घट्दै छ पानीको सतह, छैन पुनर्भरणमा गम्भीरता

भूमिगत स्रोत सकेजति दोहन गरेर पानी पुनः जमिनमा फर्किने व्यवस्था नगर्दा काठमाडौंमा सतह गयो मुन्तिर
सीमा तामाङ

काठमाडौँ — शंखमूलकी ज्योति श्रेष्ठले १२ वर्षदेखि भूमिगत पानी प्रयोग गरिरहेकी छन् । उनको घर परिसरको भूमिगत पानीको स्रोत बहालमा बस्ने थप चार परिवारले पनि चलाउँछन् । धारामा पानी आउने/नआउने भर हुन्न । त्यसैले पाँच परिवारले भूमिगत स्रोतबाट दैनिक कति पानी तानेर चलाउँछन् भन्ने हिसाब कसैले राखेको छैन ।

घट्दै छ पानीको सतह, छैन पुनर्भरणमा गम्भीरता

‘वर्षायाममा पानीको समस्या हुँदैन, जति पनि पुग्छ,’ उनले भनिन्, ‘हिउँदमा ट्यांकरको पानी किनेर चलाउँछौं ।’ उनको घरमा आकाशे पानी संकलनको जोहो पनि छ तर भूमिगत स्रोतबाट निकालेर चलाइने पानी पुनः जमिनमै भने फर्कन पाउँदैन । काठमाडौंमा यस्तो शंखमूलको एउटा घरमा मात्रै होइन, धेरै परिवार भूमिगत स्रोतमा भर परेका छन् ।

वर्षाको पानी होस् वा जमिनमुनिबाट बोरिङ गरेर झिकिने पानी, प्रयोगपछि त्यसले जमिनमै तल जान पाउनुपर्छ । पुनर्भरणको प्रक्रिया बाँधित भए प्रकृतिको चक्रमै असर गर्छ । तर बर्सेनि घर, भवन थपिएको राजधानीमा पानी जसरी हुन्छ चलाउने, अत्यधिक चलाउने प्रवृत्ति छ, पुनर्भरणको चिन्ता कसैलाई छैन । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार श्रेष्ठको घरमा जस्तै उपत्यकामा एक हजारभन्दा बढी ट्युबवेल छन् । त्यसमध्ये ७५ प्रतिशत ट्युबवेल लाइसेन्स प्रणालीमा आइसकेको छ भने बाँकी ल्याउने प्रयास भइरहेको बोर्डका हाइड्रोलोजिस्ट अनुज खनालले बताए । सन् २०१८/१९ मा गरिएको एक अध्ययनले उपत्यकामा दैनिक १ करोड १४ लाख लिटर पानी दोहन भइरहेको देखाएको छ ।

‘उपत्यकामा भूमिगत पानीको दोहन भइरहेको छ र पानीको सतह पनि घट्दै गएको छ,’ उनले भने, ‘तर, कुन ठाउँमा कति मिटर पानी घटेको छ भन्ने जाँच नगरी भन्न सकिँदैन । कुनै ठाउँमा पानीको सतह जस्ताको तस्तै छ, केही ठाउँमा घटेको छ ।’ विभिन्न अध्ययनले भूमिगत पानीको सतह घटेको औंल्याए पनि किन घट्दै छ, के–कस्ता समस्या आउँछ, कसरी समाधान गर्ने भन्ने विषयमा बोर्डले अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए । ‘अबको अध्ययनले कुन ठाउँमा कति पानी घटेको छ, कस्ता समस्या आउँछन्, कसरी समाधान गर्ने सबै निष्कर्षसहित आउँछ,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पनि ८० वटा ट्युबवेल सञ्चालनमा छन् । उपत्यकामा मात्र पानीको दैनिक माग ४३ करोड लिटर छ । माग धान्नकै लागि पनि ट्युबवेलको सहारा पनि लिइरहेको केयूकेलले दैनिक १३ देखि १४ करोड लिटर पानी वितरण गरिरहेको छ । केयूकेएलका प्रवक्ता प्रकाश राईका अनुसार वर्षायाममा ३० प्रतिशत र हिउँदमा ४५ प्रतिशत भूमिगत पानी दोहन गरी धारामा पुर्‍याइन्छ । केयूकेएलका बाहेक पनि उपत्यकाभरि थुप्रै ट्युबवेल प्रयोगमा रहेकाले दैनिक १ करोड १४ लाख लिटर भूमिगत पानीको दोहन भइरहेको छ ।

ट्युबवेललगायत कारणले काठमाडौंको जमिनमुनिको पानीको सतह क्रमशः घट्दै गएको भन्दै महानगरले ‘रिचार्ज काठमाडौं’ कार्यक्रम अघि सारेको थियो । आकाशेपानी संकलन गर्दै भूमिगत पानीको सतह सन्तुलन कायम गर्नका लागि निकै प्रभावकारी मानिन्छ । उपत्यकामा भूमिगत पानी तान्ने तर पुनर्भरण कहिल्यै नगर्ने भएकाले काठमाडौं महानगरपालिकाले योजना अघि सारेको ४ वर्ष भयो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकाल सुरुआतमै उक्त योजना अघि सारेका थिए । त्यही योजनाअनुसार बजेट छुट्याए पनि महानगरले काम गर्न सकेको छैन ।

