आफ्नै पत्‍नीलाई भारतको वेश्यालयमा बेच्‍ने पुरुष पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नै पत्नीलाई भारतको वेश्यालय पुर्‍याएर बेचेको अभियोगमा पीडितका पतिसहित दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मंगलबार पीडित महिलाका पति ३४ वर्षीय सुमित (नाम परिवर्तित) र नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का पासाङ तामाङलाई पक्राउ गरेको हो ।

आफ्नै पत्‍नीलाई भारतको वेश्यालयमा बेच्‍ने पुरुष पक्राउ

पीडित महिलाका पति सुमितले प्रेम सम्बन्धबाट विवाहपछि ५ सन्तानको जन्म भइसकेपछि २०७१ मा १ लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई जिम्मा लगाएको पाइएको छ । पासाङले ती पीडित महिलालाई काम लगाइदिन्छु भनी बालाजुको होटलमा लगेर एक महिलालाई जिम्मा लगाई फरार भएका थिए ।

ती महिलाले घरयासी काममा लगाई मासिक १० हजार रुपैयाँ दिन्छु भनी आफ्नो कोठामा तीन दिनसम्म राखेर भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएको र उनले सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

म्हेण्डाले तीन दिनसम्म आफ्नो घरमा राखेर अर्का व्यक्तिको जिम्मा लगाई आग्राको वेश्यालयमा पुर्‍याएका थिए । पीडित महिलालाई नयाँदिल्लीस्थित नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा २०७८ जेठ ३१ गते उद्वार गरेको थियो ।

पीडित महिलाले ब्यूरोमा भदौ १ गते दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । ब्यूरोले पीडित महिलाका पति सहित दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान थालेको छ । अन्य फरार रहेकाहरुको खोजी भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?