बुद्ध एयर प्रकरण

'पाइलटलाई झुक्यायो इन्डिकेटरले'

विराटनगरमा ल्यान्डिङ गियर खुलेको थियो
सुरज कुँवर

काठमाडौँ — ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

'पाइलटलाई झुक्यायो इन्डिकेटरले'

यो घटना छानबिनमा संलग्न स्रोतका अनुसार, उक्त जहाजको फ्लाइट डेटा रेकर्डर (एफडीआर) ले त्यस दिनको उडानमा पांग्रा (ल्यान्डिङ गियर) खुलेको, कुनै समस्या नरहेको देखाएको छ । ‘एफडीआरमा पांग्रा खुलेको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर ककपिटमा रहेका दुईवटा इन्डिकेटरमध्ये पहिलो इन्डिकेटरको संकेत बत्तीले ‘फल्स वार्निङ’ दिएकोले चालकदल विराटनगरमा झुक्किएछन् ।’

पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’

छानबिनकर्ताहरुले उक्त विमानको ल्यान्डिङ गियरमा कुनै समस्या नदेखिएको भनेका छन् । छानबिनमा संलग्न अधिकारीहरुले प्रारम्भिक अनुसन्धानका आधारमा उक्त विमान विराटनगरमा त्यस दिन ‘अवतरण गराएको भए हुने’ भन्ने उल्लेख गरेका छन् ।

यसैबीच बुद्ध एयरबाट गठन गरिएको छानबिन कमिटीले पनि त्यस दिन उडानमा रहेको ‘अल्फा नोभेम्बर इन्डिया’ कलसाइन भएको सो एटीआर विमानको ल्यान्डिङ गियरमा समस्या नभएको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गठन गरेको छानबिन समितिले त्यो विमानको एफडीआर अध्ययन सकिसकेको छ । ‘कमिटीले एफडीआर अध्ययन सकिसकेको छ,’ विश्वस्त स्रोतले भन्यो, ‘अब सिभीआर (ककपिट भ्वाइस रेकर्डर) मा रेकर्ड एटीसी र चालकदलको संवाद उतार्ने काम भइरहेको छ ।’

समितिले त्यसदिन काठमाडौंबाट उडेदेखि काठमाडौंमा अवतरण भएसम्मको १ घन्टा ५६ मिनेटको संवाद सुनिसकेको छ । यो संवादले पाइलट र एयर ट्राफिकबीच भएको कुराकानी र चालक दल कहाँनेर झुक्किए भन्ने विषयलाई प्रष्ट्याउने छ ।

‘नेपालमा मात्र होइन संसारभर जहाजमा बेलाबेला सिस्टम इरर, फल्स वार्निङले पाइलटलाई हैरान पारेका घटना छन्,' बुद्धका सम्बद्ध अधिकारीले भने, ‘यो जनधनको क्षति नभएको अकरेन्स (घटना) हो, यो (एक्सिडेन्ट) दुर्घटना होइन । यस्तो अवस्थामा गुड ह्याण्डलिङ गर्न सक्ने क्षमता पाइलटले देखाउनुपर्छ ।’

यो घटनापछि चालकदलका सबै सदस्यलाई प्राधिकरणको हवाई सुरक्षा विभागले ग्राउन्डेड गरेको छ । उनीहरुलाई अपरेटरले उडानमा पुनः फर्काउन ‘रिफ्रेसर’ तालिम वा छोटो प्रशिक्षण दिलाउँछ ।

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]

‘शुक्रबारभित्र हाम्रो छानबिनको प्रतिवेदन प्राधिकरणलाई बुझाउने छौं । प्राधिकरणको छानबिनपछि जे निर्देशन आउँछ पालना गर्ने छौं,’ ती अधिकारीले भने, ‘प्राधिकरणको प्रतिवेदन नआएसम्म चालकदल उडानमा जाँदैनन् ।’

त्यस दिनको उडानमा बुद्ध एयरका वरिष्ठ क्याप्टेन आङ्‌गेलु शेर्पा र कोपाइलट अमन अन्सारी उडानमा थिए । शेर्पा बुद्ध एयरको स्थापनाकालदेखिका पाइलट हुन् ।

११ वर्षअघि बुद्धले एटीआर-७२ विमानबाट पहिलो काठमाडौं-विराटनगर उडान गर्दा शेर्पा नै थिए । उनी बुद्धका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा पाइलटहरुको जाँच गर्ने डिसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् । उनको उडानमा रहेका कोपाइलट अन्सारी फ्रेस पाइलट हुन् । अन्सारीसँग सय घन्टा भन्दा कम उडेको अनुभव छ ।

प्रकाशित : आश्विन १४, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?