१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेसमा फर्किएला कोइराला विरासत ?

कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका कोइराला परिवारका तीन नेतामध्ये शेखर र शशांकले नेतृत्वमा दाबी गरिरहेका छन् । दुवै जना दाबी छाडिहाल्ने मनस्थितिमा छैनन् । सुजाता उनीहरुलाई मिलाउने भूमिकामा छिन् । कार्यकर्तामा चासो छ– शेखरले छाडेनन् भने शशांक के गर्लान् ? दाजुभाइ नै भिड्लान् कि नभिड्लान् ?
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि समीकरण बन्ने र बनाउने प्रतिस्पर्धा सुरु हुन थालेको छ । प्र्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा समग्रमा एकातिर छन् भने उनीसँगको प्रतिस्पर्धामा आधा दर्जन नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसमा फर्किएला कोइराला विरासत ?

नेतृत्वका लागि संस्थापनबाहेकबाट चार उम्मेदवार खडा भए पनि मुख्य रूपमा कोइराला दाजुभाइ के गर्छन् भन्ने बढी चासो छ । शेखरले छाडेनन् भने शशांक के गर्लान् ? एकले अर्कालाई छाडेनन् भने दाजुभाइ नै भिड्लान् कि नभिड्लान् ? भन्ने कार्यकर्ताको जिज्ञासा सहजै मेटिने अवस्था छैन ।

कांग्रेसको केन्द्रीय राजनीतिमा रहेका कोइराला परिवारका तीन नेतामध्ये शशांक बीपीका कान्छा छोरा हुन् भने शेखर बीपीका भाइ केशवका छोरा । गिरिजाप्रसादपुत्री सुजाता नेतृत्वको दौडमा छैनन् तर दुई दाजुभाइलाई मिलाउने भूमिकामा छिन् । ०४८ सालपछि गिरिजाप्रसाद र सुशील कोइरालाको कार्यकालसमेत जोड्दा २० वर्ष कांग्रेसको नेतृत्व कोइराला परिवारले गरेको थियो । ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनबाट देउवाले कोइराला परिवारबाट नेतृत्व आफूमा सारेका हुन् ।

कोइराला परिवारसँग निकट सम्बन्धमा रहेका विश्लेषक पुरञ्जन आचार्यको दाबीमा दाजुभाइबाट एउटा उम्मेदवार हुने करिब निश्चित छ । नेतृत्वमा दाजुभाइको प्रतिस्पर्धा नहुने उनले ठोकुवा गरे । आफू जोखिममा पर्ने अवस्था आउँदा सभापति देउवा नै पछि हटेर शशांकलाई अघि सारे भने के होला ? ‘यो अवस्थामा पनि दुई कोइरालाबीच प्रतिस्पर्धा हुँदैन, मैले चिनेअनुसार कोइराला परिवारमा यस्तो संस्कार छैन,’ आचार्यले थपे, ‘१३ औं महाधिवेशनमा शशांकले महामन्त्री हुने इच्छा राख्दा शेखरले भाइले इच्छा गर्‍यो भनेर चटक्क छाडिदिएका थिए । अहिले शेखरलाई भाइले त्यसरी नै सहयोग गरोस् भन्ने चाहना छ ।’

उनका अनुसार शशांकमा पनि दाइलाई छाड्नै हुन्न भन्ने मनोविज्ञान छैन । ‘शेरबहादुरजीलाई हराउन दाइले भन्दा म सक्छु, दाइले सक्नुहुन्न कि भन्ने चिन्ता भएको पाउँछु,’ उनले भने, ‘आफू नहुनासाथ शशांकले शेरबहादुरजीलाई सघाउने हो कि भन्ने र दाजुभाइमै प्रतिस्पर्धा हुन्छ कि भन्ने चर्चा म सिधै खारेज गर्छु । यी दुवै काम कोइराला परिवारले गर्दैन ।’

विरासतको राजनीतिलाई निरन्तरता दिन तत्कालीन गिरिजाप्रसाद कोइरालाले चिकित्सा पेसामा रहेका यी दाजुभाइलाई सक्रिय राजनीतिमा ल्याएका हुन् । केन्द्रीय कार्यसमितिमा दुवैको प्रवेश दसौं महाधिवेशनबाट भएको हो । दशौं महाधिवेशनमा पनि शेखर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न खोजेका थिए तर शशांकलाई अघि बढाउन गिरिजाप्रसादले इच्छा राखेपछि शेखरले छाडिदिए । उमेरले ७१ लागेका र आफूभन्दा ६ वर्ष कान्छो भाइले यसपटक आफूलाई सहयोग गरोस् भन्ने चाहना शेखरमा देखिन्छ ।

