कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

संघीय शासन प्रणाली नै गलत छ : यादव

प्रतीक्षा काफ्ले

कास्की — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको संघीय शासन प्रणाली नै गलत रहेको बताएका छन् । पोखरामा आयोजित जसपाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई बिहीबार सम्बोधन गर्दै यादवले संघीयताका यी सात संरचना (प्रदेश) नै गलत रहेको बताए ।

संघीय शासन प्रणाली नै गलत छ : यादव

‘यो संरचना सच्याउनुपर्छ’, उनले भने, ‘ब्रिटिस साम्राज्यवादी जहाँ–जहाँ पुगे यो संघीयता त्यही लगे । साम्राज्यवादीले फैलाएको शासन व्यवस्था नेपालमा गलत प्रचार गरियो र असफल भयो ।’ उनले यही शासन प्रणलीबाट मुलुकमा स्थिरता र स्थायित्व अगाडि बढ्न नसक्ने बताए ।

उनले नीतिसँगै अब राजनीति पनि परिवर्तन गर्न आवश्यक रहेको बताए ।‘समाजमा दलित र गैरदलितबीच ठूलो खाडल छ’, उनले भने, ‘निर्वाचन प्रणाली खिचडी छ, पचाउनै गाह्रो । महँगो निर्वाचन वडाको चुनाव लड्न मध्यम र गरिब परिवार सक्दैनन् । चुनाव ठेकेदार र माफियाको भयो ।’ उनले अब मुलुक समानुपातिक निर्वाचन प्रणलीमा जानुपर्ने बताए । यसो हुँदा पार्टी र उम्मेदवारले खर्च ब्यहोर्नुनपर्ने बताउँदै उनले जनतासँग घुमलिएको रिक्सा चालक पनि चुनाव लड्ने हैसियत बनाउन सक्ने बताएका थिए ।

यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्नेमा जोड दिए । संघीयता एकात्मक प्रणाली भएको उनको भनाइ छ ।

संघीयतामा पनि सबै शक्ति केन्द्रीकृत भएको बताउँदै संघमा सानो संख्यामा मन्त्रालय राखेर कृषि, खेलकुद, पर्यटनजस्ता मन्त्रालय प्रदेशलाई नै दिनुपर्ने बताए ।

युवालाई श्रम बजारमा निर्यात गरेर मुलुक नबन्ने उनको धारण थियो । ७० लाख युवायुवती विदेशिएको बताउँदै उनले मुलुकमा केटाकेटी र वृद्धवृद्धा मात्र रहेकाले मुलुकको विकास हुन नसकेको जनाए । नेपालजस्तो विकासोन्मुख देशलाई समृद्ध बनाउने युवाको महत्वपूर्ण भुमिका हुने बताउँदै उनले थपे, ‘अब अग्रजलाई सम्मान गर्ने हो । त्यागी नेता भन्दै सधैं एउटैलाई अवसर दिएर मुलुक बन्दैन ।’

प्रकाशित : आश्विन १४, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?