गोठालालाई बाघले घेरेपछि...

मधु शाही

बाँके — सात महिनाकी गर्भवती कालिका खड्कालाई आफ्नै ज्यान धान्न धौधौ थियो । जंगलमा बाख्रा चराउँदै गरेकी उनका अगाडि शनिबार एक्कासि दुई–दुईवटा पाटे बाघ आएर तेर्सिए । कहिल्यै रूख नचढेकी उनी सकीनसकी रूख चढेर ज्यान जोगाइन् । उनीसँगै गोठाला गएका ६० वर्षीय सेतु ओलीले पहिला कालिकालाई रूख चढ्न सघाए । अनि, आफ्नो ज्यान जोगाउन अर्को रूखमा चढेको बताए ।

गोठालालाई बाघले घेरेपछि...

बाख्रा र भैंसीको बथान बिथोलिरहेको बाघलाई उनीहरू रूखमै बसेर हेरिरहे । अलि पर भैंसी चराउँदै गरेकी २८ वर्षीया हीरा खड्का पनि बाघदेखि जोगिन उस्तै संघर्ष गरिरहेकी थिइन् । उनको एउटा खुट्टामा समस्या भएकाले दह्रोसँग टेक्न भर छैन । निर्धक्क दौडधुप गर्न सक्दिनन् । बाँच्नका लागि संघर्ष भनेजस्तै उनी अपाहिज खुट्टाकै भरमा रूख चढेर बाघको आक्रमणबाट बच्न सफल भएको सुनाइन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित गाभरका बासिन्दाले पछिल्लो समय यसरी नै बाघ देख्दै आएका छन् । एक महिनाअघि बाघको आक्रमणबाट गाउँवासीको मृत्यु भएको घटना ताजै छ । जंगल नगई गुजारा चल्दैन । यहाँका अधिकांश बासिन्दा गोठाला गरेर जीवन चलाउँछन् । यद्यपि, जंगल र जीवन उस्तै छ उनीहरूका लागि । ‘पानी परिरहेको थियो,’ कालिकाले शनिबार गोठाला गएका बेलाको घटना सम्झिँदै भनिन्, ‘भुइँमा बाघले बाख्रा र भैंसी लखेटिरह्यो, हामी थरथरी काप्दै रूखबाट हेरिरह्यौं । चिच्यायौं, करायौं ।’ घस्रिँदै रूख चढ्दाको दुखाइ कालिकाले भोलिपल्ट मात्रै महसुस गरेको सुनाइन् । गर्भको बच्चा स्वस्थ छ कि छैन उनलाई थाहा छैन । ‘आज कसोकसो पेट चस्किरहेछ । यद्यपि, बाघको आहारा हुनबाट आफू र गर्भको बच्चालाई बचाउन सकेकामा आफूलाई भाग्यमानी सम्झिन्छु,’ उनले भनिन् ।

हीराले भने एक घण्टा रूखमै बाघको चुरीफुरी देख्दा अब बाँच्ने अन्तिम क्षण आएको अनुभूति गरेको बताइन् । ‘भैंसी चराउँदै थिए, पछाडिबाट आयो,’ उनले भनिन्, ‘कहिल्यै रूख नचढेकी म खै कसरी चढें, थाहै छैन ।’ उनका अनुसार शनिबार दिउँसो १२ बजेतिर बाघ आएको थियो । तीन जना गोठाला रूखमै आत्तिएको देखेर जंगलमा हात्ती चराउन पुगेका माउतेले उनीहरूको उद्धार गरी घरसम्म पुर्‍याएको हीराले सुनाइन् ।

जंगलको छेउमै रहेको बस्ती हो, गाभर । यहाँका धेरैजसो महिला खेती किसानी गरेर जीविकोपार्जन गर्छन् । गोठाला जानेमा पनि महिला नै बढी छन् । निकुञ्जले जंगल नजाउ भन्छ । तर, उनीहरू जंगल नगई घर खर्च नचल्ने दुखेसो पोख्छन् । २३ वर्षदेखि गाभरमा बस्दै आएका सेतुले गोठाला गर्न जंगल नगई नहुने बताए । ‘एकातिर निकुञ्जले जंगल गएको भन्दै गाली गर्छ, अर्कोतिर बाघले तर्साउँछ,’ उनले भने, ‘हामी कहाँ जाने ? घरमै बाख्रा र मान्छे खान आउँछ बाघ !’

गाभरकी लक्ष्मी आचार्यका अनुसार पहिला पहिला बाख्रा मारे पनि बाघ गाउँमा देखा पर्दैनथ्यो । ६ महिनायता बाघ गाउँ छेउछाउ आउन थालेको हो । कहिले राजमार्ग त कहिले गाउँमै बाघ घुमिरहेको देखिन्छ । बाघको त्रासले स्थानीय राति बाहिर निस्कन सक्दैनन् । उनले भनिन् ‘हाम्रो बस्ती सारिदिए हुन्थ्यो, नभए बाघको डर भयो ।’ राप्तीसोनारी–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले गाभरका झन्डै डेढ सय घर सुरक्षित गर्न चुनौती रहेको बताए । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । जंगलमा घाँस–दाउरा र गोठाला गएका बेला बाघले आक्रमण गरेर उनीहरूको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए । गएको भदौ महिनामा राजमार्गभन्दा सय मिटरभित्र गाभर क्षेत्रमा बाघले एक जना पुरुषमाथि आक्रमण गरेको थियो । त्यसभन्दा पहिले पटक–पटक सडकमा बाघ देखा पर्ने, बस्ती छेउछाउ आएर गाईबस्तु आक्रमण गर्दै स्थानीयलाई सताएको थियो ।

प्रकाशित : आश्विन १८, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?