कहिलेकाहीं राजनीति निर्मम पनि हुन्छ । अहिले यी दाजुभाइबीच पारिवारिक सम्बन्धभन्दा पनि राजनीतिक प्रतिस्पर्धा बढी छ । देउवालाई नेतृत्वबाट हटाउन शेखरभन्दा आफू ‘हेभिवेट’ उम्मेदवार हुने शशांकको दाबा छ । सभापति देउवाको मनमा पनि त्यही छ । शशांकको दाबीका पछि बीपी कोइरालाको विरासत मुख्य बल हो । शेखर स्वयं शशांकका लागि सबैभन्दा बढी विरासतको लाभ हुने स्विकार्छन् । ‘शशांकलाई साठी प्रतिशत लाभ हुन्छ भने सुजातालाई ५० प्रतिशत र सबैभन्दा कम अर्थात् ४० प्रतिशतजति लाभ मलाई होला,’ उनले कान्तिपुरसँग भने, ‘यसको क्षतिपूर्ति भर्न जिल्ला दौडाहा गर्ने, कार्यकर्ताको घरघरमा जाने, देशभर खटिएर लिने प्रयास मेरो छ ।’

शेखरका अनुसार विरासतको लाभ सधैं एउटै हुन्न । एकपटक अवसर पाएपछि उसले कस्तो काम गर्‍यो, त्यसको मूल्यांकन पनि कार्यकर्ताले गरेका हुन्छन् । शशांक तीन पटक सांसद भए । तीन कार्यकालमा उनले मुस्किलले पाँच/छ पटकभन्दा बोलेका छैनन् । १३ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भए । संगठनको मुख्य जिम्मेवारी सम्हालेर प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप उनीमाथि छ । बरु, संस्थापनइतर समूहका नेताहरू देउवालाई अप्ठ्यारोमा सघाउने नेताका रूपमा शशांकको चित्रण गर्छन् ।

उम्मेदवारीको विषयलाई लिएर कुरा गर्न खोज्दा उनी केही समयसम्म नबोल्ने बताए । ‘वडा अधिवेशन सुरु भएपछि नवलपरासीमा पुगेर उम्मेदवारी घोषणा गर्दा रामचन्द्र दाइले चित्त दुखाउनुभयो, उम्मेदवार त हुँदै हो, कसैलाई छाड्ने कुरा छैन तर यही कुरा मिडियामा बोल्दा आफ्नै टिमभित्र नेताहरूको गुनासो हुने गर्छ, त्यसैले नबोल्ने भन्नुभएको हो,’ शशांकनिकट एक नेता भन्छन्, ‘सबैमाझ सहमति भयो भने त्यसलाई नाइँ भन्ने मान्छे होइन तर अहिले रामचन्द्र दाइलाई ‘हर्ट’ हुने गरी नबोल्ने भन्नुभएको छ । महाधिवेशन प्र्रतिनिधिहरूको चयन सकिएपछि मात्रै बोल्नुहुन्छ ।’ ०७४ को आमनिर्वाचनपछि नै पार्टी सभापतिको तयारीमा जुटेका हुन् शेखर । अहिले पनि अरूभन्दा बढी खटिनेमा उनी पर्छन् । सुरुका दिनमा जुनियर भनेर गन्दै नगनेका नेताहरूले पछिल्लोपटक मात्रै उम्मेदवारको रूपमा हेर्न थालेको शेखर बताउँछन् । उनका पछि युवा नेताको ठूलो पक्ति छ । चन्द्र भण्डारी, गगन थापा, गुरु घिमिरे, धनराज गुरुङ, जीवन परिवारलगायत नेता शेखरसँग जोडिन खोजेका छन् । शेखरले पनि आफ्नो पुस्ता र त्यसपछिको युवाको टिम लिएर अघि बढ्ने बताएका छन् । उनका लागि वैचारिक रूपमा सहयोग गरिदिने ‘थिंक ट्यांक’ पनि खडा छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू स्वर्णिम वाग्ले (नेपालका आएका बखत), गोविन्द पोखरेल, पूर्वसचिव विश्वप्रकाश पण्डित, निर्वाचन क्षेत्र निर्धारण आयोगको सदस्यमा रहेर काम गरेका गणेश कार्की, इन्जिनियर कुलप्रसाद आचार्यलगायतको टिमले शेखरलाई सघाइरहेको छ । विशालबजारको सम्पर्क कार्यालयमै बसेर उनीहरूले काम गर्दै आएका छन् । देउवासँग भिड्न संस्थापनइतर पक्षमा एउटै उम्मेदवार हुने सम्भावना कम छ । वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच एक र कोइराला दाजुभाइबीच एक गरी कम्तीमा दुई उम्मेदवार हुने प्रबल सम्भावना छ । संस्थापन पक्षबाटै निधिले उम्मेदवारी दिने भएपछि पहिलो चरणमा सभापतिको नतिजा आउने सम्भावना धेरै कम हुन्छ ।

