कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति विरोधी भएको बताएका छन् । विधान महाधिवेशनको समापन सम्बोधनमा आइतबार ओलीले विरोधी को हुन् भन्नेबारे शास्त्र पढ्न आवश्यक नभएको र एमालेसँग लडराखेका जति विरोधी भएकोबारे स्पष्ट हुन कार्यकर्ताहरूलाई भनेका हुन् ।

हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली

'हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्‍याए, कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सकरार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए, एमालेको सरकार ढालेर क्रान्ति गर्‍यौं भने,' ती एमालेका विरोधी भएको ओलीको भनाइ थियो ।

ओलीले पार्टीको विरोधी को हो र को होइन भनेर अल्मलिन जरुरी नभएको पनि बताए । उनले कसैले गालामा हान्यो भने सिद्धान्त हेर्न नहुने बताए । त्यसरी गालामा हान्ने व्यक्ति विरोधी भएको उनको भनाइ थियो । 'यति साह्रो शास्त्रवादी हुनु आवश्यक छैन । जो तपाईंसँग लडिराखेको छ त्यो विरोधी हो,' उनले भने ।

एमालेमा बिग्रिएका मान्छेहरू बाहिरिएको ओलीको भनाइ थियो । उनले सप्रिएका जति सबै एमालेमै रहेको पनि बताए ।

कतिपय स्थानीय तहमा रहेका नेता र कार्यकर्तालाई भ्रम र अलमलमा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने भन्दै तिनलाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले निर्देशन दिए ।

एमाले काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरी खेलेको ओलीको भनाइ थियो ।

प्रकाशित : आश्विन १७, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?