मनमुटावबाट हत्यासम्म

दाम्पत्य सम्बन्ध जब हत्यामा टुंगिन्छ

पतिले पत्नीको र पत्नीले पतिको हत्या आवेगप्रेरित देखिए पनि अन्तर्यमा विवाहेत्तर सम्बन्ध, आर्थिक प्रतिकूलता र घरेलु हिंसा मुख्य कारण पाइन्छन् 
जनकराज सापकोटा

काठमाडौँ — सम्बन्धको न्यानोपनाबीच अघि बढ्ने दाम्पत्य जीवन एकअर्काको हत्या गर्ने तहसम्म कसरी पुग्छ ? किन यस्ता घटनाको शृंखला नियमित आकस्मिकताझैं बन्न पुग्छ ? यसको उत्तर केलाउनुअघि असोज ४ मा पुगौं, जुन दिन जिल्ला प्रहरी कार्यालय सिरहाले गोलबजार नगरपालिका–४ निपनियाकी हरिहरदेवी मोचीलाई पक्राउ गर्‍यो ।

दाम्पत्य सम्बन्ध जब हत्यामा टुंगिन्छ

उनले भारतीय नागरिक मुकेश यादवको समूहलाई ६० हजार रुपैयाँ सुपारी दिएर आफ्नै ३९ वर्षीय पति दुखरन महरा मोचीको हत्या गराएको प्रहरी अनुसन्धानले पुष्टि गर्‍यो । ४ सन्तानकी आमा हरिहरदेवी श्रीमान्को हत्या गराउने बिन्दुमा पुग्नुका पछाडि लामो कथा छ ।

वैदेशिक रोजगारीका क्रममा १० वर्ष कतार बसेर फर्केका दुखरन गाउँमै व्यवसाय गरेर बसिरहेका थिए । कतार छँदाको कमाइ श्रीमतीले हिनामिना गरेको आरोपमा उनीहरूबीच झगडा हुन थाल्यो । दुखरन मदिरा पिउँथे, श्रीमतीमाथि हातपातमै उत्रिन्थे र अनेक मानसिक यातना दिइराख्थे । यातनाको शृंखलाबाट मुक्ति पाउन हरिहरदेवीले पतिको हत्याको योजना रचिन् । दुई वर्षअघि हरिहरदेवी उपचारका क्रममा सीमावर्ती भारतीय बजार जयनगर पुगेकी थिइन् । त्यही बेला उनको भारतीय नागरिक मुकेश यादवसँग चिनजान भयो । श्रीमान्सँगको बिग्रँदो सम्बन्धकै बेला उनी मुकेशसँग नजिकिइन् । अन्ततः उनले मुकेशकै सहयोग लिएर श्रीमान्को हत्या गराइछाडिन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले असोज १२ मा गोरखा नगरपालिका–७ पौवाखेतबाट ५५ वर्षीय माइली कामीलाई पक्राउ गर्‍यो । उनले सँगै सुतेका ५६ वर्षीय श्रीमान् आइतबहादुर कामीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चार छोराछोरीकी आमा माइली र उनका श्रीमान्बीच सम्बन्धको चिसो ल्याउने कारण थियो मदिरा । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले लामो योजना बनाएरभन्दा पनि सधैंको झगडाबाट मुक्ति पाउन क्षणिक आवेगमा घटना गराएको देखिन्छ ।

हरिहरदेवी र माइलीको दुवै घटनामा देखिने एउटै समानता भनेको पतिबाट निरन्तर हुने यातना, हिंसा र दाम्पत्य जीवनमा हुर्किरहेको शंकासहितको चिसोपना हो । एक साताको अवधिमा सिरहा र गोरखामा सार्वजनिक भएजस्तो घटना देशैभरि निरन्तर भइरहेका छन् । पत्नीले पतिको हत्या गरेका घटना २० प्रतिशत र पतिले पत्नीको हत्या गरेका घटना ८० प्रतिशत देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला ५ वर्षमा मात्रै ४ सय २३ जना महिलाको हत्या श्रीमान्बाट भएको देखिन्छ । त्यस्तै यही अवधिमा ८५ पुरुषको हत्या पत्नीबाट भएको छ । दुवैबाट हत्या गर्ने प्रवृत्ति पछिल्ला वर्षमा बढ्दो छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्रहरीमा दर्ता भएका कुल व्यक्ति हत्याका १ सय ७० वटा घटनामध्ये पतिले पत्नी र पत्नीले पतिको हत्या गरेका घटना मात्रै कुल व्यक्ति हत्याको २९ प्रतिशत थियो । यस्तो प्रतिशत आर्थिक वर्ष २०७४/७५ मा ३३, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ मा ३२–३२ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/७८ मा यो तथ्यांक ह्वात्तै बढेर करिब ५० प्रतिशत पुगेको छ । अर्थात् यो वर्ष कर्तव्य ज्यान मुद्दाका २ सय ६६ घटना प्रहरीमा दर्ता भएका थिए । जसमध्ये पतिले पत्नीको हत्या गरेका घटना १ सय १४ थिए भने पत्नीले पतिको हत्या गरेको घटना जम्मा २० थिए ।

पति–पत्नी हत्याका कुल घटनामध्ये औसतमा ८० प्रतिशतभन्दा धेरै घटना पतिद्वारा पत्नी हत्याका छन् । आर्थिक वर्ष २०७३/७४ मा ६७ घटनामा पतिले पत्नीको हत्या गरेका थिए भने १८ घटनामा पत्नीले पतिको हत्या गरे । घटनाको यो प्रवृत्ति चार वर्षपछि केलाउँदा पनि उस्तै देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा १ सय १४ जना पत्नीको हत्या पतिबाट भएको छ, २० जना पतिको हत्या पत्नीबाट भएको छ ।

