२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
टिप्पणी

कांग्रेस : कति लोकतन्त्रवादी, ऐनामा हेर्ने कि ? 

 कांग्रेसले महाधिवेशन हुनु ६ महिनाअघि नै विधानतः क्रियाशील सदस्यता नवीकरण र बितरण टुंग्याउनु पर्थ्यो । तर क्रियाशील सदस्यताको विवाद टुंग्याएर नामावलीसमेत समयमा प्रकाशित गर्न सकेन । आफ्नै अधिवेशन लोकतान्त्रिक पद्धतिअनुसार गर्न नसक्नेहरूले के लोकतन्त्रको कुरा गर्नु ?
ध्रुव सिम्खडा

काठमाडौँ — पार्टी विधानको दफा–१० मा सदस्यतासम्बन्धी यस्तो व्यवस्था रहेको छ, ‘नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता जहिलेसुकै वितरण गरिनेछ । तर महाधिवेशन हुने मितिभन्दा ६ महिना पहिले क्रियाशील सदस्यता प्राप्त गरेको वा नवीकरण गरेको सदस्यले मात्र पार्टीको मतदानमा भाग लिन र यो विधानको व्यवस्थाबमोजिम निर्वाचनमा उम्मेदवार हुन पाउनेछ ।’

कांग्रेस : कति लोकतन्त्रवादी, ऐनामा हेर्ने कि ? 

सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यको अवस्थाबारे कम्तिमा प्रत्येक ६ महिनामा आफ्नो आवधिक प्रतिवेदन केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि विधानमा उल्लेख छ ।

तर मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसले विधानको यस व्यवस्थाको पालना गरेको छ त ? । यसको बर्खिलाप हुनेगरी वडा र गाउँ/नगर अधिवेशनहरू सम्पन्न गरेको छ । यसमा पनि अझ केही जिल्ला र गाउँ/नगरमा क्रियाशील सदस्यताको विवाद यथावत् नै भएकाले अधिवेशन स्थगित भएको छ । केही स्थानमा सुरू भएका निर्वाचन प्रक्रिया पनि विवादका कारण स्थगित गरिएका छन् ।

कांग्रेसले महाधिवेशन हुनु ६ महिनाअघि क्रियाशील सदस्यताको विवाद टुंग्याउनु पर्थ्यो । विधानको यो व्यवस्थाको ठाडै उल्लंघन गर्दै पार्टी वैधानिकता जोगाउने निहुँमा अधिवेशन त सुरू गर्‍यो तर क्रियाशील सदस्य (मतदाता) को नामावलीसमेत समयमा प्रकाशित गर्न सकेन । विधानबमोजिमका प्रक्रिया पूरा गरी समयमा महाधिवेशन गर्न नसक्नु नेतृत्वको ठूलो कमजोरी हो । आफ्नै अधिवेशन लोकतान्त्रिक पद्धतिअनुसार गर्न नसक्नेहरूले के लोकतन्त्रको कुरा गर्नु ? यिनबाट अरूले कस्तो संस्कार सिक्ने ? कांग्रेसजनले आफ्नो आदर्श, संस्कार र परम्परातिर फर्केर आफ्ना व्यवहारलाई हेर्ने कि ? आफू कति लोकतन्त्रवादी बन्न सकेका छौँ भनेर आफैलाई ऐनामा हेर्ने कि ?

महाधिवेशन हुनु, पार्टी वैधानिकता जोगिनुमात्र ठूलो विषय होइन, महाधिवेशनबाट समाजमा कस्तो प्रभाव पर्‍यो, त्योचाहिँ मुख्यकुरा हो । समयमा मतदाता नामावलीसमेत प्रकाशित नगरी अधिवेशन गर्ने राजनीतिक दलबाट कस्तो निर्वाचन संस्कारको आश गर्ने ?

क्रियाशील सदस्य नवीकरण, बितरण गरेर समयमै महाधिवेशन गर्न नसकेको कमजोरीलाई स्विकार्दै केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘पार्टी सञ्चालन पद्धति व्यवस्थित भएन । यसमा सुधार हुनुपर्छ । विधानको धारा निलम्बन गरेर महाधिवेशनको ४ महिनाअघिदेखि क्रियाशील सदस्यता नवीकरण र वितरण सुरू गर्दा विवाद बढ्यो । अधिवेशन हुने वर्ष क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया बन्द गर्नुपर्छ । अरूबेला नियमति सञ्चालन गर्नु पर्छ ।’

६४ जिल्लाका वडा अधिवेशन र ५४ जिल्लाका पालिकाहरूका अधिवेशन सकिँदासम्म पनि सप्तरी, रौतहट, रसुवा, बाँके, कैलाली, महोत्तरी र सिरहा जिल्लामा क्रियाशील सदस्यता विवाद सल्टिएको छैन ।

