कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्ण खोप लगाउने २१ प्रतिशत

अतुल मिश्र

काठमाडौँ — नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको शनिबार २ सय ५० दिन पुग्दा पूर्ण खोप लगाउने जनसंख्या करिब २१ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपालको कुल जनसंख्याको २०.९५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् । भारतमा भने पूर्ण खोप लगाउने कुल जनसंख्याको १६.८९ प्रतिशत मात्र छन् ।

पूर्ण खोप लगाउने २१ प्रतिशत

गत साउन अन्तिम साता नेपालमा पूर्ण खोप लगाउनेको संख्या भारतकै हाराहारीमा पुगेको थियो । भदौ पहिलो सातादेखि नेपालले खोप लगाउनेको संख्या बढेको छ । पूर्ण खोप लगाउनेमा भारतभन्दा नेपाल अगाडि रहे पनि पहिलो डोज खोप लगाउने कुल जनसंख्याको २५.२७ प्रतिशत मात्र छन् ।जबकि भारतमा यो प्रतिशत ४५.७६ छ । नेपालमा खोप लगाउन मिल्ने ७२ प्रतिशत जनसंख्याको लक्षित समूहमध्ये ३५.४ प्रतिशत अर्थात् ७६ लाख ९४ हजार ६ सय ९ जनाले पहिलो र २९.२ प्रतिशत अर्थात् ६३ लाख ४८ हजार २ सय ७९ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार शनिबारसम्म १ करोड ४० लाख ४२ हजार ८ सय ८८ डोज खोप १८ वर्षमाथिका जनसंख्याका लागि सुरक्षित व्यवस्थापन गरिएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ७३ जनाले खोप लगाएका छन् । ‘खोप लगाउने पूर्वनिर्धारित लक्ष्य समयमै झन्डै पूरा भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, ‘खोपले संक्रमणको जोखिम कम गर्नुका साथै गम्भीर रोग र जटिलताबाट सुरक्षित बनाउँछ ।’

भारतले अनुदानअन्तर्गत गत माघ ८ गते दिएको १० लाख मात्रा कोभिसिल्ड खोपबाट नेपालमा देशभर खोप अभियान सुरु भएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका तत्कालीन निर्देशक डा. सागरकुमार राजभण्डारीले पहिलो खोप लगाएका थिए । फागुन २३ गते कोभाक्स सुविधाअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप आएको थियो । कोभाक्सबाट खोप आउने क्रम जारी नै छ । अहिलेसम्म विभिन्न अनुदान एवं खरिद गरेर १ करोड ७८ लाख ५८ हजारभन्दा बढी डोज खोप आइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका यसमध्ये कोभिसिल्ड २४ लाख ४८ हजार, अस्ट्राजेनेका १९ लाख ७५ हजार ८ सय ३०, जान्सेन १५ लाख ३४ हजार ८ सय ५० र भेरोसेल १ करोड १९ लाख डोज भित्रिएको हो ।

प्रकाशित : आश्विन १७, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?