एमाले विधान महाधिवेशन : मुख्य एजेन्डा संगठन सुदृढीकरण

चुनाव केन्द्रित रणनीति बनाउन पालिकास्तरसम्मका जनप्रतिनिधिलाई सहभागी गराइँदै, पाँच हजारभन्दा बढी प्रतिनिधि
विभिन्न समूहमा हुने छलफलका दौरानमा आएका विचारलाई सम्पादन गरेर जुन विचार बनाउनेछौं, त्यसको नेपाली राजनीतिमा धेरै ठूलो महत्त्व हुनेछ ।– घनश्याम भुसाल, उपमहासचिव
बबिता शर्मा

काठमाडौँ — एमालेको आसन्न विधान महाधिवेशनमा राजनीतिक कार्यदिशा, आगामी निर्वाचनका लागि रणनीति, सांगठनिक संरचना जस्ता एजेन्डामा केन्द्रित हुने भएको छ । विभाजनले पार्टीलाई धक्का लागेको निष्कर्षमा पुगेको एमालेले संगठन निर्माणलाई महाधिवेशनको मुख्य कार्यसूची बनाएको छ । महाधिवेशनमार्फत नै चुनाव केन्द्रित रणनीति बनाउने तयारी पनि गरिएको छ ।

एमाले विधान महाधिवेशन : मुख्य एजेन्डा संगठन सुदृढीकरण

एमालेको शुक्रबारदेखि हुने पहिलो विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदन र विधानको मस्यौदामा छलफल गरेर अनुमोदन गर्ने तयारी छ । एमाले सचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ पहिलो शक्ति बनाउन निर्णय गर्ने बताए । ‘एमाले आज पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ,’ उनले भने, ‘निर्वाचन नजिक छ । चाहे नियमित कार्यतालिकाअनुसार १४ महिनापछिको चुनाव होस्, चाहे विभिन्न कारणले अर्ली इलेक्सन होस्, पार्टीलाई बहुमत प्राप्त दलका रूपमा स्थापित गर्न महाधिवेशनले वैचारिक, संगठनात्मक र भावनात्मक रूपले थप सुदृढ गर्नेबारेमा निर्णय गर्नेछ ।’ महाधिवेशनलाई निर्वाचन केन्द्रित बनाउनै एमालेले पालिकास्तरसम्मका जनप्रतिनिधिलाई सहभागी गराउँदै छ ।

एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र देखिएका विवाद र विभाजनका समस्यालाई विधान महाविधेशनले समाधान गर्नुपर्ने बताए । ‘आन्तरिक रूपले हामी अझ एकताबद्ध हुनुपर्नेछ । पार्टीका कार्यकर्ता, शुभचिन्तकको मुख्य अपेक्षा पनि यही हो,’ उनले भने । एमाले अब राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्ने गरी अगाडि बढ्ने उनले बताए । ‘फेरि पनि आजको राजनीतिमा सबैभन्दा बढी प्रभावकारी बन्न र हिजोको वर्चस्व फर्काउनका लागि एमालेले अहिलेका राष्ट्रिय राजनीतिका मुद्दामा सकारात्मक, प्रगतिशील हस्तक्षेप गर्दै अगाडि जानुपर्छ,’ भुसालले भने, ‘त्यस दौरानमा अरू वामपन्थी र लोकतान्त्रिक शक्तिहरूसँग सम्बन्ध विस्तार हुनेछन्, तिनीहरूसँगै अघि बढ्ने आधारहरू बन्दै जानेछन् ।’

एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयमा सर्वोच्च अदालतले गरेको फैसला र त्यसपछि बनेको नयाँ सरकारलाई लिएर एमालेले प्रश्न उठाउँदै आएको छ । एमालेको बुझाइमा यी घटनाक्रमले लोकतन्त्र र संविधानमा खतरा पैदा भएको छ । ‘पछिल्लो समय विकसित घटनाक्रम खास गरेर सर्वोच्च अदालतको परमादेश, राजनीतिक दलसम्बन्धी अध्यादेश र यसबीचमा विभिन्न संवैधानिक अंगबाट खेलिएको भूमिकाले मुलुकको लोकतन्त्र, संविधानको मर्म र राजनीतिक स्थायित्वमाथि गम्भीर चुनौती खडा गरेका छन्,’ सचिव ज्ञवाली भने, ‘एमालेले संविधानको रक्षा, कार्यान्वयन र विकास, लोकतन्त्रको सुदृढीकरणका लागि अग्रपंक्तिमा रहेर भूमिका खेल्नेछ । त्यससम्बन्धमा हामी महाधिवेशनमार्फत निर्णय गर्नेछौं ।’

एमाले सचिव ज्ञवालीले पार्टीले समृद्धिको यात्रालाई जारी राख्ने र समाजवादको आधार निर्माण गर्ने ठोस कार्यदिशा महाधिवेशनले तय गर्ने जानकारी दिए । ‘आन्दोलनका उपलब्धिको रक्षाका लागि मुलुकको आर्थिक विकास, समृद्धि र जनतालाई सामाजिक न्याय अपरिहार्य छ । समाजवादका आधारहरू निर्माण गर्नु अपरिहार्य छ,’ उनले भने, ‘पछिल्ला राजनीतिक घटनाक्रमले हामीले सुरु गरेको समृद्धिको यात्रा अवरुद्ध भएको छ ।’

