१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फुच्चे स्याटेलाइटको अन्तरिक्षमा ८४१ दिन

एक किलो तौलको नेपाली स्याट–१ सोमबार अपराह्न वायुमण्डलमा बिलायो
गोविन्द पोखरेल

काठमाडौँ — दुई वर्षदेखि अन्तरिक्षमा नेपालको झन्डा अंकित कुनै वस्तु थियो भने त्यो फुच्चे ‘१ यू नेपाली स्याट–१’ थियो । सोमबार अपराह्न ४ बजेर २६ मिनेटपछि त्यो एक किलो तौल भएको वस्तु पृथ्वीको वायुमण्डलमा बिलायो । अब अन्तरिक्षमा नेपालको झन्डा अंकित कुनै पनि वस्तु छैन ।

फुच्चे स्याटेलाइटको अन्तरिक्षमा ८४१ दिन

जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का तर्फबाट नेपाली इन्जिनियरद्वय आभास मास्के र हरिराम श्रेष्ठले निर्माण गरेको यो नानो स्याटेलाइटसहित श्रीलंकाको राभाना–१ र जापानको इगिसुलाई अमेरिकाबाट २०७६ वैशाख ५ मा एकैपटक प्रक्षेपण गरिएको थियो । दुई महिनासम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेर असार २ मा पृथ्वीको तल्लो कक्षमा यी स्याटेलाइट छाडिएका थिए । यी स्याटेलाइटहरूले करिब ४ सय १० मिटरको उचाइबाट पृथ्वीलाई दैनिक १६ पटकसम्म फन्को लगाउँथे ।

पछिल्लो ६ महिनायता नेपाली स्याट–१ निरन्तर पृथ्वीतर्फ झरिरहेको थियो । निर्माणकर्ता श्रेष्ठले कान्तिपुरसँगको कुराकानीमा जापानबाट भने, ‘४ सय किलोमिटरबाट ३ सयमा पुगेपछि खस्दै गयो । पछिल्लो १५ दिनदेखि दैनिक १० किलोमिटरसम्मको दरले स्याटेलाइट झर्दै थियो ।’

सोमबार वायुमण्डलमा घर्षणका कारण खरानी बन्नुअघि श्रेष्ठले नेपाली समयअनुसार बिहान ११ बजे नेपाली स्याट–१ सँग अन्तिम सम्पर्क गरेका थिए । २ सय किलोमिटरको उचाइमा आइपुग्दा स्याटेलाइट वायुमण्डलमा घर्षणका कारण जलेको उनले बताए । अन्तिम सम्पर्क हुनुअघि स्याटेलाइटको सीडब्लू डाटा लिइएको थियो । ४ सय किलोमिटरमा उचाइमा पृथ्वीको माइक्रो ग्राभिटीले सामान्य असर गर्छ । पृथ्वीको नजिक हुँदै स्याटेलाइट जति तल झर्छ त्यति नै पृथ्वीको गुरुत्व बलले आफूतिर तान्छ । वायुमण्डलमा हावासँगको घर्षण र उच्च बलका कारण उत्पन्न हुने ऊर्जाले स्याटेलाइट पूर्ण रूपमा जल्छ । नेपाली स्याटेलाइट युरोपको आकाशमै खसेको स्याटेलाइटको अवस्थिति बताउने वेबसाइट स्याटभ्यु डट ओआरजीले जनाएको छ । ‘ब्याट्री, भोल्टेज, तापक्रम र सोलार पावर जेनेरेसन राम्रो देखाएको थियो,’ श्रेष्ठले भने, ‘स्याटेलाइट बिग्रिएरभन्दा पनि हाइटको कारणले गर्दा झरेको हो ।’

८ सय ४१ दिन अन्तरिक्षमा रहँदा नेपाली स्याटेलाइटले ९५ वटा तस्बिर लिएको थियो । तीमध्ये आधाजति मात्र प्रस्ट रूपमा बुझिने अनुसन्धानका लागि भने सबै फोटो काम लाग्ने उनले सुनाए । स्याटेलाइटले पृथ्वीबाट दिइने कमान्डबाट कहिले सूर्य र कहिले पृथ्वीतिरको तस्बिर खिच्थ्यो । सामान्य अवस्थामा दैनिक १६ पटक पृथ्वीलाई फन्को लगाउने गरे पनि तस्बिर भने एक दिनमा चार पटक मात्र लिन सक्ने अवस्थामा स्याटेलाइट हुने गरेको श्रेष्ठले सुनाए । क्यामेरा, एडीसीएस, लोरा डेमोन्सट्रेसर र ब्ल्याक प्लेन बोर्ड गरेर नेपाली स्याटेलाइटको मुख्य चार वटा उद्देश्य थियो । ती सबै मिसन सफलतापूर्वक सम्पन्न भए ।

लोरा मिसनअन्तर्गत एल्टिच्युट कसरी कन्ट्रोल र हेर्ने गर्नेसँग सम्बन्धित एक अनुसन्धानात्मक मिसन थियो । क्यामेरा मिसन मात्रै सर्वसाधारणका लागि चासोको विषय बन्यो । लोरा डेमोन्सट्रेसन मिसन टेक्नोलोजीसँग सम्बन्धित थियो । ‘ऊर्जा नहुँदा पनि आफैं सञ्चार कसरी प्रवाह गर्न सकिन्छ भन्ने सम्बन्धनमा यो मिसन थियो,’ उनले भने ।

अर्का निर्माणकर्ता आभास मास्केले नास्टको ग्राउन्ड स्टेसनबाट नेपाली–स्याट–१ सँग गत शनिबार अन्तिम पटक सम्पर्क भएको बताए । त्यसबेला स्याटेलाइटको अवस्था राम्रै रहेको उनले सुनाए । उनले भने, ‘एक दिन जसरी पनि खस्नुपर्थ्यो खस्यो । निकै दुःखद् खबर हो तर मिसन सफल भयो ।’ पहिलो पटक सानो प्रयासमा भए पनि अन्तरिक्षमा नेपाली झन्डा अंकित वस्तु पुग्नु नै खुसीको कुरा भएको उनले बताए । यो मिसनले प्रविधि र अन्तरिक्षको विषयमा नयाँ पुस्तामा उत्साह जगाएको प्रतिक्रिया दिए ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?