काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेर टुंगिएको छ । तर उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन सम्मेलनले गर्न सकेन ।
महासचिव चयनमा विवाद हुँदा दुई पक्षका प्रतिनिधिबीच सोमबार घम्साघम्सी नै भयो । बिहीबार सुरु भएको महाधिवेशनले यसअघि नै विधान पारित गरेको थियो । विधानमा २५ सदस्यीय पदाधिकारी र १ सय सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको थियो ।
तर सोमबार नेताहरूको व्यवस्थापनका नाममा ५५ सदस्यीय पदाधिकारी र ३ सयभन्दा बढी केन्द्रीय सदस्य बनाउन खोज्दा विवाद भएको निवर्तमान पदाधिकारीले बताए ।
'आज अध्यक्षसहित प्यानल घोषणा गर्ने बेला हलमा पदाधिकारीको संख्या बढाइएको, केन्द्रीय समिति सदस्य संख्या बढाइएको भन्दै विधानअनुसार मात्रै हुनुपर्ने भनेर प्रतिनिधिले आवाज उठाउनुभयो । प्रतिनिधिहरूले संख्या बढाउन पाइँदैन, विधान मिच्न पाइँदैन भन्ने कुरा उठाएका थिए,' ती निवर्तमान पदाधिकारीले भने ।
घम्साघम्सीका बीच अध्यक्षमा सिंहको नाम घोषणा गरेर सम्मेलन सकिएको घोषणा गरिएको हो । अध्यक्षमा विवाद नभए पनि महासचिवमा भने विवाद भएको हो । महासचिवमा दिपेश पुनको नाम घोषणा हुने थाहा पाएपछि आकांक्षी र प्रतिनिधिले विरोध जनाएको बताइएको छ । 'दिपेश पुनको अन्तिममा नाम आयो र विवाद भयो । त्यसलाई अस्वीकार गरिएको हो,' एक प्रतिनिधिले भने ।
महासचिवमा पवन कार्की, नरेश रेग्मी, केशव रावललगायतले आकांक्षा राखेका थिए । तर अन्तिममा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका दिपेश पुनको नाम अचानक अगाडि आएको बताइएको छ ।
क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा कार्कीले भने अध्यक्षमा सिंहको नाम सम्मेलनले पारित गरेको र अन्य पदाधिकारीको विषयमा पार्टीको सुझावमा र सल्लाहमा विघटित केन्द्रीय पदाधिकारीको टीमले टुंगो लगाउने बताए ।
