काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ । सोमबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
गत फागुन २० गते तत्कालीन ओली सरकारको नेतृत्वसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।
चन्द नेतृत्वको नेकपाले सरकारसँग बन्दीको रिहाइ र मुद्दा खारेजी हुने सहमति भए पनि कार्यान्वयन नभएको बताएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यु तीन बुँदे सहमतिको सुरुमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्दाको खारेजी हो । यही विषय झन् बढी ढिला भइराखेको छ ।’
त्यस्तै नेकपाले तीनबुँदे सहमतिप्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको छ । यो विषय राष्ट्रिय राजनीतिक मुद्दा भएको भन्दै नेकपाले विषयको गाम्भीर्यतालाई हेर्दै कार्यदल बनाएर छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारसँग माग राखेको छ ।
चन्द नेतृत्वको नेकपा र सरकारसँग गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।
नेकपाको ज्ञापनपत्र