निर्वाचनको सामान्य प्रक्रियासम्म मान्ने हो भने पनि निर्वाचन हुनुअघि मतदाताहरूको नामावली सार्वजनिक गरिनुपर्छ । त्यसमाथि दाबी विरोधको समय दिनुपर्छ । यो प्रक्रिया पूरा भएपछिमात्र उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढ्छ । अहिले कांग्रेसको वडा र पालिकास्तरमा भएका निर्वाचनहरूमा के निर्वाचनका यी मान्यता पूरा गरिए त ? पार्टी निर्वाचनका आधारभूत कुरासमेत पूरा गर्न नसक्ने पार्टीले कसरी लोकतान्त्रिक विधिअनुसार चुनाव गर्‍यो होला ? प्रश्न यसमा हो । अझै पनि सक्रिय सदस्यतासम्बन्धी विवाद टुङ्ग्याउन माग गर्दै रौतहटका कांग्रेसजन पार्टी केन्द्रीय कार्यालयमा धर्नामै छन् ।

नेतृत्व केन्द्रित महाधिवेशन

कांग्रेसका पछिल्ला महाधिवेशनहरू नीति तथा कार्यक्रम केन्द्रित छैनन्, ती केवल नेतृत्व चयन गर्ने ‘ज्याम्बोरी’ मात्र बनेका छन् । वडा, गाउँ/नगरपालिका निर्वाचनमा पार्टीको भावी नीति तथा कार्यक्रमबारे कहीँ कतै छलफल भएको छैन । को आफ्नो गुटको र को अर्को गुटको भनेर मात्र हेरिँदैछ । कसलाई हराउने र कसलाई जिताउने भनेर रडाको र झै–झगडा गर्नेबाहेक नीति तथा कार्यक्रमबारे कुनै बहस, छलफल गरेको सुनिँदैन ।

केन्द्रीय सदस्य प्रदिप पौडेलकाअनुसार नीति र कार्यक्रममा तल्लो तहमा छलफलै भएको छैन । उनी भन्छन्, ‘व्यक्तिकेन्द्रित मात्रै भयो अधिवेशन, नीति केन्द्रित हुन सकेन ।’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि यसमा सुधारको खाँचो देख्छन् । भन्छन्, ‘नीति महाधिवेशन र नेतृत्व महाधिवेशन अलग–अलग हुनुपर्छ ।’ उनका अनुसार अहिले नीति केन्द्रितभन्दा पनि नेतृत्वकेन्द्रित महाधिवेशन भइरहेको छ । नीति महाधिवेशन सकिएको ६ महिनापछि नेतृत्वकेन्द्रित महाधिवेशन गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

‘टुरिस्ट’ अनुहारको बिगबिगी !

चुनावी मैदानमा यो शब्द नयाँ त होइन । किनकी, पहिले पहिले विश्वविद्यालय र कलेजतिर विद्यार्थी चुनाव हुँदा पनि आक्कल–झुक्कल ‘टुरिस्ट’ उम्मेद्वारको बिगीबिगी हुने गर्थ्यो । तर यसपालि यो ‘ट्रेन्ड’ कांग्रेसको स्थानीय अधिवेशनमा बढी देखियो । गाउँ, ठाउँमा ‘टुरिस्ट’ उम्मेदवार बढी देखिएको स्थानीय कांग्रेस कार्यकर्ताहरू सुनाउँछन् । ती प्रायः सहरकेन्द्रित छन् । र, अहिले वडा, पालिका तहमा पार्टी निर्वाचनमा पुगेका छन् । वडा र पालिकास्तरका समितिहरूमा पदाधिकारीभन्दा पनि तिनीहरू प्रतिनिधिमात्र बन्न चाहन्छन्, अधिकांश प्रतिनिधि बनेका पनि छन् । तिनीहरू महाधिवेशन प्रतिनिधि बनेर जिल्ला, प्रदेश र केन्द्रका पदहरूमा चुनाव उठ्न चाहन्छन् । त्यो नभए पनि केन्द्रदेखि वडासम्म आफ्नो गुटलाई मजबुत बनाउन सकियोस् भन्ने तिनको चाहना रहेको बुझ्न गार्‍हो पर्दैन ।

यो कुरा पक्का हो, अपवादबाहेक ‘टुरिस्ट’ उम्मेदवारहरूले हारे पनि जिते पनि वडा र पालिकामा बसेर स्थानीय पार्टी समिति सुदृढ गर्न लाग्ने छैनन् । यिनीहरू पार्टी संगठनलाई बलियो बनाउनभन्दा पनि गुटलाई ऊर्जा दिन परिचालित हुने सुकिला–मुकिलाहरूको समूह हो । पार्टीको बटवृक्षमा यो यस्तो ऐँजेरू हो जसले स्थानीय पार्टी संगठनलाई गुटरहित र सुदृढ हुन अवरोध सिर्जना गर्दछ ।

प्रकाशित : आश्विन ११, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?