सभापति निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउनेबीच प्रतिस्पर्धा हुन्छ । शशांक र शेखर दुवैले देउवापछि दोस्रो मत आफूहरूले ल्याउन सक्ने दाबी गर्छन् तर कोइरालाका लागि वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिंहको आकांक्षालाई व्यवस्थापन गरेर उम्मेदवारमा अघि सर्नेदेखि नै चुनौती खडा छ । यी सबै चुनौती पारेर गरेर टिम व्यवस्थापन गर्न सकेमा भने कांग्रेसको नेतृत्वमा कोइराला परिवारको कमब्याक हुने सम्भावना देखिन्छ । देउवासँगै प्रतिस्पर्धा गर्न उपसभापति विमलेन्द्र निधिले घोषणा गरिसकेका छन् । उनी सभापतिको उम्मेदवारबाट पछि हट्ने पक्षमा नभएको निधिनिकट नेताहरू बताउँछन् । देउवासँगै भिड्न भनेर संगठन विभाग प्रमुखसमेत रहेका गोपालमान श्रेष्ठले पनि उम्मेदवारी घोषणा गरेका छन् । सभापति देउवा र उनीनिकट नेताहरूले श्रेष्ठको घोषणालाई गम्भीरतासाथ लिएका छैनन् तर उनले विश्वास दिलाउन निरन्तर आफू उम्मेदवार बन्ने बताइरहेका छन् ।

संस्थापनइतर पक्षमा चार नेताको दौड अहिले उम्मेदवारी बन्नेमै केन्द्रित छ । देउवाभन्दा एक वर्ष जेठा ७७ वर्षीय वरिष्ठ नेता रामचन्द्र पौडेल आफैं उम्मेदवार बन्न लागिपरेका छन् । उनलाई आफ्नै समूहमा सर्वसम्मत हुन सकस छ । एकातिर ‘हजुर बा’ पुस्तालाई सम्मानजनक बिदाइ गर्नुपर्छ भन्ने मुद्दा आफ्नै समूहका युवा नेताबाट आइरहेको छ, अर्कोतर्फ साढे पाँच वर्षअघि गैरकोइरालाको हातबाट फुत्केको पार्टी नेतृत्व फर्काउन महामन्त्री शशांक र शेखर कोइरालाको आपसी टक्करले पनि पौडेलको सम्भावनालाई प्रतिकूल बनाउँदै लगेको छ । संस्थापन पक्षमा पुस्तान्तरणको मुद्दा निधिबाहेक देउवासँग जोडिएका अरु नेताले उठाएका छैनन् । तर, इतरपक्षका दोस्रो र तेस्रो पुस्ताका अधिकांश नेताहरू चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिमाझ यो मुद्दा लैजाने योजनामा छन् ।

मुलुकका तमाम राष्ट्रिय मुद्दालाई बन्धक बनाएर सभापतिको दोस्रो कार्यकाल सुरक्षित पार्न खोजिरहेका देउवालाई शेखरको तुलनामा महामन्त्री शशांकसँग बढी डर छ । कांग्रेसको संगठनमा कि कोइरालाको, कि त आफ्नै पकड रहेको बुझाइ देउवामा छ । १३ औं महाधिवेशनको मुखमा देउवाले अनौपचारिक संवादमा भन्ने गर्थे, ‘कोइरालाविनाको कांग्रेस को कांग्रेस ?’ त्यतिबेला आफ्नै टिमबाट महामन्त्री उठेका अर्जुननरसिंह केसी पराजित हुनु र शशांकले जित्नुका पछि देउवाको यही भावनाले काम गरेको विश्लेषण हुँदै आएको छ । पछिल्लो समय शशांकले सार्वजनिक रूपमै देउवाबाट आफूलाई सहयोग मिलेको बताउँदै आएका छन् ।

'दाजुभाइनै लड्न कोइरालाको डीएनएनै परिवर्तन हुनुपर्छ '

