१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सहमति कार्यान्वयन माग गर्दै बझाङमा चन्दका कार्यकर्ताको धर्ना

वसन्तप्रताप सिंह

बझाङ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै बझाङको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्।

सहमति कार्यान्वयन माग गर्दै बझाङमा चन्दका कार्यकर्ताको धर्ना

अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न दबाब स्वरुप धर्ना दिएको उनीहरुले बताएका छन् । नेकपाकी केन्द्रीय सदस्य पार्वती सिंहको अगुवाइमा चन्दका कार्यकर्ताहरु सोमबार धर्नामा बसेका हुन् । धर्ना बस्नको लागि विप्लव समूहका कार्यकता र विभिन्न घटनामा ज्यान गुमाएका विप्लव समर्थकका परिवारहरु बालबच्चासहित चैनपुर पुगेका थिए ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत २०७७ फागुन २१ गते ३ बुँदे सहमति गरेर चन्द समूह शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । सहमतिको ८ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति नभएको, आफ्ना कार्यकर्ताहरु अझै पनि विभिन्न अभियोगमा थुनामा रहेकोले आन्दोलन गर्नु परेको चन्द समूहका नेताहरुले बताएका छन् ।

‘बन्दी रिहाइ, मुद्दा खारेजी र प्रतिबन्ध फुकुवा गर्ने कुरा सहमतिको मर्म हो । ८ महिना बित्न लाग्दा पनि कार्यान्वयन गर्न सरकारले चासो देखाएको छैन’ चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य जोग कठायतले भने ‘सहमति कार्यान्वयन भएन भने हामी शान्तिपूर्ण रुपले दबाब दिन थप आन्दोलन गर्ने तयारीमा छौँ’ उनले कतिपय कार्यकर्ताहरु अहिले पनि जेलमा रहेको र मुद्दा दर्ता भएर फरार सूचीमा रहेका कार्यकताहरुको मुद्दा खारेजी नभएकाले सार्वजनिक जीवनमा आउन समस्या भइरहेको बताए ।

बझाङ जिल्ला कारागारमा मात्रै चन्द समूहको तत्कालीन जनसरकार प्रमुख सागर भनिने बाजीलाल शाही लगायत ३ जना बन्दी छन् । दर्जनौँ व्यक्तिका नाममा आगजनी, विष्फोट, चन्दा असुली, दुर्व्यवहार लगायत विभिन्न अभियोगमा मुद्दा अदालतमा विचाराधीन छन् । चन्द समूहले तीन बुँदे सहमति कार्यान्वयनका लागि यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइसकेको छ ।

प्रकाशित : आश्विन १८, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?