३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

छाउपडीविरुद्ध किशोरी

लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्सामा गठित समूहले ३ वर्षदेखि छाउपडीविरूद्ध सचेतना अभियान चलाइरहेका छन्
तुलाराम पाण्डे

कालीकोट — घरदेखि विद्यालयसम्म छुवाछूत हुने छाउपडी प्रथाविरुद्ध यहाँका किशोरीले अभियान थालेका छन् । कक्षाकोठामै छाउपडीविरुद्ध छलफल हुन थालेपछि यो प्रथा न्यून हुँदै गएको छ । ‘पहिले गुपचुपमै लुकाइने छाउपडी प्रथाविरुद्ध अहिले कक्षामै अन्तर्क्रिया चलाउन थालेका छौं,’ नरहरिनाथ–३ स्थित रमा माविकी कक्षा ९ की छात्रा कमला वुढाले भनिन्, ‘हाम्रो अभियानपछि अभिभावकले हामीलाई छाउगोठमा पठाउन हच्किएका छन् ।’ उनले छाउपडी भएको बेला घरभित्र बस्न नपाइने, दूध, दही तथा पोसिलो खानेकुरा खान नपाइने, घरका अरु सदस्यलाई छुन नपाइने चलन अझै कालीकोटका गाउँहरूमा कायम रहेको बताइन् ।

छाउपडीविरुद्ध किशोरी

महिनावारी हुँदा खानाभन्दा बढी पिरलो सुत्ने ठाउँको हुने विद्यालयकी अर्की छात्रा ममता महताराले बताइन् । ‘घरको तुलनामा विद्यालयमा विभेद कम भए पनि महिनावारी स्वच्छतासम्बन्धी छुट्टै कोठा नहुँदा प्याड फेर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘पहिले त छाउ भएको बेला विद्यालय पनि नआउने चलन थियो ।’ उनले घरमा आमाबाबुले नै महिनावारीसम्बन्धी कुसंस्कार भोग्दै र मान्दै आएकाले पूरै हटाउन कठिन भएको गुनासो गरिन् ।

विद्यालयको अगुवाइमा छाउ प्रथाविरुद्ध अभियान सञ्चालन गरेर लामो समयदेखि घरपरिवारलाई दबाब दिइरहेको विद्यालयमा गठित किशोरी समूहकी सचिव जमुना बुढाले बताइन् । विद्यालयमा महिनावारी भएको बेला विभेद नभए पनि समस्या परेको बेला धारामा पानी नहुने, कहिले प्याड पनि नभेटिने, प्याड फेर्ने सुरक्षित ठाउँ पनि नहुने समस्या रहेको उनको भनाइ छ । ‘प्याड माग्न अफिस कोठामा जान पनि अप्ठेरो लाग्छ,’ उनले भनिन्, ‘एक जनालाई चाहियो भन्दै ३/४ जना जान्छौं ।’

कोरोना महामारीका कारण लामो समयपछि खुलेका विद्यालयमा किशोरीहरूले हप्तामा एक दिन कक्षाकोठामै छाउ प्रथाविरुद्ध छलफल चलाउने गरेका छन् । मंगलबार कक्षाकोठामै सरोकारवालासँग भएको छलफलमा कक्षा ९ का ७५ विद्यार्थीमध्ये अधिकांशले खुलेरै भनाइ राखे गाउँपालिका र सहयोगी संघसंस्थाको सहयोगमा साबुन र सेनिटरी प्याडलगायतका सामान छात्राहरूलाई नियमित दिन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र बटालाले बताए । ‘प्याडको व्यवस्था गरेपछि सबै छात्राहरूको पढाइ नियमित छ,’ उनले भने, ‘छात्राहरूले हप्तामा एकपल्ट कक्षामै महिनावारीबारे छलफल गर्न थालेपछि समुदायमा पनि महिनावारी बार्ने महिलाको संख्या घटेको छ ।’

विद्यालयको छलफलको निष्कर्ष घरमा पनि सुनाउने गरिएको अर्की छात्रा ममता विष्टले बताइन् । ३ वर्षदेखि लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्सामा गठन भएका किशोरी समूहले छाउपडीविरुद्ध सचेतनाका अभियान सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनका अनुसार छात्राहरूको अभियानले महिनावारी बार्ने, गोठमा सुत्नेलगायत चलनमा कमी आएको छ ।

८ वटा सामुदायिक विद्यालयलाई यो वर्ष १० लाखको सेनिटरी प्याड खरिद गरी वितरण गरिएको उनले जानकारी दिइन् । ‘पाका उमेरका महिलाले छोइछिटो गरे पनि नयाँ पुस्ताले छाउ बार्न छाडेका छन्,’ उनले भनिन्, ‘उनीहरूको अभियानले कुसंस्कार हटाउन ठूलो मद्दत पुगेको छ ।’ नरहरिनाथमा भएका १५ वटा छाउगोठ ३ वर्षअघि नै प्रहरीको सक्रियतामा भत्काएको उनले बताइन् ।

छाउ बार्ने चलन हटेपछि जिल्लाभरिका किशोरीको विद्यालय नियमित बन्दै गएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेश देवकोटाले बताए । ‘अहिले त कक्षाकोठामा छात्रभन्दा छात्राको उपस्थिति बढी देखिन्छ,’ उनले भने, ‘सेनिटरी प्याडको सुविधा, छात्रामैत्री शौचालय र सरसफाइले छात्राको नियमितता बढाउन सहयोग गरेको छ ।’ किशोरीको सक्रियतामा महिनावारी र सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दा प्रभावकारी भएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन १५, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?