रोल्पामा कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढे, केही विद्यालय नै बन्द

आश्विन १८, २०७८

काशीराम डाँगी

रोल्पा — रोल्पामा भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालसहित स्वास्थ्य इकाइहरुमा स्वास्थ्य जाँच गर्न आउने बिरामीहरुको संख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य जँचाउन आउनेको संख्या दैनिक रुपमा बढेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहभित्रका स्वास्थ्य संस्थामा बिरामी भई जँचाउन आउने अधिकांशमा भाइरल ज्वरो देखिएको हो । निमित्त स्वास्थ्य प्रमुख नोखराज पोखेलले बिरामी हुनेमा विद्यार्थी, वृद्ध, बालबालिकासमेत भएको पाइएको बताए ।

‘केही स्थानमा धेरैजसो विद्यार्थी बिरामी परेपछि विद्यालय समेत बन्द गर्नुपरेको छ । कोभिड–१९ सँग मिल्दो लक्षण भएकाहरु पनि पाइएको छ’ पोखरेलले भने । लिबाङमा जिल्ला अस्पताल छ भने होलेरी र सुलीचौरमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र छन् । थबाङ, माडीको घर्तीगाउँ, त्रिवेणीको नेर्पामा स्थानीय तहको सक्रियतामा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

लिबाङको रेउघास्थित रोल्पा अस्पतालमा दैनिक भाइरलका बिरामी आउने गरेको स्वास्थ्यकर्मीहरुले बताए । अस्पतालका मेडिकल अधिकृत डा आधार वलीका अनुसार हरेक दिन ४० देखि ५० जनामा भाइरल ज्वरोको समस्या पाइएको छ ।तर कोभिड जस्तो लक्षण देखिए पनि जाँच गर्दा भाइरल ज्वरो मात्रै भएको पाइएको उनले बताए । ‘हनहनी ज्वरो आउने, टाउको दुख्ने, उच्च ज्वरो आउने र खान मन नलाग्ने लक्षण भएका बिरामी आउने गरेका छन्’ डा वली भन्छन्, ‘यतिबेला सबैतिर बिरामी भएको पाइएको छ । केही गाउँमा त हरेक घरका मानिस बिरामी भएको खबर छ ।’ त्यस्ता लक्षण भएका बिरामीलाई ज्वरोको उपचार गरेर घरमै आराम गर्न सल्लाह दिने गरेको उनले बताए ।

भाइरल ज्वरोले विद्यालय बन्द

पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको दुर्गम गाउँ सेरम र फगाममा भाइरल ज्वरो फैलँदा दुई वटा विद्यालय नै बन्द गर्नुपरेको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक जगत बुढामगरले विद्यार्थीहरुमा अत्याधीक ज्वरो आएकाले सेरमको एउटा र फगामको एउटा गरी दुई वटा विद्यालय केही दिन बन्द गर्नु परेको बताए । ‘स्वास्थ्यकर्मी पठाएर जाँच्दा केही बिरामीमा भाइरल ज्वरो भएको पाइयो । केही दिन विद्यालय बन्द गर्नुपरेको थियो । अहिले विद्यालय खोलिएको छ ।’ उनले भने । गाउँपालिकाका धेरै गाउँहरुमा ज्वरोका बिरामी बढेपछि यसबारे गाउँपालिकाले समेत चासो देखाएको छ ।

गाउँभर ज्वरोका बिरामी भए पनि यसलाई स्थानीयले भने गम्भीर रुपमा नलिएको पाइएको निमित्त स्वास्थ्य प्रमुख पोखरेलले बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको संयोजकत्वमा गठित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा समेत भाइरल ज्वरो वृद्धि भएको बारेमा छलफल भएको थियो । ‘प्रमुख जिल्ला अधिकारीले समेत यस विषयमा चासो राख्नु भएको थियो, तर स्थानीय तहबाट सही र तथ्यपूर्ण जानकारी आउन सकेन ।’ उनले भने ।

यसैबीच कोभिडका बिरामी घटेपछि रोल्पा नगरले संचालन गर्दैआएको नगरस्तरीय आइसोलेसन केन्द्र हटाएको छ । कोभिडका बिरामी बढेपछि अघिल्लो वर्षदेखि लिबाङस्थित सहिद स्मृति प्रतिष्ठानको भवनमा ५० बेडको आइसोलेसन केन्द्र संचालन गरिएको थियो । नेपाली सेनाको सुरक्षासहित संचालन गरिएको आइसोलेसन केन्द्र हटाइएपछि उक्त भवन सुनसान छ । कोभिडबाट हालसम्म जिल्लामा दुई दर्जनको ज्यान गइसकेको छ । परीक्षण निकै कम गरिएको छ । फेला पारिएका केही बिरामीलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गर्दैआएको अस्पताल प्रमुख डा सबु काफ्लेले बताइन् ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully