१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेस महाधिवेशन : केन्द्रको झल्को दिने गठबन्धन काठमाडौं महानगरमा

देउवा–प्रकाशमान प्रतिष्ठाको लडाईं 
प्रकाश धौलाकोटी

काठमाडौँ — मुलुकको संघीय राजधानी, कांग्रेसका सबैभन्दा धेरै क्रियाशील सदस्य भएको महानगर हो काठमाडौं महानगरपालिका । केन्द्रीय नेताहरुकै बसोबास भएका कारण राजनीतिक गतिविधि र सुझबुझमात्रै होइन, राजनीतिक दलप्रतिको चासो र सहभागिता पनि बढी नै छ । तर, महानगरमा प्रमुख राष्ट्रिय दल नेपाली कांग्रेस भने विगत १० वर्षदेखि नेतृत्वविहीन छ ।

कांग्रेस महाधिवेशन : केन्द्रको झल्को दिने गठबन्धन काठमाडौं महानगरमा

पार्टीका केन्द्रीय सभापतिदेखि सबैजसो नेताहरुको बसोबास क्षेत्र भए पनि काठमाडौंमा १२ र १३ औँ अधिवेशन नै भएन । एकअर्काको प्रतिष्ठासँग जोडिएका कारण पनि नेताहरुले महानगरको अधिवेशन गर्न चाहेनन् । आफू पराजित बन्नुभन्दा नेतृत्वविहीन बनाए ।

१४ औँ महाधिवेशनसम्म आइपुग्दा ‘महानगरभित्र कांग्रेसको एकीकरण’ नै सभापतिका उम्मेदवारहरुको चुनावी एजेण्डा बनेको छ । नेताहरु महानगरमा कांग्रेसलाई एकीकृत गर्ने, १० वर्षदेखिको 'भ्याकुम' पुर्ने र आगामी स्थानीय चुनावमा पार्टीलाई जिताउने नारा दिएर भोट माग्न व्यस्त छन् ।

काठमाडौं महानगरपालिकामा सभापतिसहित नयाँ कार्यसमितिका लागि शनिबार चुनाव हुँदैछ । पार्टीको केन्द्रीय महाधिवेशनकै झल्को दिने गरी केन्द्रीय नेताहरुले साँठगाँठ गरेर आफ्ना उम्मेदवार खडा गरेका छन् । यसपटक महानगरमा द्विपक्षीय भीडन्त हुने देखिएको छ ।

संस्थापन पक्षबाट प्रगतिमान रञ्जित र अर्को पक्षबाट नीलकाजी शाक्यले महानगर सभापतिमा उम्मेदवारी दिने तयारीसहित दौडधुपमा छन् । उनीहरुले छुट्टा–छुट्टै प्यानलसहित महानगरको नेतृत्वमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

महानगरकै बासिन्दा भएकाले पनि यहाँ नेता प्रकाशमान सिंहको प्रभाव छ । सिंहले ६५ वर्षीय नीलकाजी शाक्यलाई अघि सारेका छन् । उनी काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष समेत हुन् । शाक्यलाई नेता सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बलियो समर्थन छ । काठमाडौंमा बलियो प्रभाव राख्ने नयाँ पुस्ताका प्रभावशाली नेता गगन थापाले पनि शाक्यलाई समर्थन गरेका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्षबाट ५१ वर्षीय प्रगतिमान रञ्जितलाई अघि सारेका छन् । आफ्नो ग्राउण्ड कमजोर भएकै कारण देउवाले काठमाडौंमा नेता कृष्णप्रसाद सिटौला समूहसँग गठबन्धन गरेका छन् । सिटौलानिकट नेता भीमसेनदास प्रधानको पनि काठमाडौंमा राम्रो प्रभाव छ । रञ्जितलाई सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत र जिल्ला सभापतिका दाबेदार उपेन्द्र कार्की लगायत नेताहरुले पनि उनैलाई साथ दिएका छन् ।

