कालीकोट कांग्रेसमा सबै नेतृत्व सर्वसम्मत

नेताहरु भन्छन् '३० वर्षदेखि संसदीय चुनाव हारे पनि आन्तरिक प्रतिष्पर्धामा एकताको सन्देश दियौँ'
तुलाराम पाण्डे

कालिकोट — कालीकोट कांग्रेसले यसपटक वडादेखि जिल्लासम्म पार्टी नेतृत्व सर्वसम्मत चयन गरेको छ । जिल्लाका ८२ वडामध्ये पचालझरना ८ बाहेक सबैमा पुरुष सभापति छन् भने दलित समुदायका वडा सभापति पनि नगण्य छन् । ९ वटै स्थानीय तहका सभापति पनि गैरदलित पुरुष नै चयन भए ।

कालीकोट कांग्रेसमा सबै नेतृत्व सर्वसम्मत

एक निर्वाचन क्षेत्र मात्र भएको कालीकोटमा २ वटा प्रदेश समिति छन् । प्रदेश क बाट कालीकोटका एकमात्र कांग्रेसबाट गाउँपालिका अध्यक्ष जितेका नन्दबहादुर सिंह सर्वसम्मत भए भने ख प्रदेश समितिको सभापतिमा रास्कोटका युवा आनन्द विक्रम शाही छनोट भए ।

कालीकोट कांग्रेसको सभापतिमा पाका नेता अम्मबहादुर शाही सर्वसम्मत भए । उनी सशस्त्र द्वन्द्वमा छोरा गुमाएका पीडित पनि हुन् । यसअघि जिल्ला उपसभापति भइसकेका शाही जुविथा निवासी हुन् । उनी ०४९ को स्थानीय चुनावमा जिविस सदस्य निर्वाचित भएका थिए । जिल्ला कार्य समितिको उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही घमन, सचिवमा प्रेस यूनियनका पूर्वअध्यक्ष नगेन्द्र विष्ट र महाबैका युवा मातृका सिंह, सहसचिवमा विद्यार्थी नेता भरतबहादुर मल्ललगायत सर्वसम्मत भए ।

२६ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जना महासमिति सदस्य छनोट गरेको कांग्रेसमा युवा, महिला, दलित र पाका उमेरका सबै नेता कार्यकर्ता अटाएका छन् । युवा नेता भुपेन्द्रजंग शाही, कालीबहादुर सहकारीलगायत महासमिति सदस्य बनेका छन् भने यस पटक दलित समुदायबाट निलो तिरुवा, मनबहादुर नेपाली, दलित महिलामा छाया सुनार छन् ।

त्यस्तै, समावेशी महिलामा तारा शाह, यशोदा शाही, दिलु बम, सुशिला बम शाही, धर्मा शाही, भावना शाही, कृष्णा शाहीलगायत छनोट भएको युवा नेता दमनबहादुर शाहीले बताए । उनले सभापतिसहित महाधिवेशन प्रतिनिधिमा पौडेल पक्षका १० र देउवा पक्षका १६ जना प्रतिनिधि छनोट भएको बताए । पौडेल पक्षले आफ्ना १२ र देउवा पक्षका १६ जना महाधिवेशन प्रतिनिधि छनोट भएको दावी गरेको छ ।

कालीकोट कांग्रेसले गुटभन्दा पार्टी माथि राखेर सबै तहमा सहमति, सहकार्य र एकतालाई आत्मसात गर्दै हार्दिकतासहित वडा, पालिका, प्रदेश, जिल्ला र महाधिवेशन प्रतिनिधि छनोट गरेको जनाएको छ । ३० वर्षदेखि लगातार संसदीय निर्वाचनमा पराजित बन्दैआएको कालीकोट कांग्रेसले सहमतिका आधारमा आन्तरिक नेतृत्व चयन गर्दै उदाहरण पेश गरेको कांग्रेसका नेताहरुले बताएका छन् ।

'कांग्रेसप्रति जनमत हुँदाहुँदै पनि पार्टीभित्रको आन्तरिक समस्याले चुनाव हार्दैआएका थियौँ,' संविधानसभा ०७० र संसदीय निर्वाचन ०७४ मा पराजित उम्मेदवार युवा नेता भुपेन्द्रजंश शाहीले कान्तिपुरसँग भने 'एकताबद्ध कांग्रेसलाई कसैले हराउन सक्दैन ।' उनले कालीकोटका धेरैजसो स्थानीय तहमा त अधिवेशन तोकिएको समयभन्दा पहिले नै सर्वसम्मत नेतृत्व चयन गरेर अधिवेशनको दिन घोषणा मात्र गरिएको सुनाए ।

तरुण दलका महासचिव समेत रहेका युवा नेता शाहीले कालीकोटमा समूहभन्दा पनि पार्टीका नेताको रुपमा सबैलाई जिम्मेवारी दिइएको बताए । 'यसपटक गुट भन्ने भएन्,' उनले थपे 'सबै तहमा एकताबद्ध काग्रेस निर्माण भएको छ, तयसको परिणम आगामी चुनावमा देखिनेछ ।' उनले कालीकोटमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सबै चुनावमा जित सुनिश्चित भएको पनि दावी गरे ।

'कालीकोटबाट एकताको सन्देश दिन सफल भयौँ,' उनले भनेका छन् । वडादेखि जिल्लासम्म सबै तहमा सर्वसम्मत नेतृत्व चयन हुँदा कांग्रेस मात्रै नभएर अरु दललाई समेत एकताको सन्देश गएको शाहीको भनाइ छ ।

शाहीका अनुसार गुट, फुट र अन्तरघातले थलिएको कालीकोट कांग्रेसका लागि यसपटक 'गर कि मर'को अवस्था भएकाले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन सम्भव भएको हो । कांग्रस नेता अशोकनाथ योगी भन्छन्, 'पार्टीभित्र चुनाव गरेर बाहिर पराजित हुने निर्वाचन लड्दै आयौँ । पाटीभित्रको चुनावभन्दा संसदीय चुनावलाई ख्याल गरेर पार्टीमा सबै समितिमा सर्वसम्मत गरेका हौँ ।' सबै उम्मेदवारले पार्टी हितका लागि त्याग गरेको उनको भनाइ छ ।

कालीकोटमा ०४८ सालपछि कांग्रेसले एउटा पनि चुनाव जित्न सकेको छैन । ०५१ को मध्यावधीमा एमालेका यज्ञराज न्यौपाने, ०५६ को आम निर्वाचनमा एमालेबाटै प्रेमबहादुर सिंह, ०६४ को पहिलो संविधानसभामा माओवादीका खड्गबहादुर विश्वकर्मा, दोश्रो संविधानसभा ०७० मा माओवादीकै महेन्द्रबहादुर शाही र ०७४ को चुनावमा नेकपाको तर्फबाट माओवादी केन्द्रका दुर्गबहादुर रावत उज्वल निर्वाचित भएका थिए । यस्तै ०४९ पछिका स्थानीय निकाय र तहका अधिकांश चुनाव पनि कांग्रेसले हार्दैआएको छ ।

प्रकाशित : आश्विन १८, २०७८ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?