१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रोहिणी हत्याका मुख्य योजनाकार पक्राउ

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–३ का ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । १४ वर्ष पुरानो दुश्मनीले छिमेकीको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई मंगलबार सार्वजनिक गरेको छ । यस घटनामा संलग्न तीन जना पहिले नै पक्राउ परिसकेका छन् ।

रोहिणी हत्याका मुख्य योजनाकार पक्राउ

गत भदौ २६ गते घोरासैनीलाई नजिकको जंगलमा घाँस काट्न गएको मौका छोपी हत्या गरेर रुखमा झुण्ड्याइको थियो । घटनामा संलग्न गैंडाटारकै ३८ वर्षीय डोल प्रसाद बोलखेलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेका अनुसार काठमाडौं प्रहरीको सहयोगमा दरबारमार्ग आसपासबाट फरार अभियुक्तलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार बोलखेले गैंडाटारकै प्रल्हाल फुयालको सहयोगमा सिन्धुली, पिपलमाडी गाविस– ९ घर भई हाल पर्सा जिल्ला पर्सागढी नगरपालिका–३ सिर्जना टोलका रमेश पहरी र नवलपरासी जिल्ला कावासोती नगरपालिका– ८ का सूर्य बहादुर भण्डारीलाई ३ लाख सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएका थिए ।

मृतक रोहिणीप्रसाद र अभियुक्त बोलखेको परिवार २० वर्षदेखि गैंडाटारमा छिमेकी थिए । रोहिणीका बुबा भीमदत वर्षौँदेखि धामीझाक्रीको काम गर्थे। बोलखेका परिवारमा कोही बिरामी परे भीमदत्तले तन्त्रमन्त्र गरेको आरोप लगाउने गरेका थिए ।

सोही कारण दुवै परिवारबीच मनमुटाव थियो। बोलखेले रिसइबी साँध्न करिब १३ वर्षअघि पनि भीमदत्तलाई आक्रमण गरी घाइते बनाएका थिए। त्यसबेला गाउँमै छलफलपछि मिलापत्र गरिएको थियो ।

त्यसपछि बोलखे परिवार गैंडाटार छाडेर चन्द्रपुर ४ कप्तान टोल आएर बसेको थियो। तर, घोरासैनी परिवारप्रति उनको दुश्मनी मेटिएको थिएन। यतै बसेर घोरासैनीको हत्या गर्ने योजना बुन्न थालेको अनुसन्धानबाट खुलेको डिएसपी लामिछानेले बताए ।

प्रहरीका अुनसार हत्या गर्न बोलखेले प्रल्हादको साथ लिएका थिए। २०४६ सालदेखि नै दुई परिवारबीच दुश्मनी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भीमदत्तको ०७५ सालमा मृत्यु भइसके पनि दुश्मनी साँध्न बोलखेले रोहिणीप्रसादको हत्या गर्न मान्छे लगाएको प्रहरीको भनाइ छ। पक्राउ परेका बोलखेलाई अदालतबाट म्याद थपेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?