रेमिट्यान्स घट्दै, सुन तस्करी बढ्दै

विगतमा अवैधानिक प्रणालीबाट धेरै सुन भित्रिँदा बैंकहरुले आयात गरेको सुन ‘स्टक’ मै थन्किन्थ्यो । यसपाला रेमिट्यान्समा कमी आउनुका साथै अवैध सुन भित्रिएका घटना बढिरहे पनि वैध सुनको बजार प्रभावित भएको देखिँदैन 
केही रेमिट्यान्स कम्पनीले नै विदेशी मुद्रा बाहिरै राख्ने र अरु स्रोतबाट सम्बन्धित घरपरिवारलाई पैसा दिने गरेको देखिएको छ । त्यो रकम सुनलगायत धातुको अवैध कारोबारमा उपयोग भएको हुन सक्छ । – रामेश्वर खनाल, पूर्वअर्थसचिव

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असोज ४–१३ सम्मका १० दिनमा मात्रै अवैध सुन बरामदका ६ घटनामा ५ जना पक्राउ परे । उनीहरू सबै जना मलेसिया र दुबईबाट फर्केका प्रवासी नेपाली श्रमिक थिए । प्रहरीले ५ जनाबाट १ किलो ५ सय ९९ ग्राम सुन बरामद गरेको थियो, जसको बजार मूल्य १ करोड २१ लाख ८८ हजार रुपैयाँभन्दा धेरै थियो ।

रेमिट्यान्स घट्दै, सुन तस्करी बढ्दै

साउनयता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन ओसारपसारका घटनामा १७ जना पक्राउ परिसकेका छन् । उनीहरू सबैको साथबाट ५ करोड ५९ लाख रुपैयाँभन्दा बढी बजार मूल्यको साढे सात किलोभन्दा धेरै सुन बरामद गरिएको थियो ।

कोरोना महामारीका कारण महिनौं बन्द भएको अन्तर्राष्ट्रिय उडान खुलेसँगै कतार, दुबई र मलेसियाजस्ता मुख्य श्रम गन्तव्यबाट आउने श्रमिक अवैध सुन तस्करीको आरोपमा पक्राउ परेको घटना नौलो होइन । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स प्रवाहमा कमी आएको बताइरहेको र बैंकहरूले आयात गरेको सुन धमाधम बिक्री भइरहेको परिदृश्यमा सुन तस्करीका घटनाहरू सार्वजनिक हुनु भने सामान्य संयोग मात्रै होइन । विगतमा अवैधानिक प्रणालीबाट धेरै सुन भित्रिँदा बैंकहरूले आयात गरेको सुन बिक्री नभएर ‘स्टक’ मै थन्किने गरेको थियो । तर यसपाला रेमिट्यान्समा कमी र अवैध सुन भित्रिएका घटनामा बढी भइरहेका बेला पनि वैध सुनको बजार प्रभावित भएको देखिँदैन ।

राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक तथ्यांक केलाउँदा रेमिट्यान्स आप्रवाह र सुनको आयातबीच प्रत्यक्ष सम्बन्ध देखिन्छ । अवैधानिक रूपमा धेरै सुन भित्रिएका दिनमा रेमिट्यान्स आप्रवाह घट्ने र यस्ता घटनामा कमी आएका बेला रेमिट्यान्स आप्रवाहमा सुधार हुने गरेको पाइन्छ । गत जेठ र साउनमा औसतभन्दा कम रेमिट्यान्स भित्रियो । त्यसअघि निषेधाज्ञाका बेला भने रेमिट्यान्स बढेको थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशतले कम हो ।

भदौमा अवैध सुन तस्करीका चार घटनामा चार जना पक्राउ परे । उनीहरूबाट प्रहरीले ४ किलो ३ सय ३० ग्राम अवैध सुन बरामद गर्‍यो, जसको बजार मूल्य झन्डै तीन करोड रुपैयाँ हुन्छ । पक्राउ परेपछि मात्रै ती चार घटना सार्वजनिक भए पनि पक्राउ नपरेका अरु कैयौं घटना पनि हुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् । राष्ट्र बैंककै अधिकारीहरू हुन्डी कारोबारीको व्यापकता र सुनलगायत बहुमूल्य धातुको अवैध कारोबारको असर रेमिट्यान्समा पर्न थालेको विश्लेषण सुनाउँछन् ।

अवैधानिक रूपमा सुनको कारोबार बढ्न थालेपछि रेमिट्यान्स आप्रवाह प्रभावित हुने (घट्ने) देखिएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘सुनको अवैधानिक कारोबार बढ्नु मात्रै रेमिट्यान्स घट्नुको कारण त होइन, एक महत्त्वपूर्ण कारण भने हो,’ उनले भने । रोजगारीका लागि विदेश गएका नेपालीले घर फर्किंदा सुनलगायत बहुमूल्य जिन्सी पनि साथै लिएर आउने भएकाले त्यति बेला रेमिट्यान्स घट्ने गरेको उनको भनाइ छ । ‘यही क्रममा केही हदसम्म सुनको अवैध कारोबार भएको पनि सुन्न पाइन्छ,’ उनले भने, ‘यसको अर्थ सुनको अवैध कारोबार र रेमिट्यान्स आप्रवाहको उल्टो सम्बन्ध देखिन्छ ।’

