कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

पुल निर्माणमा भारतीय अवरोध

तीन महिनाअघि पुल भत्केपछि स्थानीय पुनर्निर्माणमा जुटेका थिए तर एसएसबीले रोक लगाएपछि उनीहरु ज्यान जोखिममा राखेर पानीको बहाव छिचोल्दै आउजाउ गर्न बाध्य छन्
अवधेशकुमार झा

राजविराज — नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत सप्तरीको बेल्ही भन्सार कार्यालयनजिकको मितेरी चचरी पुल (बाँसको पुल) निर्माणमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको छ । सीमा क्षेत्रमा निर्माण गर्न नदिने भन्दै भारतीय सुरक्षाकर्मीले रोक लगाएपछि सर्वसाधारण पानीको बहावमा जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

पुल निर्माणमा भारतीय अवरोध

नेपाल–भारत सीमाअन्तर्गत सप्तरीको तिलाठी कोइलाडी–१ भन्सार चोकस्थित उक्त नाकाबाट दैनिक सयौं नेपाली र भारतीय आउजाउ गर्छन् । दशगजाबाटै खाँडो र जिता नदीको पानीको बहावसमेत आउने गरेको छ । ४० वर्ष अघिदेखि उक्त स्थानमा वारपार गर्न चचरी राखिएको थियो । बर्सेनि उक्त चचरी मर्मत गर्ने गरिन्थ्यो ।

तीन महिनाअघि चचरी भत्केपछि नयाँ बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका हुन् । भारतीय पक्षबाट अवरोध भएपछि ज्यान जोखिममा राखेर पानीमै आउजाउ गर्नुपर्ने अवस्था रहेको स्थानीय देवनारायण यादवले बताए । ‘वर्षौंदेखि उक्त स्थानमा चचरी थियो । अहिले फेरि निर्माण गर्न लाग्दा भारतीयले अवरोध गरिरहेका छन्,’ सीमा रक्षकसमेत रहेका देवनारायणले भने, ‘चचरी नहुँदा दुवैतर्फका सर्वसाधारण समस्या झेलिरहेका छन् ।’ खाँडो र जिता नदीको बहाव सीमाको दशगजा भएरै बग्ने गरेको र चचरीसमेत नहुँदा ओहोरदोहोर गर्नेले निकै सकस भोग्नुपरेको उनले बताए ।

नेपालतर्फ सप्तरीको सीमावर्ती क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री गर्ने प्रमुख बजार भारतको कुनौली नै हो । दैनिक सयौंको संख्यामा नेपाली पारिको बजार र आफन्तकहाँ जाने तथा भारतीय पनि नेपाल आउँदा यही नाकाको प्रयोग गर्ने गर्छन् ।

तीन महिनाअघिसम्म उक्त स्थानमा बाँसको पुल रहेको र क्षतिग्रस्त भएपछि नयाँ बनाउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेको सशस्त्र प्रहरी बल गण नम्बर ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताए । ‘भारतीय सुरक्षाकर्मीले माथिल्लोस्तरमा जानकारी गराउने र त्यहाँबाट आदेश आएमात्र बनाउन दिने भनेका छन्,’ उनले भने ।

‘मितेरी चचरी नहुँदा अहिले सर्वसाधारणलाई ओहोरदोहोरमा निकै समस्या भएको छ,’ तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले भने, ‘भारतीय सुरक्षाकर्मीले रोक्दा समस्या बेहोर्नु परिरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीमा क्षेत्रमा पुल नहुँदा वारपार गर्न निकै समस्या भएको बताए । ‘एसएसबीको अवरोधबारे भारतको सुपौल जिल्लाका डीएमसित छलफल गरी निकास निकाल्ने प्रयासमा छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?