३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित

बढी भाडा असुल्ने ८२ सवारी ट्राफिक प्रहरीको नियन्त्रणमा 
कान्तिपुर संवाददाता

काठमाडौँ — यातायात व्यवसायीले स्थानीय रुटमा चल्ने सवारीको भाडा बढाउनुपर्ने माग राख्दै सोमबार चक्रपथमा सांकेतिक रुपमा गाडी तेर्साएर आन्दोलन गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा लाइन गाएर गाडी थन्क्याई व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

आफूखुसी बढाएको भाडा लिन नपाएपछि यातायात व्यवसायी आन्दोलित

रिंगरोडमा तेर्साएर राखिएका गाडी अहिले व्यवसायीले लगिसकेको ट्राफिक प्रहरीले जनाएको छ । केही स्थानमा मात्र गाडी बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गरेर असार २९गतेबाट लामा तथा मध्यम दूरीमा चल्ने सवारीमा साविकको भाडामा २८ प्रतिशत वृद्धि गरेको भए पनि प्रदेशअन्तर्गतका जिल्लामा भने बढाएको छैन । ती जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने छ । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भने स्थानीय रुटमा चल्ने सवारीमा भाडा बढाउनेबारे कुनै निर्णय नभएकाले साविकको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरेका छन् ।

ता विभिन्न यातायातसम्बद्ध समितिहरुले भाडा बढेको भन्दै केही दिनदेखि यात्रुसँग जबरजस्ती बढी भाडा उठाइरहेका छन् । व्यवसायीले सरकारले असोज १५ गतेदेखि भाडा बढाएको भन्दै गाडीमा नयाँ भाडासूची टाँसेको छ । तर सरकारले अहिलेसम्म प्रदेशअन्तर्गतका जिल्लामा भाडा बढाउने कुनै निर्णय नभएको जनाएको छ । ट्राफिक प्रहरीका अनुसार व्यवसायीले केही दिनयता यात्रुसँग आफूखुसी बढाएर भाडा लिने गरेको पाइएको छ ।

सरकारले भाडा बढाएको भन्दै बसमा टाँसिएको नयाँ भाडासूची । सरकारले पछिल्लो समय प्रदेशअन्तर्गतका जिल्लाहरूमा भाडा बढाउने निर्णय गरेको छैन ।

सोमबार बिहान मात्र बढी भाडा लिने ८२ वटा सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । आफूहरुले बढाएको भाडा लिन पाउनुपर्ने जिकिर व्यवसायीको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारसँग पटक/पटक भाडा समायोजन गर्न माग गरिएको भए पनि अहिलेसम्म समायोजन नगरिदँदा समस्या भएको बताए ।

प्रकाशित : आश्विन १८, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?