२५ वर्षअघि युवती बेचेको आरोपमा पक्राउ- समाचार - कान्तिपुर समाचार

२५ वर्षअघि युवती बेचेको आरोपमा पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — २५ वर्षअघि भारतमा नेपाली युवती बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् । प्रहरीको मानव बेचबिखन ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट लक्ष्मी परियारलाई पक्राउ गरेको हो । उनी आफूलाई लक्ष्मी केसी, लक्ष्मी विश्वकर्माजस्ता नामले चिनाउँथिन् । ४८ वर्षीया उनीमाथि २३ वर्षको हुँदा युवती बेचबिखन गरेको आरोप छ ।

ब्युरोका अनुसार उनले राम्रो काममा लगाइदिने भन्दै २०५३ असार ४ मा २० वर्षीर्या युवतीलाई एक पुरुषसँग भेट गराइदिएकी थिइन । जागिरको प्रलोभनमा परेकी युवतीलाई अर्का पुरुषसमेत मिलेर काँकडभिट्टा हुँदै कोलकाता पुर्‍याएका थिए । उनीहरुले यौन व्यवसाय सञ्चालन हुने एक कोठीमा आफूलाई भारु ३० हजारमा बेचेको पीडित युवतीले प्रहरी बयानमा बताएकी थिइन् ।

ब्युरोका अनुसार बिरामी परेर उपचारका क्रममा निस्कँदा ती युवती भागेर कोलकाताको संस्था नेपाली केन्द्रीय सेवा संघको सम्पर्कमा पुगेकी थिइन् । संघका सदस्य ओमबहादुर गुरुङले पीडित युवतीलाई नेपाली महावाणिज्य दूतावासमा बुझाइदिएका थिए । उद्धार भएर २०५३ साउन १ मा काठमाडौंमा आएपछि उनले प्रहरीमा लक्ष्मीविरुद्ध जाहेरी दिएकी थिइन् ।

ब्युरोले झन्डै २५ वर्ष पुरानो लक्ष्मीको फोटोका आधारमा अनुसन्धान अघि बढाएको थियो । ब्युरोका प्रवक्ता एसपी अनुरागकुमार द्विवेदीका अनुसार अहिले लक्ष्मीमाथि बयान चलिरहेको छ । उनीमाथि जिउ मास्ने कार्य (नियन्त्रण) ऐन २०४३ तथा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्

राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रकाशित : आश्विन ११, २०७८ २०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×