एमसीसी सम्झौता कार्यान्वयनबारे बोर्डमा सुमारको ‘ब्रिफिङ’- समाचार - कान्तिपुर समाचार

एमसीसी सम्झौता कार्यान्वयनबारे बोर्डमा सुमारको ‘ब्रिफिङ’

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालमा एमसीसी सम्झौता कार्यान्वयनको अवस्थाबारे बोर्डलाई जानकारी दिएकी छन् ।

एमसीसी बोर्डका अध्यक्ष तथा विदेशमन्त्री एन्टोनी ब्लिन्केनको नेतृत्वमा बुधबार वासिङ्टन डीसीमा भएको बोर्ड बैठकमा सुमारले नेपालको स्थितिबारे ब्रिफिङ गरेकी हुन् ।

सम्झौताकै विषयमा उपाध्यक्ष सुमारले गत भदौ २४ देखि २७ गतेसम्म नेपाल भ्रमण गरेकी थिइन् । भ्रमणका दौरानमा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेकी थिइन् । उनले केही सांसदहरूसहित निजी क्षेत्रका विभिन्न व्यक्तिसँग पनि भेटवार्ता गरेकी थिइन् । चार वर्षअघि भएको एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुन नसक्दा कार्यान्वयन सुरु भएको छैन । नेपालमा एमसीसी सम्झौतालाई लिएर सत्ता गठबन्धन र अन्य दलबीचमा फरक–फरक मत रहेको छ ।

नेपालको गरिबी निवारणमा एमसीसीबाट प्राप्त हुने ५ सय मिलियन डलर अनुदानले ठूलो सहयोग गर्ने सुमारले नेपाल भ्रमणको दौरानमा बताएकी थिइन् । एमसीसी सम्झौता नेपालको ऊर्जा र सडक पूर्वाधार विकासका लागि गरिएको हो । नेपाल भ्रमणका क्रममा उनले भनेकी थिइन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समयसीमा नरहेको पनि उल्लेख गरेकी थिइन् ।


प्रकाशित : आश्विन १५, २०७८ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा : प्रधानमन्त्री

रासस

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको शुक्रबार शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । 


कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चारमाध्यमले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरुको भाषा, संस्कृतिको जर्गेना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह गरे । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे । अध्यक्ष दाहालले तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गरे । आजैदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको छ ।

प्रकाशित : आश्विन १५, २०७८ २१:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×