कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : नीति निर्धारण भयो, नेतृत्व चयन बाँकी

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आगामी अधिवेशनसम्मका लागि लिने नीति निर्धारण गरेको छ । अध्यक्ष रञ्जित तामाङले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन शनिबार पास गरेसँगै अखिल क्रान्तिकारीको नीति निर्धाण भएको हो ।

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : नीति निर्धारण भयो, नेतृत्व चयन बाँकी

बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको २२ राष्ट्रिय सम्मेलनले तीन दिनसम्म पनि नेतृत्व चयन गर्न नसक्दा आइतबारसम्मका लागि लम्बिएको छ । असोज १४ देखि १६ गतेसम्मका लागि तय गरिएको राष्ट्रिय सम्मेलनमा एक दिन थपिएको छ ।

क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले तीन दिनमा 'नीति चयन भएसँगै अब नेतृत्व निर्माणको चरणमा सम्मेलन प्रवेश गरेको' बताए ।

सम्मेलनमा अध्यक्ष तामाङले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर छलफल गराइएको थियो । 'छलफलका लागि ११ समूह बनेका थिए । प्रतिवेदनमा सुझाव दिनका ती समूहमा आज दिनभर छलफल भयो र टोली नेताले धारणा राखेपछि प्रतिवेदन पारित भयो,' बस्नेतले भने ।

अखिल क्रान्तिकारीले अब २५ सदस्यीय पदाधिकारी र १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने नीति लिएको छ । यसअघि क्रान्तिकारीको केन्द्रीय कमिटीमा २ सय ४३ जना थिए । अब अध्यक्ष १, उपाध्यक्ष ३ खुला र ४ समावेशी, महासचिव १ हुनेछन् भने २ उपमहासचिव हुनेछन् । उपत्यका विशेष प्रदेशसहित ७ प्रदेशबाट १-१ गरी ८ जना सचिव हुनेछन् । थप ५ समावेशी सचिव बनाउने अधिवेशनले पारित गरेको छ । १ कोषाध्यक्ष हुनेछ ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि ६ जनाको दाबी रहेको छ । सर्वसम्मत अध्यक्ष बनाउने प्रयासका लागि एक दिन अधिवेशनको समय थपिएको क्रान्तिकारीले जनाएको छ । अध्यक्षका लागि सुरेन्द्र बस्नेत, उत्तम अधिकारी, पञ्चा सिंह, विजय गौतम, तीलकराज भण्डारी र दीपक देवकोटा आकांक्षी छन् ।

शनिबार नै बसेको माओवादीको स्थायी कमिटी बैठकले अध्यक्षका दाबेदारका नामबारे छलफल गरेको थियो । स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय गरेको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको र सबैले क्षमता राख्ने भन्दै कसलाई बनाउने भन्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको बताए ।

प्रकाशित : आश्विन १६, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?