राष्ट्र बैंकले मुलुकको कुल जनसंख्या र उनीहरूले गर्ने मागलाई आधार बनाएर सुन आयातका सीमा (कोटा) निर्धारण गरिदिन्छ । ‘यस्तो सीमा प्रायः मागभन्दा कम हुन्छ । त्यसैले बजार माग पूर्तिका लागि पनि अवैधानिक प्रणालीबाट सुन आयात हुने गरेको पाइन्छ,’ थापाले भने । अवैध सुन बरामदबाट घटना केलाउँदा पनि पूर्वकार्यकारी निर्देशक थापाको भनाइ पुष्टि हुन्छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ यताका ५ वर्ष २ महिनामा ३ सय ८२ किलो अवैध सुन बरामद भएको छ । यसको औसत बजार मूल्य नै ३१ अर्ब ५२ करोड ६१ लाखभन्दा धेरै हुन्छ, जुन गत साउनमा वैधरूपमा भित्रिएको रेमिट्यान्सको झन्डै आधा रकम हो । आर्थिक वर्ष ०७३/७४ मा ६४ किलो र ०७४/७५ मा २ सय किलो अवैध तरिकाले सुन भित्रिएको थियो । ०७५/७४ मा ५१ किलो र ०७६/७७ मा ३० किलो सुन बरामद गरिएको थियो । ०७७/७८ मा ३२ किलो अवैध सुन बरामद गरिएको थियो, जसमा ३१ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै नियन्त्रणमा लिइएको हो । चालु आर्थिक वर्षका दुई महिनामै ५ किलो अवैध सुन बरामद भएको छ ।

नेपालमा वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ वटाले सुन आयातका लागि राष्ट्र बैंकबाट अनुमति लिएका छन् । ती बैंकले आलोपालो दिनमा २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ । यही व्यवस्थाअनुसार गत आर्थिक वर्षमा बैंकहरूले ३ हजार ९ सय किलो सुन आयात गरेका थिए, जसमध्ये ३ हजार ७ सय २६ किलो सुन बिक्री भइसकेको बैंकर्स संघले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा २ हजार ४ सय किलो सुन आयात गरिएको थियो । चालु आर्थिक वर्षका साउन र भदौमा गरी बैंकहरूले १ हजार १ सय किलो सुन आयात गरेको संघको तथ्यांक छ । त्यसमध्ये करिब १ सय १० किलो सुन मात्र बाँकी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य सरकारले दिनमा २० किलोका दरले सुन आयात गर्ने कोटा निर्धारण गरे पनि चाडबाडका बेला ३५ देखि ४० किलोसम्म सुनको माग भइरहेको सुनाए । उनले भने, ‘सुनको माग बढेको बढ्यै छ तर बेच्नेहरूले सुन पाउनै सकिरहेका छैनन् ।’ यस्तो परिस्थितिले सुनको अवैध बजार फस्टाउने जोखिम रहने उनको ठम्याइ छ । कोरोना महामारीको असरले विदेशबाट उडान नियमित नहुँदा पनि सुन बजारमा असर परिरहेको शाक्यले बताए । विदेशबाट फर्किने नेपालीले आफ्नो उपयोगका लागि सुनका गरगहना र बढीमा ५० ग्रामसम्म सुन ल्याउन पाउने कानुनी व्यवस्था छ । ‘विदेशबाट आउने यात्रुले वैधरूपमा ल्याउन पाउने सुन पनि अहिले रोकिएको छ । त्यसैले पनि बजारमा सुनको माग धान्नै नसकिने भएको छ,’ शाक्यले भने ।

कोरोना संक्रमण सुरु भएपछि सरकारले २०७६ चैत पहिलो सातादेखि विदेशी नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको थियो, जसलाई गत असोज ७ मा मात्रै फुकुवा गर्‍यो । यस बीचमा अन्तर्राष्ट्रिय उडानबाट आउने विदेशी यात्रु अवैध सुनसहित पक्राउ परेका घटना छैनन् । तर अन्तर्राष्ट्रिय यात्रुका निम्ति उडान खुलेसँगै सानो परिणाममा अवैध सुन बोकेर आउने नेपाली एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् । जस्तो कि, असोज १० मा प्रहरीले १ सय ४८.५ ग्राम सुनको ३ थान बालासहित भक्तपुर दुवाकोट बस्ने ३३ वर्षीय समुन्द्र दंगाल र बूढानीलकण्ठ बस्ने ४३ वर्षीय सन्तवीर राईलाई विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गर्‍यो । सिंगापुर एअरलाइन्सको उडानबाट काठमाडौं आएका दंगाल पक्राउ परेपछि उनलाई सुन ओसार्न राईले पनि सहयोग गरेको खुलेको थियो । प्रहरीको प्रारम्भिक बयानमा दंगाल भरिया मात्रै भएको खुल्यो ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल संगठित सुन तस्करीका घटना कमी आएजस्तो देखिए पनि एक वा अनेक स्वरूपमा अन्तरदेशीय सुन तस्करी कहिल्यै नरोकिने बताउँछन् । उनले यस्ता तर्कका पछाडि नेपाल र भारतको बजारमा सुनको माग र वैध आयातबीच देखिएको खाडललाई कारण देख्छन् । उनले भने, ‘भारतमा पनि सुनको मागभन्दा निकै थोरै वैध आयात छ । नेपालमा पनि यस्तै छ ।’ उनले अवैध सुन ओसारपसारलाई रेमिट्यान्स, अन्तरदेशीय लागूऔषध कारोबार र हुन्डीको कारोबारसँग जोडेर हेर्नुपर्ने बताए । ‘रेमिट्यान्स घट्दा अवैध सुन तस्करी बढ्ने वा लागूऔषधको कारोबार बढेका बेला सुनमार्फत त्यसको भुक्तानी दिने हुनाले अवैध सुन तस्करी हुने गरेको देखिन्छ,’ उनले भने ।