एमालेले राष्ट्रियताको मुद्दा उचाल्ने अर्को रणनीति तय गर्दै छ । विधान महाधिवेशनले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादलाई अद्यावधिक र त्यसको थप व्याख्या गर्ने भएको छ । पार्टीको कार्यदिशा र कार्यभारको स्पष्ट व्याख्या पनि महाधिवेशनको प्राथमिकतामा छ । ‘हाम्रो राजनीति, यसको अस्थिरता, वैदेशिक हस्तक्षेप वा तिनका प्रभावहरूका कारण मूलतः कम्युनिस्ट पार्टीका रूपमा ठोस कार्यक्रम बनाएर अगाडि जानुपर्नेछ । त्यसका लागि हाम्रो सामान्य समझदारी बनेको छ,’ उपमहासचिव भुसालले भने, ‘भावी कार्यक्रमका बारेमा छलफल, बहस र अध्ययनका लागि ढोका खोलेका छौं । यसले हामीलाई तत्काल एक ठाउँमा उभिन ग्राउन्ड दिएको छ । महाधिवेशनमा विभिन्न समूहमा छलफल हुनेछन्, त्यस दौरानमा आएका विचारलाई सम्पादन गरेर जुन विचार बनाउनेछौं, त्यसको नेपाली राजनीतिमा धेरै ठूलो महत्त्व हुनेछ ।’

सचिव ज्ञवालीले विधान महाधिवेशनको जमघटलाई पार्टीको शक्ति प्रदर्शनका रूपमा पनि उल्लेख गरेका छन् । ‘यो पार्टीलाई एउटै दृष्टिकोण र एउटै लयमा हिंडाउने अभियान पनि हो,’ उनले भने, ‘समग्र कम्युनिस्ट आन्दोलनले छुट्टै विधान महाधिवेशन अहिलेसम्म नगरेकाले यसको विशेष महत्त्व हुनेछ ।’ प्रचार विभाग प्रमुख योगेश भट्टराई विधान महाधिवेशनबाट एकताको सन्देश दिन खोजिएको बताउँछन् । ‘यो महाधिवेशनमा मात्रै नभएर देशभरका अगुवा कार्यकर्ताको भेला पनि हो,’ उनले भने, ‘यसमा सामान्य रूपमा रहेको मतभेदलाई पनि समाप्त पार्दै पार्टीले वैचारिक तथा संगठनात्मक रूपमा एकताबद्ध बनाएर लैजाने कोसिस हुन्छ ।’

कसरी हुँदै छ महाधिवेशन ?

ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशैभरबाट पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । विधानमा यो महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य प्रतिनिधि हुने व्यवस्था छ । तर परिषद् गठन हुन नसकेकाले एमालेले विधानको बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै प्रतिनिधि छनोटको मापदण्ड खुकुलो बनाएर धेरैलाई सहभागी गराउन लागेको हो ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, जनसंगठनका केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, संघीय र प्रदेशका सांसद, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमालेबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रवास कमिटीबाट पनि प्रतिनिधित्व गराइँदै छ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई र एक दलितलाई अनिवार्य गरिएको छ ।

तीन हजार सिट क्षमता रहेको हलमा विशेष व्यवस्था गरेर सबै प्रतिनिधि अटाउने गरी व्यवस्था गरिएको छ । नअटेका प्रतिनिधिहरूलाई टेन्टमा राख्ने तयारी छ । प्रतिनिधिहरूका लागि परिचयपत्र, झोला, दस्तावेज, स्वास्थ्यसम्बन्धी किट्स तयार गरिएका छन् । हल, प्रतिनिधिका लागि खाना, यातायातलगायत तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । ‘प्रतिनिधिको नामावली संकलनको काम अन्तिम चरणमा पुगेको छ,’ सचिव ज्ञवालीले भने ।

पहिलो दिन शुक्रबार उद्घाटनपछि समूह विभाजन र तीन वटै दस्तावेज वितरण गरिनेछ । शनिबार समूहगत छलफल गर्ने र आइतबार छलफलका साझा निष्कर्ष हलमा प्रस्तुत गर्ने कार्यसूची छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले तीन वटा दस्तावेजमा छलफलका लागि ११ वटा समूह बनाउने तयारी रहेको जानकारी दिए । महाधिवेशन प्रतिनिधिका लागि परिचयपत्र र महाधिवेशनका लागि चाहिने सामग्री केन्द्रीय कार्यालयबाट उपलब्ध गराइँदै छ ।

प्रतिनिधिहरूलाई कार्यक्रम स्थलसम्म पुर्‍याउन सातदोबाटोबाट सटल बसहरूको व्यवस्था गरिएको ज्ञवालीले बताए । ‘त्यहाँसम्म उहाँहरू सार्वजनिक वा निजी गाडीमा आउन सक्नुहुन्छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म पार्टीले प्रबन्ध गरेका बसहरूले पुर्‍याउँछन् । बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था महाधिवेशन स्थलमै हुन्छ । साँझको खाना र बस्ने प्रबन्ध सम्बन्धित पार्टी कमिटीहरूले गर्छन्,’ उनले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्‍यो भने सात वटै प्रदेशका सम्पर्क कमिटीहरूले थप प्रबन्ध गर्छन् ।’

प्रकाशित : आश्विन १५, २०७८ ०६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?