२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बुद्ध एयर ल्यान्डिङ गियर प्रकरण : जहाज ठिक, चालकदलमा शंका

सुरज कुँवर

काठमाडौँ — पांग्रा नखुलेको कारण देखाई एक साताअघि विराटनगरबाट काठमाडौं नै डाइभर्ट गरिएको बुद्ध एयरको एटीआर–७२ जहाज प्रकरणमा कम्पनीले चालकदलको कमजोरी देखाएको छ । बुद्धले सोमबार आफ्नो आन्तरिक छानबिन प्रतिवेदन नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई बुझाउँदै उक्त विमानमा कुनै प्राविधिक त्रटि नरहेको जनाउँदै त्यस घटनामा चालक दलकै ‘व्यवहार’ मा शंका व्यक्त गरेको छ ।

बुद्ध एयर ल्यान्डिङ गियर प्रकरण : जहाज ठिक, चालकदलमा शंका

‘उडानको परिस्थितिलाई सम्बोधन गर्न चालकदलले जहाजबारे ककपिटमा रहने पर्याप्त जानकारीका बाबजुद बाहिरी सूचनामा भर पर्नु नै घटनाको मुख्य कारण हो,’ छानबिन प्रतिवदेनपछि बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बुद्धको छानबिनले चालकदलले जहाजको ल्यान्डिङ गियर (पांग्रा) खुलेपनि टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई सोध्नुलाई यस घटनामा असान्दर्भिक भनेको छ । त्यसदिन चालकदलले विराटनगर अवतरण नगरी काठमाडौंमा डाइभर्ट भएपछि कम्पनीका इन्जिनियर र काठमाडौं टावरका एटीसीलाई पनि पांग्रा खुले/नखुलेको ‘कन्फर्म’ गरीदिन बारम्बार सोधेका थिए । जहाजले आठ पटक काठमाडौंको आकाशमा फन्को लगाएपछि टावरले चालकदललाई काठमाडौं धावनमार्गमाथि उडाउन लगाई पांग्रा खुलेको पुष्टि गर्दै अवतरणका लागि अनुमति दिएको थियो ।

त्यस्तै भुइँबाट खिचिएका तस्बिर पनि पाइलटलाई ह्वाट्सएपबाट पठाइएको थियो । बुद्धले एटीआर कम्पनीले जहाज उडानका क्रममा देखापर्ने विभिन्न प्राविधिक परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पर्याप्त जानकारीमूलक विधि तथा उपाय ककपिटमै राखिदिए पनि चालकदलले ती स्रोतमा भर नपरेको जनाएको छ ।

आन्तरिक उडानमा जहाज र यात्रु संख्याका हिसाबले पहिलो नम्बरमा रहेको बुद्धले बरु आफ्नै चालक दलको ‘व्यवहार’ माथि पनि शंका व्यक्त गरेको छ । ‘हामी यस घटनाबाट धेरै नै स्तब्ध छौं । यो घटनामा मानवीय व्यवहारको पक्षबाट पनि जाँच गरिहेका छौं । हामीले समस्या पहिचान गरी कम्पनीका सबै चालकदलमा लागू हुने गरी उचित सामाधान खोजेर चाँडै कार्यान्वयनमा ल्याउने छौं,’ विज्ञप्तिमा भनिएको छ । दुईवटा बीचक्राफ्ट र १३ वटा एटीआर गरी १५ वटा विमान भएको यस कम्पनीसँग १ सय ३० पाइलट छन् । बुद्धले हाल पेरिसमा सिम्युलेटर तालिका लागि गएका अपरेसन विभाग प्रमुख रञ्जनकुमार शर्मा र चिफ पाइलट सुनिल गुरुङ असोज अन्तिममा फर्केपछि यस घटनाबारे उनीहरुकै नेतृत्वमा थप विस्तृत अनुसन्धान पनि गर्ने जनाएको छ ।

प्रबन्ध निर्देशक बस्नेतका अनुसार विराटनगरका लागि भएको यू४–७०१ उडानका कमान्डर क्याप्टेन आङगेलु शेर्पाले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने प्राइमेरी इन्डिकेटर (पहिलो संकेत) मा बत्ती नबलेको भनेपनि ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा कोपाइलट अमन अन्सारीले ‘संकेत बत्ती बलेको छ सर’ भनेको संवाद सुनिएको बताए । ‘कोपाइलटले संकेट बत्ती बलेको भनेको रेकर्ड सीभीआरमा सुनिन्छ । त्यसबाहेक सेकेन्डरी इन्डिकेटर (पाइलटको टाउकोमाथि राखिएको दोस्रो संकेत) ले पांग्रा खुलेको देखाएको छ । चालक दलले जहाज विराटनगरमा अवतरण गराउनुपर्थ्यो । झुक्किनुपर्ने कारण नै देखिदैन,’ कान्तिपुरसँग कुरा गर्दै प्रबन्ध निर्देशक बस्नेतले भने ।

तस्बिरहरू : क्याप्टेन विवेक खड्का

गएको सोमबार बिहान बुद्धको पहिलो उडानमा चालकदलका ४ सदस्यसहित ७७ जना बोकेर विराटनगर पुगेको जहाज चालकदलले ल्यान्डिङ गियर (पाङग्रा) खुलेको संकेत गर्ने पहिलो इन्डिकेटरको बत्ती नबलेको कारण देखाएपछि काठमाडौं फर्किएको थियो । त्यसबेला जहाजको कमान्ड क्याप्टेन आङगेलु शेर्पाले गरिरहेका थिए भने उनलाई सघाउने कोपाइलटमा अमन अन्सारी थिए । त्यस उडानमा रहेको जहाजको प्राविधिक जाँच गर्दा कुनै समस्या नदेखिएपछि घटना भएको भोलिपल्टै प्राधिकरणको अनुमतिमा त्यसलाई उडानमा फर्काइएको थियो ।

यो घटनापछि नेपालमा वायुसेवा कम्पनीहरुले ल्याउने सेकेन्ड ह्यान्ड जहाज र तीनको आयुबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि बुद्धले ‘यात्रुको सुरक्षामा अति संवेदनशील रहेको’ उल्लेख गर्दै आफूले उडाइरहेका एटीआर कम्पनीका विमानले पनि जेट विमान निर्माता कम्पनी बोइङ र एयरबसलेझैं यात्रु सुरक्षाका लागि अपनाउने प्रक्रिया नै अपनाउने गरेको जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?