२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ऐतिहासिक काँक्रेविहार पर्खाल निर्माण रोक्न अदालतको अन्तरिम आदेश

हरिहरसिंह राठौर

सुर्खेत — ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ निर्माणाधीन ‘कम्पाउण्ड वाल’ (पर्खाल)को काम रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले मंगलबार आदेश दिएको हो ।

ऐतिहासिक काँक्रेविहार पर्खाल निर्माण रोक्न अदालतको अन्तरिम आदेश

डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई ५–७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ता विद्याभूषण मानन्धर र निवेदक अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए ।

निवेदकका पक्षमा अधिवक्ताहरुले गरेको बहसका आधारमा हाल निर्माणाधीन कार्य रिट निवेदनको टुंगो नलाग्दासम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम काँक्रेविहार संरक्षित वन क्षेत्रभित्रको जग्गा छोडी ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण गर्ने कार्य नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको हो ।

रिट निवेदकको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता विद्याभूषण मानन्धर वीरेन्द्रनगर नगरपालिका –९ का स्थानीय समेत हुन् । ‘काँक्रेविहार संरक्षित वन क्षेत्रको बाहिरी साँध सीमा नापनक्सा भई साँध सीमा क्षेत्रमा पिलरसमेत गाडिसकेको हुँदा सोही साँध सीमाबाट पर्खाल लगाई निर्माण कार्य गर्नू गराउनू’ भन्ने रिट निवेदनमा आदेश माग गरिएको छ ।

उक्त रिट निवेदनमा ‘साविकको साँध सीमाभन्दा झण्डै ५–७ मिटर जग्गा बाहिर जमिन छोडी काँक्रेविहार संरक्षण क्षेत्रको ५–७ मिटर भित्रबाट पर्खाल निर्माण कार्य नगर्नू, नगराउनू’ भनी अन्तरिम आदेशको माग गरिएको थियो ’अधिवक्ता खत्रीले जानकारी दिए ।

खत्रीकाअनुसार कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय सुर्खेत, भौतिक पूर्वाधार विकास निर्देशनालय सुर्खेतविरुद्ध रिट दायर गरिएको थियो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेत, वीरेद्रन्द्रनगर नगरपालिका कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ, र महादेव खिम्ती हिराचन–केएसके ज्वाइन्ट भेन्चर सुर्खेतविरुद्ध रिट निवेदन दर्ता गरिएको हो ।

तत्कालीन जुम्ला सिंजाका राजा अशोक चल्लले ईसं १२२५ मा निर्माण गरेको करिव १ सय ७५ हेक्टर क्षेत्रफलको काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोडलाई बाटो देखाएर भूमाफियाहरुले करोडौं रकम लगानी गरेको पाइएको छ ।

काँक्रेविहार संरक्षण क्षेत्रमा हाल संचालन भैरहेको बाटोभन्दा बाहिर निजी व्यक्तिहरुको नाममा दर्ता भएका जग्गा र काँक्रेविहार संरक्षण क्षेत्रको सीमाबाट नयाँ पर्खाल लगाइने भएको छ । जसकारण काँक्रेविहार सीमा छेउमा रहेका संरचनाका लागि प्रयोग भएको बाटो बन्द हुने भएको हो ।

यस क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल लगाउन २१ करोड लागत अनुमानमा डिपिआर निर्माण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार (इमर्जेन्सी एक्जिट) बन्ने भएको छ ।

गत आर्थिक वर्षको फागुन महिनामा ऊक्त काँत्रेविहार क्षेत्रको कम्पाउण्ड वालका लागि टेण्डर भैसके पनि स्वीकृत हुन बाँकी रहेको प्रमखु दाहालले जानकारी दिए । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले रकम स्रोत सुनिश्चितता गरिदिएपछि चैत्र मसान्तभित्रै ठेक्का स्वीकृत भई काम सूचारु गरिने प्रमुख दाहालले बताए । दाहालका अनुसार स्थानीयवासीको माग वमोजिम केही स्थानमा सडक चौडा गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै केही भाग छोडिएको छ।

प्रकाशित : आश्विन १९, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?