काठमाडौं, विराटनगर, भरतपुर र पोखरा महानगरपालिकामा पौडेल समूहका सभापति चुनिए, ललितपुरमात्रै देउवानिकट नेता सभापति चुनिएका छन् ।
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ६४ जिल्लाका महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा कांग्रेसले पहिलो नेतृत्व पाएको छ । मुलुक संघीयतामा गएसँगै कांग्रेसले पहिलो पटक ७५३ वटै स्थानीय तहमा आफ्नो संगठन संरचना खडा गर्दैछ । देशभरि कुन स्थानीय तहमा को चुनिए ? भन्ने विस्तृत विवरण केन्द्रीय निर्वाचन समितिले तयार पारिसकेको छैन ।
त्यसो त सबै स्थानीय तहको अधिवेशन पनि भइसकेको छैन । तर आइतबार काठमाडौं महानगरपालिकाको अधिवेशन सम्पन्न भएसँगै मुलुकका मुख्य सहरहरुमा कांग्रेसले नयाँ नेतृत्व पाइसकेको छ ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह स्थानीय तहमा आफू समर्थन नेता कार्यकर्तालाई जिताउन प्रयासरत छन् । तर मुलुकका मुख्य सहरहरुमा भने पौडेल समूहले वर्चस्व जमाएको छ । अहिलेसम्म अधिवेशन भइसकेका ५ महानगरपालिकामध्ये ४ वटामा पौडेल समूहका नेताहरुले सभापति जितेका छन् । पर्साको बीरगञ्ज महानगरपालिकामा मात्रै अधिवेशन हुन सकेको छैन । अधिवेशन सम्पन्न भएकामध्ये ललितपुर महानगरपालिकामा देउवा समूहले जितेको छ भने पोखरा, भरतपुर र विराटनगरमा पौडेल समूहले जितेको छ ।
१४ औं महाधिवेशनअन्तर्गत ललितपुर महानगर सभापतिमा सुभाननरत्न धाख्वा, पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे, भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी, विराटनगर महानगर सभापतिमा दीपक चापागाईं र काठमाडौं महानगर सभापतिमा नीलकाजी शाक्य निर्वाचित भएका छन् ।
कुन महानगरपालिकामा कसले जित्यो ?
विराटनगरमा कोइरालानिकट चापागाईं
मोरङको विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । उनी कोइराला परिवारसँग निकट हुन् । उनले २१२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत पाएका थिए । सभापति पदमै प्रतिस्पर्धी कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत प्राप्त गरे । कार्की र न्यौपाने पनि कोइराला समूहकै नेता हुन् । उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई तथा सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल चयन भएका छन् ।
भरतपुरमा पौडेल समूहका अधिकारी
चितवनको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । तत्कालीन सभापति भरत अधिकारीलाई पराजित गर्दै चित्रसेन निर्वाचित भएका हुन् । उनले ६४९ मत प्राप्त गरे । उनी वडा नं. २१ का वडाध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भरतले ५४६ मत पाएका थिए । सभापति पदमै हिरामणी अधिकारीले १२९, वचन कार्कीले ७५ र अर्जुन रिजालले २६ मत प्राप्त गरे । उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घले, सचिवमा प्रनिशा गुरुङ र कृष्ण बगाले तथा सहसचिवमा उपेन्द्र पण्डित र कल्पना पौडेल खड्का निर्वाचित भएका छन् ।
ललितपुरमा देउवानिकट धाख्वा निर्वाचित
ललितपुर महानगरपालिका सभापतिमा देउवा समूहका सुभानन रत्न धाख्वा निर्वाचित भएका छन् । उनी गणेशभक्त श्रेष्ठलाई पराजित गर्दै सभापतिमा चुनिएका हुन् । श्रेष्ठ पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट नेता हुन् । धाख्याले २८२ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले २२१ मत प्राप्त गरे । यस्तै, उपसभापतिमा निशा महर्जन र रामकुमारी लिम्बु, सचिवमा राजु ताम्राकार र सुनिलकुमार थापा तथा सहसचिवमा कुमार श्रेष्ठ र प्रकाश महर्जन निर्वाचित भएका छन् ।
काठमाडौंमा सिंहनिकट शाक्य
मुलुकको संघीय राजधानी, सबैभन्दा धेरै ३४ हजार क्रियाशील सदस्य भएको काठमाडौं महानगरपालिका सभापतिमा नीलकाजी शाक्य निर्वाचित भए । उनी नेता प्रकाशमान सिंह निकट नेता हुन् । उनले ७८६ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत पाए । उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।
पोखरामा पौडेल समूहका बिजुक्छे
पोखरा महानगरपालिका सभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भए । उनले पाँच प्रतिस्पर्धीलाई पराजित गर्दै सभापति जितेका हुन् । उनले ४१४ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी गंगाधर पराजुलीले ३४६ मत प्राप्त गरेका थिए । त्यस्तै, रामराज लामिछानेले २०९, मोहनप्रसाद बास्तोलाले १२७, मिलनप्रसाद तिवारीले १५३ र ज्योति हमालले ११ मत पाएकी थिइन् । महानगर उपसभापतिमा प्रयागराज भण्डारी र भवसागर बराल विजयी भएका छन् । सचिवमा टुवराज बाँस्तोला र गणेशबहादुर थापा चयन भएका छन् ।
