सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।

सबै कम्युनिस्ट मिलेर आए पनि जित्ने तागत कांग्रेसले बनाउनु छ : थापा 

‘ढिलो चाँडो हुनसक्छ । तर अब पार्टीको महाधिवेशन हुन्छ । यो महाधिवेशनबाट बाहिर निस्किनेबित्तिकै हाम्रो अगाडि लगातार तीन तहको चुनाव आउँछ,’ शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘कांग्रेस अर्काले पस्केको खाने जात होइन । हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । र यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

उनले महाधिवेशनबाट कांग्रेसले सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भने पनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्ने बताए ।

‘सबै कम्युनिस्ट एक भएर आए पनि, सबै मधेसी दलहरु एक भएर आए भनेपनि जित्ने तागत राख्ने नेतृत्व र संगठन निर्माण गर्नुपर्नेछ अबको ५/६ महिनाभित्रमा । त्यसैले तपाईहरुले विवेकपूर्ण निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हामीले वडामा गरौँ या महानगरमा गरौँ । ती प्रत्येक निर्णयले अर्थ बोकेको हुन्छ । हामी पार्टीभित्र परिवर्तन चाहन्छौँ कि चाहदैनौँ ? आज कांग्रेस जसरी चलेको छ, यो ठीक छ ? हामी यो यथास्थितिमा टिकाउन चाहन्छौँ ? या परिवर्तन चाहन्छौँ ? यो हलबाट निर्णय भएर आउनुपर्छ ।’

नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको बताए । ‘म एउटा कांग्रेसको कार्यकर्ता भएको हिसाबले ठान्दछु, आज जसरी कांग्रेस चलेको छ, यसै गरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन सक्दैन । कांग्रेसभित्र ठूलो सुधारको खाँचो छ । कांग्रेसलाई शुद्धीकरणको खाँचो छ, सुदृढीकरणको खाँचो छ,’ थापाले भने, ‘त्यो शुद्धीकरण र सुदृढीकरण यो महाधिवेशनबाट गर्नुपर्ने छ ।’

प्रकाशित : आश्विन १६, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?