शाक्यको कार्यकाल अन्तिम वर्षसम्म आइपुग्दा गोंगबु आवास क्षेत्रभित्रको डबली र डबलीसँगैको नर्सरीमा मात्र यो प्रणाली जडान गरेर सञ्चालनमा ल्याइएको छ । शाक्यले गत शुक्रबार नक्सालस्थित नन्दीरात्रि विद्यालयमा आकाशेपानी संकलन तथा भूमिगत पानी पुर्नभरण प्रणाली निर्माण कार्यको शिलान्यास गरे । महानगरले यसअघि ०७६ फागुन ६ मा गोंगबु आवास क्षेत्रको डबली र डबलीसँगै रहेको नर्सरीमा नमुना पानी पुनर्भरण प्रणाली सुरु गरेको थियो । महानगरका अनुसार यी दुवै ठाउँमा प्रणाली जडान गर्न ५ लाख रुपैयाँ लागेको थियो ।

महानगरले उक्त कार्यक्रमअन्तर्गत बर्सेनि बजेट छुट्याउँछ । ०७४/७५ मा ८० लाख, ०७५/७६ मा ३० लाख, ०७६/७७ मा १५ लाख, ०७७/७८ मा २५ लाख र ०७८/७९ मा ५० लाख रुपैयाँ छुट्याएको छ । बर्सेनि बजेट छुट्याए पनि महानगरमा पुनर्भरण केन्द्र एउटा मात्रै सञ्चालनमा छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने जल पुनर्भरण प्रक्रियाबारे समुदाय नै सचेत भएर कार्यक्रम माग गरेका सघाउने बताउँछन् । ‘हामीले ठाउँठाउँमा रिचार्ज प्वाइन्ट, पोखरी पुनर्निर्माण गरिरहेका छौं,’ उनले भने ।

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले २०७६ साउनमा ‘रिचार्ज काठमाडौं’ अभियान आफ्नै घरबाट सुरु गरेका थिए । तर, अहिलेसम्म श्रेष्ठबाहेक महानगरका कति जना कर्मचारीले यी प्रणाली जडान गरे भन्ने तथ्यांक नभएको उनले बताए । उनले गुठी संस्थाको सहयोगमा २५/२५ गरी ५० हजार खर्चेर आकाशेपानी संकलन प्रणाली जडान गरेका थिए । ‘घर बनाउँदा नै आकाशेपानी संकलन गर्ने किसिमले बनाएकाले यो प्रणाली जडान गर्दा धेरै लागत लागेन,’ उनले भने, ‘बनाइसकेको घरमा अब आकाशेपानी संकलनका लागि ठाउँ बनाउने हो भने अनुमानित लागतभन्दा बढी लाग्न सक्छ ।’

विभागका अनुसार वडा–५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको छ । महानगरका अनुसार अब बन्ने हरेक पार्कमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनर्भरणका लागि निर्माण गरिनेछ । बजेटमा राखे पनि के–कसरी काम गर्ने भनेर छुट्याउन नसक्दा बजेट कागजमै सीमित भएको छ । ०७६ देखि महानगरको सहरी योजना आयोगले आकाशेपानी संकलन तथा भूमिगत पानी पुनर्भरणका लागि अवधारणा नै बनाएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । अवधारणा विकास भइसकेकाले अब काम हुने उनले बताए ।

भूमिगत पानी निकाल्ने र भूमिमा पानी नपठाउने अथवा पुर्नभरण नगरिएकाले पानीको मात्रा घट्दै गएको समेत विभिन्न अध्ययनले औंल्याएको छ । बोर्डका हाइड्रोजिओलोजिस्ट अनुज खनाल भन्छन्, ‘उपत्यकामा भूमिगत पानीको दोहान भइरहेको छ र पानीको सतह पनि घट्दै गएको छ । तर, कुन ठाउँमा कति मिटर पानी घटेको छ भन्न सकिँदैन । कुनै ठाउँमा पानीको सतह जस्ताको त्यस्तै छ तर केही ठाउँमा घटेको छ ।’ उपत्यकामा ठाउँअनुसार पानी घटबढ हुने भएकाले सरदर यति घटेको छ भनेर भन्न नसकिने उनले बताए ।

विभिन्न अध्ययनले भूमिगत पानीको सतह घटेको औंल्याए पनि किन घट्दै छ के–कस्ता समस्या आउँछ, कसरी समाधान गर्ने भन्ने विषयमा अध्ययन नभएकाले बोर्डले अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए । ‘अबको अध्ययनले कुन ठाउँमा कति पानी घटेको छ, कस्ता समस्या आउँछन्, कसरी समाधान गर्ने सबै निष्कर्षसहित आउँछ,’ उनले भने । गुठी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले गएका वर्षहरूमा प्रतिमिनेट १ हजार लिटर पानी उत्पादन गर्ने केयूकेएलका ट्युबवेलहरूमा अहिले प्रतिमिनेट ७ सय लिटर पानी मात्र आइरहेको बताए ।

त्यस्तै जलस्रोत विज्ञ अजय दीक्षित पनि अब हरेक मानिसले ट्युबवेलमार्फत पानी तान्ने र आकाशेपानी संकलन गरी भूमिलाई पुनर्भरण गर्नेतर्फ समयमै सबै पक्ष गम्भीर हुनुपर्ने बताए । ‘वर्षामा आकाशेपानी संकलन गरी भूमिमा पुनर्भरण गर्ने र हिउँदमा तानेर प्रयोग गर्नुपर्छ, तर, एकतर्फी पानी तान्ने काम मात्र पनि गर्नुहुँदैन,’ उनले भने, ‘अहिले हरेक घरमा ट्युबवेल हुन्छ, पानी तान्छन्, प्रयोग गर्छन् । तर भूमिगत पानी पुनर्भरण गर्दैनन् ।’

प्रकाशित : आश्विन २०, २०७८ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?