँ हुन्छ र,’ परराष्ट्रका अर्का एक अधिकारीले भने ।

मन्त्रालयभित्रै गुट–उपगुट

परराष्ट्र सेवामा झन्डै २ सय ५० जना कर्मचारीहरू छन् । यति सानो संख्यामा रहेका कूटनीतिक अधिकारीहरू बीचमा पनि कुनै राजनीतिक दलहरूको जस्तै गरी गुट र उपगुट बन्न थालेको छ । जसले गर्दा मन्त्रालयको कामकारबाहीलाई पूर्ण रूपमा असर गर्न थालेको एक पदाधिकारीले बताए । ‘त्यसलाई सिध्याएर म अघि बढ्नुपर्छ भन्ने मानसिकता कर्मचारीहरूमा छ । आफूले सिक्ने र क्षमता अभिवृद्धि गर्नेभन्दा पनि अरूलाई सिध्याउन लागिरहेका हुन्छन्,’ ती पदाधिकारीले भने, ‘मन्त्रालयमा अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक आडका भरमा पोस्टिङ खानाले गर्दा सहसचिव भइसकेका केही पदाधिकारीहरूलाई पत्राचार गर्दा लेख्नुपर्ने नोटसमेत राम्ररी ड्राफ्ट गर्न आउँदैन ।’

मन्त्रालयमा काम गर्नुभन्दा राजनीतिक दलका नेताहरूको पछि लागेपछि राम्रो र आफूले चाहेको स्थानमा पोस्टिङ हुन पाइने भएपछि सरकार परिवर्तन भएसँगै परराष्ट्रका अधिकाश पदाधिकारीहरू नेताहरूको घर–घरमा पुग्न थालेका छन् । ‘उही मान्छे एमाले सरकारमा हुँदा एमालेको नेतामा बिहानै पुग्थें भने सरकार परिवर्तन भएपछि अर्को दलका नेताहरूको घर–घरमा बिहानै पुगिरहेका छन्,’ मन्त्रालयका ती पदाधिकारीले भने ।

प्रकाशित : आश्विन २०, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्

चीनसँग जोडिएको हुम्ला सीमाबारे परराष्ट्रलाई गृहको पत्राचार 

द्विपक्षीय सहकार्य गरेर उब्जेका विषयहरुको समाधान गर्न समितिको सुझाव 
जगदीश्वर पाण्डे

काठमाडौँ — चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गृह मन्त्रालयले पछिल्लो पटक सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको हो । 

गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई सोमबार पत्राचार गरिसकेको जानकारी दिए । गृहले पत्रका साथै समितिले तयार पारेको प्रतिवेदनलाई परराष्ट्रमा समेत पठाइएको छ । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केहि विषयहरुमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो । असोज २ गते उक्त अध्ययन टोली काठमाडौं आएर प्रतिवेदन लेखेको हो ।


प्रकाशित : आश्विन १९, २०७८ १२:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×