कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सेनिटरी प्याडमा करविरुद्ध प्रदर्शन : ‘रातो कर खारेज गर’

बुनु थारु

काठमाडौँ — ‘हमार बहल लाजके लाल (के शोषण) खुन से रंगल तोहर कमाई ? भन्दै आफैँले बनाएको मिथिला आर्टसहितको प्लेकार्ड बोकेर माइतीघर मण्डलाको सडकमा बसेकी १९ वर्षीया क्रिस्पी रमन जेसवाल सरकारलाई आक्रोशित भएर भन्दै छिन्– ‘रातो रगतलाई शोषणको रुपमा लिइन्छ । मेरो रगतले रंगिएको छ तिम्रो कमाई ।’

सेनिटरी प्याडमा करविरुद्ध प्रदर्शन : ‘रातो कर खारेज गर’

सडकमा रगतका छिटाहरु फैलिएको जस्तो देखिन्छ । छेवमै महिनावारी भएकी महिलाबाट बगिरहेको रगतको पोस्टर छ । पोस्टरमाथि ४ जना लम्पसार परेका छन् । अनुहार र खुट्टामा राता अवीर दलिएका छन् । महिनावारीमा कर लगाउँदा महिला मात्र होइन पुरुष लगायत महिनावारी हुने व्यक्ति सबैलाई असर पार्नसक्ने सांकेतिक विरोध थियो यो ।

‘सेनिटरी प्याडलाई विलासिताको वस्तुको रुपमा लिइएको छ, महिनावारीको कर तिर्नुपरिरहेको छ, मानव अधिकारको लागि आन्दोलन गर्नुपर्ने हामी कहाँ छौ ? मूल्यवृद्धि भएको छैन भनिएको छ तर हामीले तिर्दैआएका छौँ । कर र भ्याट नै पहिलेदेखि तिर्दैआएका छौँ । यो हटाउनुपर्ने भन्ने हाम्रो माग हो,’ क्रिस्पी भन्छिन्, ‘म एक महिनावारी हुने महिला हुँ भने म कम्तीमा ३८ वर्षसम्म महिनावारी हुन्छु । महिनामा एकचोटी हुने महिनावारीमा पटक पटक प्याड फेर्नुपर्छ । मैले कहिलेसम्म कर तिर्ने ?’

यो सांकेतिक प्रर्दशनमा सहभागिता जनाएकी १९ वर्षीया अस्मिता साह भन्छिन्– ‘महिनावारीमा कर लगाइरहँदा मातृत्वमा पनि कर लगाइएको छ । हरेक महिलाको सुरक्षामा पनि कर लगाइएको हो यो । सकेसम्म नि: शुल्क दिइयोस् । नभए मुल्य घटाइयोस् ताकि सबैको पहुँचमा पुगोस् ।’


महिनावारी सामग्रीमाथि लगाउँदैआएको कर र भ्याटविरुद्ध शुक्रबार युथ कांग्रेस नेपालले अयोजना गरेको आन्दोलनमा अभियन्ता तथा विद्यार्थीहरुको एउटै स्वर थियो –‘रातो कर खारेज गर’ ।

आन्दोलनमा सहभागिता जनाउन आएका थिए कर र भ्याट खारेज गर्नुपर्छ भनेर साउन २६ गते सर्वोच्च अदालतमा रिट हालेका कानूनका विद्यार्थी अभ्युदय भेटवाल र श्रीना नेपाल ।

‘धेरैले यो महिलाकेन्द्रित विषयवस्तु भनेर बुझेका छन् । त्यो गलत हो । यो सामाजिक विषय हो । सबैको तर्फबाट लागियो भने केही परिवर्तन आउँछ । साथीहरु सडकमा उत्रेर जसरी आन्दोलन गरिराख्नुभएको छ त्यसले हाम्रो केश अझै बलियो हुन्छ होला । अदालतबाट पक्कै पनि सकरात्मक प्रतिक्रिया आउँछ जस्तो लाग्छ’ श्रीना भन्छिन् ।


असोज ७ गते ‘रातो कर माफ गर’ नारासहित पहिलो प्रदर्शनले धेरैको ध्यान खिच्यो । थुप्रैले ऐक्यवद्धता जनाए तर सरकारले यो विषयलाई गम्भीर रुपमा नहेरेको अभियान्ताहरुको भनाइ छ ।

युथ कांग्रेस नेपालका केन्द्रीय कमिटी सदस्य विनोद देउवाले सरकारले माग नै प्रष्ट रुपमा नबुझेको बताउँछन् । ‘१ महिना अगाडि नै अर्थमन्त्रालयलाई विज्ञप्ति पनि बुझाएको हो । प्रधानमन्त्रीलाई पनि विज्ञप्ति दिने धेरै प्रयास गर्‍यौँ तर भेट्न पाएनौँ । यो आन्दोलन काठमाडौंका लागि मात्र होइन देशभरीको लागि हो’ उनले भने ।

उनले घरेलू रुपमा उत्पादन हुने महिनावारी सामग्रीहरुको पनि सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए । आफ्ना माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा जाने उनको भनाइ छ । ‘भोलि हामी पोखरामा पनि आन्दोलन गर्दैछौँ । सरकार सबै कुरामा प्रष्ट हुँदाहुँदै पनि हाम्रो मागमा गम्भीर बनेको छैन, उनले भने ।

बजारमा सेनिटरी प्याडमा मूल्यवृद्धि भएपछि अहिले यसको विरोध भइरहेको छ । त्यसमाथि महिनावारी सामग्रीमा १३ प्रतिशत कर र १५ प्रतिशत भन्सार कर सरकारले लगाइराख्दा महिनावारी हुने धेरै व्यक्ति मर्यादित महिनावारी र सुरक्षित प्रजनन स्वास्थ्यको मौलिक हकबाट बञ्चित भई ज्यान गुमाउन बाध्य भएका छन् । महिनावारीमा उपभोग गर्ने कुनै पनि सामग्रीबाट लिने गरेको विलासिताको कर खारेज गर्न सबै अभियान्ताको माग छ ।


प्रकाशित : आश्विन १५, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?