कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले भने- 'ओलीलाई पार्टीबाट निकाल्दा हस्ताक्षर गर्ने १० भाइले मलाई एमाले फुटाएको भन्न मिल्छ ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमाले फुटाए भन्ने आरोपको स्पष्टिकरण दिएका छन् ।
तत्कालिन अवस्थामा माधवकुमार नेपालको समूहमा रहेका १० स्थायी कमिटी सदस्यहरूले पछिल्लो समय आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको उनको भनाइ थियो । 

दाहालले भने- 'ओलीलाई पार्टीबाट निकाल्दा हस्ताक्षर गर्ने १० भाइले मलाई एमाले फुटाएको भन्न मिल्छ ?'

अखिल (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै दाहालले तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको स्पष्टिकरण दिएका हुन् ।

'अस्तिसम्म मलाई दह्रोसँग उभिनुस् कमरेड, तपाईंको पछाडि हामी छौं भन्ने गर्नुहुन्थ्यो । केपी ओली तानाशाह नै हो, अपराधी नै हो भन्नुहुन्थ्यो, ती १० भाइ छन् नि । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोजेको रे !,' दाहालले भने, 'मलाई गाली ! हैन उहाँहरू पनि बसेर केपी ओलीलाई पार्टीबाट निकालेको होइन ? केपी ओलीलाई निकाल्ने बेलामा त १० भाइ पनि थिए केन्द्रीय कमिटीमा । पार्टीबाट निकाल्न सही गरेका छन् । उनीहरूको सही गरेको माइन्युट नै छ । अनि मैले एमाले फुटाएको भन्न मिल्छ त ?'

आफूले नै हस्ताक्षर गरेर ओलीलाई पार्टीबाट निकाल्ने र अहिले आफूलाई एमाले विभाजन गर्‍यो भनेर आरोप लगाउनु ठीक नभएको दाहालको भनाइ थियो । त्यस्तो भन्दा ताली पिट्नेहरूलाई देखेर आफू हैरान भएको दाहालको भनाइ थियो ।

प्रकाशित : आश्विन १४, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?