नेपाल रेमिटर्स एसोसिएसनका उपाध्यक्ष चन्द्र टण्डन निषेधाज्ञा खुकुलो भएसँगै मानिसको ओहोरदोहोर पनि बढेकाले सुनका गरगहनाका ल्याउने क्रम वृद्धि भएको र हुन्डीलगायत गैरकानुनी माध्यमको चहलपहल बढेको हुन सक्ने बताउँछन् । उनले भने, ‘दसैंका बेला भएकाले रेमिट्यान्स आप्रवाह बढ्नुपर्ने हो । तर यो वर्ष त्यस्तो उत्साह देखिएको छैन ।’ पूर्वअर्थसचिव रामेश्वर खनाल सामान्य अवस्थामा कम रेमिट्यान्स भित्रिनुलाई प्रवृत्तिकै रूपमा अर्थ्याउँछन् । ‘केही रेमिट्यान्स कम्पनीहरूले नै विदेशी मुद्रा बाहिरै राख्ने र अरू स्रोतबाट सम्बन्धित घरपरिवारलाई पैसा दिने गरेको देखिएको छ,’ उनले भने, ‘त्यो रकम सुनलगायत धातुको अवैध कारोबारमा उपयोग भएको हुन सक्छ ।’ यही कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्ने गरेको छ । बैंकमा अहिले निक्षेप बढ्न नसक्नुको एक कारण यो पनि हुन सक्ने उनले बताए ।

पूर्वअर्थसचिव खनालको बुझाईमा तुलनात्मक रूपमा सुनमा गरिएको लगानी सुरक्षित हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । ‘लगानीका अरू विकल्प कम भएको र आर्थिक संकटको समयमा सुनमा लगानी बढेको देखिन्छ,’ उनले भने, ‘सुनमा भएको लगानी तरल हुने भएकाले सुरक्षित मानिन्छ ।’ केही महिनाअघिसम्म नेपालको सेयर बजार बढिरहेको समयमा सुनको अवैधानिक कारोबारको चर्चा कम हुने गर्थ्यो । पछिल्ला महिनामा सेयर बजार घट्दो क्रममा रहेकाले लगानीकर्ताको आकर्षण सुनतिर बढेको खनालले बताए ।

शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितिमा असर

मुलुकमा विदेशी मुद्रामा हुने खर्च र आम्दानीको अवस्था देखाउने शोधनान्तर स्थिति गत साउनमा ३८ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक रह्यो । यसलाई धेरैले रेमिट्यान्स आप्रवाहनमा आएको कमीसँग जोडेर विश्लेषण गरे । विगतका वर्षहरूमा आयात कम थियो । आयातमार्फत बाहिरनेभन्दा रेमिट्यान्समार्फत भित्रिने विदेशी मुद्रा धेरै हुन्थ्यो । यसकारण मुलुकमा विदेशी मुद्रा सञ्चितिमा धेरै चाप पर्दैन थियो । पछिल्ला वर्षमा परिस्थिति बदलिएको छ । रेमिट्यान्स घट्दो क्रममा छ भने आयात उच्च गतिले बढिरहेको छ । जसका कारण रेमिट्यान्सले आयातमार्फत बाहिरिएको विदेशी मुद्राको क्षतिपूर्ति गर्न सक्ने अवस्था छैन ।

यही कारण शोधानान्तर घाटामा गएको छ भने विदेशी मुद्रा सञ्चिति घट्दो छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति करिब ४५ अर्ब रुपैयाँ (३३ करोड अमेरिकी डलर) ले घटेको छ । यो क्रम जारी छ । अपेक्षित रूपमा रेमिट्यान्स नआएको तर आयात बढिरहेको हुनाले भदौमा पनि विदेशी मुद्रा सञ्चिति धेरै घट्ने र शोधनान्तर घाटा बढ्ने प्रक्षेपण राष्ट्र बैंकका अधिकारीहरूको छ ।

प्रकाशित : आश्विन २०, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?