पार्टीमा फरक मतको अवस्था नै छैन : पौडेल

आश्विन १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताएका छन् । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी समेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे ।

हालै सम्पन्न पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेर सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भूसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए । उनले भने, ‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला । ती ठाउँहरुमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ । कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ । त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रुपले बैठकको माइन्युटमा दर्ज गर्नुपर्छ । औपचारिक रुपमा दर्ज भयो भने देखिन त्यसलाई फरक मत मानिन्छ ।' 

यदि कसैले औपचारिक रुपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिने उनले बताए । 'यसपटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन । विचार त सबैले व्यक्त गर्‍यौं हामीले स्थायी कमिटीको बैठकमा, केन्द्रिय कमिटीको बैठक, विधान महाधिवेशनमा । सबै ठाउँमा हामीले आफूलाई लागेका कुराहरु बोल्यौं । तर आज औपचारिक निर्णय हुन्छ । त्यो निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरक मत प्रस्तुत गरेको अवस्था होइन । त्यसकारणले पार्टीमा फरक मतको अवस्था नै छैन । पार्टी विचारमा, संगठनमा सबै हिसाबले एकताबद्ध छ ।’

पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए । विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही साबित भएको उनको तर्क छ । उनले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, ईर्ष्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुन: फर्किने क्रम सुरु भएको पनि बताए । उनले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढी प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे ।

कान्तिपुर

Link copied successfully