प्रहरीले जेठ २८ मा इलामको देउमाई नगरपालिका–४ बस्ने ४६ वर्षीय सुर्जामाया तामाङको हत्या गरेको आरोपमा उनका श्रीमान् ताकबहादुर तामाङलाई पक्राउ गर्‍यो । प्रहरीले जेठ ६ मा काभ्रेको चौरीदेउराली गाउँपालिका–९ का सोनाम लामा र उनका बाबु च्याङ्बा भनिने चन्दवज्र लामालाई पक्राउ गर्‍यो । सोनामले बाबुको सहयोगमा २२ वर्षीय पत्नी सुमिना गुरुङको हत्या गरेको प्रहरी अनुसन्धानले देखायो । २ वर्षअघि प्रेमविवाह गरेका र १८ महिने छोरा हुर्काइरहेको यो दम्पतीबीचको सम्बन्धमा चिसो आएको महिनौं भइसकेको थियो । बारम्बार सल्किरहेको घर कलहकै बीच सोनाम पत्नी सुमिनाको हत्या गर्ने बिन्दुमा पुगेको प्रहरीको भनाइ छ ।

असोज १ मा दाङको घोराहीबाट ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा उनकी श्रीमती मनसरा घर्ती पक्राउ परिन् । सम्पत्तिको विवाद चर्किंदै जाँदा हत्यामा परिणत भएको प्रहरीले निष्कर्ष निकाल्यो । म्याग्दीको मालिका गाउँपालिकाका ३४ वर्षीय शिव जीसीको हत्या गरेको अभियोगमा उनकै श्रीमती २५ वर्षीय रञ्जना जीसी साउन ४ मा पक्राउ परिन् । दाङको तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीय देवीकुमारी योगीले भदौ १३ मा ७८ वर्षीय श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लट्ठी प्रहार गरी हत्या गरिन् । प्रहरी बयानमा देवकुमारीले घरायसी विवाद चर्किंदै जाँदा रिसको झोकमा श्रीमान्माथि प्रहार गरेको बताइन् । उनले रिस थाम्न नसक्दा श्रीमान्को ज्यान गयो ।

पतिले पत्नीको वा पत्नीले पतिको हत्या गरेका यस्ता दर्जनौं घटना केलाउँदा दाम्पत्य जीवनमा हुर्किरहेको अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन र आर्थिक कारोबारले निम्त्याएको विवाद मुख्य कारण देखिन्छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । दाङ, तुलसीपुरमा ५६ वर्षीया देवकुमारीले ७८ वर्षीय पतिको हत्या गरेकी थिइन् । गोरखा–७ पौवाखेतमा ५५ वर्षीया माइली कामीले ५६ वर्षीय श्रीमान्को हत्या गरेको देखिन्छ । प्रहरी प्रवक्ता एसपी वसन्त कुँवरको बुझाइमा पति/पत्नी हत्याका अधिकांश घटना आवेगप्रेरित देखिन्छन् । उनले विवाहेत्तर सम्बन्ध, घरेलु हिंसा, दाइजोको विषय, मादक पदार्थको सेवनपछि उत्पन्न झगडा अधिकांश हत्याको कारण हुने गरेको बताए । ‘पति वा पत्नीको हत्यामा सुरुवाती अनुसन्धानको सुई नै परिवारभित्रै केन्द्रित गर्ने प्रचलन जस्तै भइसक्यो,’ उनले भने ।

फौजदारी अपराधसम्बन्धी मुद्दामा दख्खल राख्ने वरिष्ठ अधिवक्ता लव मैनालीले पतिले पत्नी र पत्नीले पति हत्या गरेका दर्जनौं मुद्दा देखे, सुनेका र पैरवी गरेका छन् । ‘दाम्पत्यभित्र हुने हत्याका अधिकांश घटनाको अन्तर्य पैसा, यौनसम्बन्ध वा विवाहेत्तर सम्बन्ध रहेको देखिन्छ,’ उनले भने, ‘कानुन कडा बनाएर अपराध घट्छ भन्ने भ्रम धेरैमा देख्छु । तर यो त संरचनागत समस्याका कारण हुने घटना हो ।’

समाजशास्त्री मीना उप्रेती पति–पत्नी एकअर्काको हत्यामा पुग्नुका कारण खोतल्न सामाजिक र संरचनागत अवस्थासम्मै पुग्नुपर्ने ठान्छिन् । उनले दाम्पत्य सम्बन्धलाई धर्म, संस्कार र चरित्र जस्ता सामाजिक अवयवका आधारमा हेरिने परम्पराले पनि मनमुटाव हुने बताइन् ।

‘पश्चिमाहरू सहज हुन्जेल सम्बन्धमा बस्छन् र असहज भएपछि आफ्नो बाटो लाग्छन् । तर हामीकहाँ जबर्जस्ती सम्बन्धमा बसाउने सामाजिक अभ्यास छ । यसले कुनै बिन्दुमा एकअर्काको हत्यासम्म गराउँछ,’ उनले भनिन् । उनी बहुसंख्यक घटनामा पतिले पत्नीको हत्या गरेको देखिनु वर्चस्वशाली पुरुषप्रधान संरचनाको उत्पादन ठान्छिन् । ‘सानो संख्यामा महिलाले पनि पतिको हत्या गरेको देखिन्छ । तर त्यसका पछि सहनुसम्म सहेर वा सहनै नसक्ने भएपछि अन्तिम विकल्पमा मात्रै पत्नीले पतिको हत्या गरेको देखिन्छ । जबकि पतिले गरेका हत्याका कारण सामान्य शंका र उपशंकाजस्ता विषय धेरै छन्,’ उप्रेतीले भनिन् ।

प्रकाशित : आश्विन १३, २०७८ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?