१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ सुरु

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ (गभर्नेन्स एन्ड एन्टिकरप्सन स्टडिज) विषयको पठनपाठन सुरु गरेको छ । यो विषय विश्वविद्यालय तहमा अध्यापन गरिएको विश्वमै पहिलो भएको त्रिविले दाबी गरेको छ । यसअघि घानाको एक इन्स्टिच्युटले मात्र यो विषय अध्यापन गराउँदै आएको जनाइएको छ ।

त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ सुरु

त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय डिन कार्यालयले भ्रष्टाचार निवारण प्रतिष्ठान (एन्टिकरप्सन एकेडेमी) सँगको सहकार्यमा उक्त विषयको पाठ्यक्रम तयार गरेको हो । तीन वर्षको निरन्तर गृहकार्यपछि यसै महिनाबाट पठनपाठनको व्यवस्था गरिएको त्रिविले जनाएको छ । डिन कार्यालयअन्तर्गत यसअघिदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीअन्तर्गत ‘द्वन्द्व, शान्ति र व्यवस्थापन’, ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति’, ‘लैगिक अध्ययन’, ‘सामाजिक कार्य’, ‘खेल विज्ञान’, ‘मनोपरामर्श’, ‘टुरिजम एन्ड हस्पिटालिटी’, ‘लेब स्टडी’, ‘क्राइसिस म्यानेजमेन्ट’, ‘स्ट्राट्रेजिक स्टडी’ र ‘सेक्युरिटी एन्ड पिस’ विषयको पठनपाठन भइरहेको छ ।

मानविकी संकायका डिन कुसुम शाक्यले सुशासन र भ्रष्टाचार निवारण विषय विश्वविद्यालयका निम्ति नौलो र देशका निम्ति आवश्यक रहेको बताइन् । ‘कुनै पनि विषय जन्माउनु ठूलो कुरो होइन । यसलाई दीर्घकालीन टिकाउनु महत्त्वपूर्ण पक्ष हो । डिन कार्यालयले यसतर्फ व्यवस्थापन गर्नेछ,’ शुक्रबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा उक्त कार्यक्रम सार्वजनिक गर्दै डिन शाक्यले भनिन् । कार्यक्रम संयोजक प्राध्यापक योगेश रञ्जितले प्रवेश परीक्षामा सहभागी ६३ जनामध्ये ४० जनालाई भर्ना गरिएको जानकारी दिए । ‘६३ क्रेडिट आवरको दुईवर्षे अर्थात् चार सेमेस्टरको पाठ्यक्रम बनेको छ । विद्यार्थीले तेस्रो सेमेस्टरको अन्तिममा दुई महिने इन्टर्नसिप गर्नुपर्नेछ,’ उनले भने, ‘विद्यार्थीको कक्षामा न्यूनतम ८० प्रतिशत भौतिक उपस्थिति रहनुपर्छ । अन्तिम सेमेस्टरको अन्तिममा शोधकार्य गर्नैपर्ने हुन्छ ।’

भ्रष्टाचार निवारण विषय अध्ययनका निम्ति सुरक्षा निकायले विद्यार्थीका रूपमा आफ्ना अधिकृतलाई सहभागी गराएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अर्जुनकुमार खड्का र नम्बर एक विपद् व्यवस्थापन गणमा कार्यरत सेनानी (मेजर) भानुभक्त कँडेल विद्यार्थी छन् । भ्रष्टाचार निवारण प्रतिष्ठानले संस्थापक तथा हाल संरक्षक भरत जंगमका नाममा छात्रवृत्ति व्यवस्था गरेको छ । जसअनुसार प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र भूगोल उप्रेतीलाई ३६ हजार रुपैयाँको ‘भरत जंगम पूर्ण छात्रवृत्ति’ तथा छात्रा सन्जु पोखरेल र अनिश अधिकारीलाई जनही १८–१८ हजार रुपैयाँको आंशिक छात्रवृत्ति प्रदान गरिएको छ ।


प्रकाशित : आश्विन १५, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?