१३ औँ महाधिवेशनमा देउवाकै समर्थन लिएर जिल्ला सभापति बनेका सबुजकृष्ण बानियाँले पनि महानगर सभापतिमा शाक्यलाई सघाएका छन् । गत स्थानीय चुनावमा मेयरका प्रत्यासी राजुराज जोशी र क्षेत्र नं. ७ का सभापति मुकुन्द रिजालले पनि शाक्यलाई समर्थन दिएका छन् ।

महानगरपालिकाको अधिवेशन भए पनि केन्द्रीय महाधिवेशनकै झल्को दिने गरी शीर्ष नेताकै तहमा संवाद र छलफलपछि उम्मेदवारीमै गठबन्धन भएको छ । सबैभन्दा ठूलो महानगरको नेतृत्व आफ्नो पक्षमा पार्न र आफूलाई समर्थन जुटाउन सबैजसो नेताहरुको चासो छ । तर, आसन्न महाधिवेशनमा केन्द्रीय सभापतिका सम्भावित प्रतिस्पर्धीकै रुपमा हेरिएका सिंह र देउवाका लागि भने यो प्रतिष्ठाको लडाईं बनेको छ ।

‘कांग्रेस एकता भएपछि काठमाडौं महानगरपालिकामा अधिवेशन नै भएको छैन । त्यसकारण पनि काठमाडौंको यो अधिवेशनलाई महत्वपूर्ण रुपमा हेरिएको छ,’ काठमाडौंका एक नेताले भने, ‘केन्द्रीय नेताहरुकै प्रत्यक्ष चासो भएका कारण यो अधिवेशन थप रोचक बनेको छ ।’

महानगरको अधिवेशनको विषयलाई लिएर शीर्ष नेताहरुकै तहमा संवाद र छलफल चलिरहेको ती नेताले बताए । ‘देशकै ठूलो महानगर हो । फेरि केन्द्रीय सभापतिकै चासो छ । त्यसो भएपछि तयारी पनि त्यहीअनुसार हुने नै भयो । त्यहीकारण यो नेताहरुको प्रतिष्ठासँग पनि जोडियो,’ ती नेताले भने ।

काठमाडौं महानगरपालिकामा मात्रै २० हजारभन्दा धेरै क्रियाशील सदस्य छन् । ३२ वडा रहेको काठमाडौं महानगर अधिवेशनमा ती वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधि महानगर अधिवेशनका मतदाता हुन् । महानगर अधिवेशनका करिब १५ सय मतदाता छन् ।

को हुन् महानगर सभापतिका आकांक्षी ? एजेण्डा के–के ?

संघीयतासँगै स्थानीय तह अधिकार सम्पन्न भएका कारण पनि महानगर सभापतिको जिम्मेवारी महत्त्वपूर्ण छ । अझ आसन्न स्थानीय चुनावसँग जोडिएकाले महानगर सभापतिमा आकांक्षी धेरै हुनु स्वभाविक छ । तर, निर्वाचन प्रक्रिया सुरू नभएकाले कस–कसले उम्मेदवारी दर्ता गर्छन् भन्न नसकिए पनि पार्टीको संस्थापनबाट प्रगतिमान रञ्जित र अर्को समूहबाट नीलकाजी शाक्यको उम्मेदवारी टुंगिसकेको छ ।

संस्थापन समूहका सभापति उम्मेदवार ५१ वर्षीय रञ्जित सामाजिक सेवामा समर्पित काठमाडौंका नयाँ पुस्तामाझ लोकप्रिय नेता हुन् । नेविसंघबाट राजनीतिमा लागेका उनी तरुण दलको महानगर सभापति भए । उनी काठमाडौं–४ को क्षेत्रीय सचिव हुँदै जिल्ला कार्यसमिति सदस्य भएर समेत काम गरे । हाल उनी केन्द्रीय संगठन विभागको सदस्य छन् ।

