कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस महाधिवेशन : काठमाडौं महानगर चुनावका ३ सन्देश

निधि–सिंह निकटता
थापाको कित्ता स्पष्ट
सिंहको पकड कायमै
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसको काठमाडौं महानगर निर्वाचनमा उपसभापति विमलेन्द्र निधिसँग निर्णायक र परिणाम प्रभावित गर्ने भोट थिएन । तैपनि उनले प्रकाशनमान सिंह समर्थित प्यानललाई सहयोग गर्न आफूनिकटलाई निर्देशन दिए । करिब साढे ३ महिनादेखि एकताका लागि निरन्तर बैठक गर्दै आएका यी दुई नेताबीच काठमाडौं महानगरको निर्वाचन ‘विश्वासको बीज’ बनेको कांग्रेसवृत्तमा चर्चा छ ।

कांग्रेस महाधिवेशन : काठमाडौं महानगर चुनावका ३ सन्देश

आसन्न १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर असार पहिलो सातादेखि निधि, सिंह र शशांक कोइरालाबीच निरन्तर बैठक चलिरहेको छ । त्यसका लागि निधिको सक्रियता बढी देखिएको छ । तीनैजना कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् । ‘लिगेसीलाई आधार बनाएर १४ औं महाधिवेशनमा साझा उम्मेदवारीको चर्चा चलिरहेका बेला काठमाडौंमा निधिले सिंहको टिमलाई सहयोग गर्नुले दुई नेताबीच विश्वासको वातावरण बनेको देखिन्छ,’ महानगरको निर्वाचनलाई नजिकबाट नियालेका महासमिति सदस्य हरिहर अधिकारी भन्छन्, ‘तर यो सहकार्य महाधिवेशनसम्म यसरी नै जाला भन्नेमा प्रशस्तै आशंका छन् ।’

१२ औं महाधिवेशनमा निधि र सिंहबीच महामन्त्रीमा प्रतिस्पर्धा भएको थियो । सुशील कोइराला समूहबाट उठेका सिंहले शेरबहादुर देउवा प्यानलका निधिलाई पराजित गरेका थिए । १३ औं महाधिवेशनमा निधि देउवा समूहबाट उपसभापति बने । रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य जितेका सिंह पदाधिकारी बन्न सकेनन् । देउवाको साथ छोड्दै सभापतिमा उम्मेदवारी घोषणा गरेपछि निधिले सिंह र कोइरालासँग साझा उम्मेदवारीका लागि पहल गर्दै आएका छन् । निधिले काठमाडौं महानगरको निर्वाचनमा सिंहका उम्मेदवारलाई समर्थन गरेर सहकार्यलाई व्यावहारिकता दिन सफल भएका छन् । काठमाडौं महानगरको परिणाम आएको भालिपल्ट (सोमबार) निधि, सिंह र कोइरालाबीच बैठक बसेको छ । यो उनीहरूबीचको छैटौं बैठक हो । निधिनिकट पत्रकार रामजी दाहालका अनुसार बैठकमा नेतृत्वका लागि साझा उम्मेदवारी, क्रियाशील सदस्यता विवाद, सरकारले पूर्णता पाउन नसकेको लगायतका विषयमा छलफल भएको थियो ।

महानगरलगायत काठमाडौंका पालिकाको निर्वाचनबाट गगन थापाले पनि आफ्नो कित्ता स्पष्ट गर्ने मौका पाएका छन् । १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लडेका उनी पछिल्लो समय उक्त समूहबाट टाढिँदै गएका थिए । काठमाडौंमा सिंहसँग सिटौला समूहका भीमसेनदास प्रधानले पौठेजोरी खेल्दै गर्दा थापाले भने सिंहसँग सहकार्य गरे । सिंहसँगको गठबन्धनबाट थापाले बूढानीलकण्ठमा नगर सभापतिका साथै महानगरमा सचिव र अन्य पदाधिकारी जिताउन सफल भए । थापाका राजनीतिक सहयोगी प्रताप पौडेल काठमाडौंका पालिकास्तरीय निर्वाचनबाट सिटौला–थापा सहकार्य टुटे पनि महाधिवेशनमा सिटौलालाई समेत समेटेर देउवाइतर मोर्चा स्थापना गर्ने प्रयास भइरहेको बताउँछन् । ‘प्रकाशमान दाइ (सिंह) सँग अहिलेमात्र होइन, महाधिवेशनसम्मै सहकार्य गर्ने स्पष्ट रोडम्याप बनेको छ,’ उनले भने, ‘त्यसमा सबै (पूर्वसंस्थापन) समूह समेटिन सक्छन् ।’

कांग्रेस राजनीतिमा काठमाडौंलाई सिंहको परम्परागत पकड क्षेत्र मानिन्छ । सिंहको पकड भत्काउन यसपटक देउवा र सिटौला समूहबीच गठजोड बनेको छ । तर पालिकास्तरीय निर्वाचनले काठमाडौं जिल्लामा सिंहको पकड कायमै रहने संकेत दिएको छ । सिंहले १३ औं महाधिवेशनमा सिटौला समूहमा रहेका युवा नेता थापासँग समीकरणमात्र गरेनन्, देउवाबाट अलग्गिएका निधिको रणनीतिक समर्थन पनि बटुल्न सफल भए । निर्वाचन सम्पन्न भएका काठमाडौंका कीर्तिपुरबाहेक १० पालिकामध्ये सिंह समूहले महानगरसहित ७ र इतरसमूहले ३ पालिकामा नेतृत्व हात पारेको छ । १३ औं महाधिवेशनमा काठमाडौं महानगरमा नेतृत्वका लागि निर्वाचन भएन । अन्य १० पालिकामध्ये ७ वटामा सिंह समूहले नेतृत्व जितेको थियो ।

प्रकाशित : आश्विन १९, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?