पुरञ्जन आचार्य

दुई पुस्तादेखिकै चिनजान र सम्बन्धका आधारमा कोइराला परिवारबाट एकजना मात्रै उम्मेद्वार हुन्छन् भन्नेमा म विश्वस्त छु । पछिल्लोपटक पनि शशांकसँग धेरै कुरा गरेको छु । शेखरसँग त नजिकै रहेर काम पनि गरिरहेको छु । शशांकसँग केही सर्तहरु छन् । शेखर दाइले जित्नु हुन्न कि भन्ने गहिरो चिन्तामा शशांक छन् । शंशाकसँग बीपीको विरासत छ । तर विरासतले मात्रै जित्न सकिन्न । १३ औं महाधिवेशनमै सभापति उठेको भए, शंशाकले शेरबहादुरजीलाई हराउने थिए । अहिले उनको महामन्त्रीको भूमिकामाथि चर्चा हुन थालेको छ । शेरबहादुरजीलाई सघाउने काम मात्रै गरेको चर्चा सुनिन्छ । महामन्त्रीले पनि अरुले जस्तै सभापतिको विरुद्धमा उत्रिएको भए पार्टी नै फुट्न सक्थ्यो भन्ने उनको तर्क छ । एक हिसाबले उनको तर्क पनि ठिक होला । धेरै गरे, अब गर्दिन भन्ने उनको भनाइ छ ।

१३ औं महाधिवेशनमा शशांकले महामन्त्रीमा म उठ्छु भन्दा शेखरले जसरी चटक्कै छाडिदिएका थिए । त्यसैगरी यसपटक शशांकले छाडिदिउन भन्ने आश शेखरमा देखिन्छ । अहिले देशभर कोइरालाको पक्षमा कांग्रेस प्रतिनिधिहरुको रुचि बढी छ । कोइरालामध्येमा शशांकको मुख्य बल बनेको विरासत हो । कोइराला परिवारमा शेखरमा अर्ध विरासत छ । अब विरासतका आधारमा मात्रै जित्न सकिन्न । प्रयास र मेहनत लाई पनि हेर्ने गरिन्छ । शशांक तीनपटक सांसद र एक पटक महामन्त्री भए । विरासतको अवसरलाई उपयोग गर्न सकेन भने त्यसैको आधारमा फेरि जित्न कठिनाई पर्छ । भारतमा पनि महात्मा गान्धीको विरासत काम लागेन । बरु जवाहरलालको विरासतले काम गऱ्यो । विरासतलाई सजिलो हुन्छ । तर विरासतबाट अवसरलाई सदुपयोग गर्न नसक्दा धेरै गाह्रो हुन्छ । हाम्रै अनुसन्धानमा पनि दुई दाजुभाईमा शशांक भन्दा शेखरलाई प्रतिनिधिहरुले बढी रुचाएका छन् । उनको खटाई, क्रियाशीलताप्रति धेरै जोडिएका छन् ।

दुई दाजुभाइलाई मिलाउन हामी जस्ता व्यक्ति र परिवार लागिरहेका छौं । शशांकले नपाउनसाथ शेरबहादुरलाई सघाउलान भन्ने विश्वास म गर्दिनँ । यो असम्भव कुरा हो । कोइरालाहरु त्यहाँ जाने स्थिति छैन । शेरबहादुरजी आफूले छाडेर शशांकलाई अघि सारे पनि दुई कोइराला भिड्ने अवस्था आउँदैन । त्यस्तो स्थिति आउनका लागि कोइरालाको डीएनएनै परिवर्तन भएको हुनुपर्छ ।

देउवाले आन्तरिक लोकतन्त्रको हत्या गरे’

डडेलधुरामा आइतबार कांग्रेस जिल्ला कार्यसमितिले गरेको सभामा सम्बोधन गर्दै केन्द्रीय सदस्य कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीभित्र आन्तरिक लोकतन्त्रको हत्या गरेको आरोप लगाएका छन् । उनले त्यसविरुद्ध पार्टीभित्र लडाइँ जारी राख्ने उद्घोष गरे ।

‘विधि र पद्धतिभन्दा पनि व्यक्तिवादी सोचबाट पार्टी सञ्चालन गरेका कारण कांग्रेसमा धेरै समस्या उत्पन्न भएका हुन्,’ उनले भने । आफैं सभापति भएर देउवाले आफ्नै जिल्लामा गरेका क्रियाकलाप असह्य भएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन १८, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?