संस्थापन इतर पक्षको उम्मेदवार ६५ वर्षे शाक्य काठमाडौं महानगरपालिका–२५ का निर्वाचित वडाध्यक्ष हुन् । संस्थापन नेताहरु गणेशमान सिंह, बीपी कोइराला लगायतको समीप्यमा कांग्रेसको राजनीति थालेका उनी विद्यार्थी, तरुण हुँदै पार्टी राजनीतिमा आएका हुन् । उनी तरुण दलका संस्थापक केन्द्रीय सदस्य समेत हुन् ।

रञ्जित र शाक्यका चुनावी योजना पनि उस्तै छन् । दुबैले महानगरमा गत निर्वाचनमा ब्यहोरेको हारलाई आगामी निर्वाचनमा उल्टाउने योजना बनाएका छन् ।

नेता रञ्जित आफू महानगर सभापति बनेर तीन पुस्ताबीचको ग्यापिङलाई पुर्ने बताउँछन्ए । ‘महानगर अधिवेशन १५ वर्षपछि हुन लागेको हो । यहाँ तीन तहको ग्यापिङ छ । ठूलो खाडल परेको छ । महानगर समिति नभएकै कारण हामीले स्थानीय चुनाव हार्‍यौँ । आधिकारिक समिति नहुँदा हार ब्यहोर्नुपरेको सबैलाई अवगतै छ,’ नेता रञ्जितले भने, ‘अब मैले नयाँ र पुरानो पुस्ताबीचको ग्यापलाई पूरा गर्दै महानगरमा संगठन सुदृढिकरण गर्ने योजना प्रस्तुत गरेको छु । पूराना नेताहरुलाई स–सम्मान समेटेर लैजान सक्छु । आगामी निर्वाचनमा पार्टीलाई जिताउनुपर्छ भनेर लागेको छु ।’

पार्टीको जुनसुकै भूमिका भए पनि आफूले निरन्तर पार्टीको नामबाट सामाजिक सेवा गर्दैआएको उनले बताए । यस्तै राजनीतिलाई व्यवसाय भनेर बुझेको समाजलाई राजनीति सेवा हो भनेर बुझाउने गरी आफूसँग योजना रहेको उनको दाबी छ । उनले आफूले सबैसँग सल्लाह र परामर्शमै उम्मेदवारी दिएको भन्दै महानगर सभापतिमा आफूले जित्छु भन्ने पूर्ण विश्वास रहेको बताए ।

अर्का उम्मेदवार नेता शाक्य पनि आफूले काठमाडौंमा छरिएको कांग्रेसलाई एकीकृत गरेर गुमेको शाख फर्काउने लक्ष्य कार्यकर्तामाझ प्रस्तुत गरेको बताउँछन् । ‘मैले गणेशमानजी र बीपीसँग पनि सामीप्य भएर काम गरेको हुँ । मैले विभिन्न आन्दोलनमा सक्रिय भूमिका मात्रै होइन, ०४२ सालको सत्याग्रहमा जेल परेको मान्छे हुँ । आन्दोलनकै क्रममा कतिपय बेला काठमाडौंमा बस्नै नहुने अवस्था हुँदा काठमाडौं छाडेर पनि भागेको छु,’ शाक्य भन्छन्, ‘गत स्थानीय चुनावमा अहिलेसम्म कांग्रेसले नजितेका वडामा रुख चुनाव चिन्हबाट वडाध्यक्ष विजयी भएको हुँ ।’

उनले आफूलाई गणेशमान सिंहको छोरा प्रकाशमान सिंह र युवाको ढुकढुकी गगन थापाको साथ, सहयोग र समर्थन भएकाले आफूले महानगर सभापतिमा जित हासिल गर्ने विश्वास व्यक्त गरे । ‘अहिले धेरै ठूला–ठूला कुरा गरेर अर्थ छैन । कांग्रेसको महाधिवेशनबाट एउटा ऊर्जा आएको छ, यो लहरलाई समेटेर अगाडि कसरी बढ्ने ? भन्ने मुख्य कुरा हो,’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७८ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?