धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियाली नागरिक पुर्पक्षका लागि थुनामा- समाचार - कान्तिपुर समाचार

धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियाली नागरिक पुर्पक्षका लागि थुनामा

कान्तिपुर संवाददाता

‍पोखरा — विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पक्राउ परेका चार कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ ।

पोखराको पृथ्वीचोकस्थित अन्ना पाउल गेष्टहाउसका सञ्चालक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले चारैजना कसुरदार होइनन् भनी भन्न नमिल्ने भन्दै कारागार पठाउने आदेश गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम उनीहरु पुर्पक्षका लागि थुनामा पठाइएको हो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कारागार पठाउनु,’ आदेशमा छ ।

कोरियाली नागरिकमाथि गेष्टहाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजनकिर्तन गर्ने, आर्थिक सहयोग र उपचार खर्च, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने, चर्चमा लैजाने र धर्म परिवर्तन गराएको आरोप स्थानीयले लगाएका थिए ।

कतिपय किशोरकिशोरीलाई ट्युसन पढाउने क्रममा क्रिश्चियन धर्मसम्बन्धी काम गर्ने, बाइबलका श्लोक र भजन गाउन लगाउने आरोप लागेपछि भदौ २९ मा प्रहरीले उनीहरुलाई पक्राउ गरेबको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ २०:००
प्रतिक्रिया
पठाउनुहोस्

रथीबाट अवकाशपछि पनि हमाल नै सिरियामा फोर्स कमान्डर रहने

सेनामा नयाँ रथीको रुपमा सिनियर उपरथी सरोजप्रताव राणाको नाम अगाडि
जगदीश्वर पाण्डे

काठमाडौँ — सिरियाको गोलनहाइटमा संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत शान्ति मिसनमा फोर्स कमान्डर रथी ईश्वर हमालले नेपाली सेनाबाट अवकाश भएपछि पनि जिम्मेवारी सम्हालिरहने भएका छन् ।

हमाल यही असोज २५ गतेबाट ५८ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जाँदैछन् । उनको स्थानमा नयाँ रथीमा वरिष्ठ उपरथी सरोजप्रताप राणालाई बढुवा गर्ने तयारी भएको सैनिक मूख्यालय जंगी अड्डाले स्रोतले कान्तिपुरलाई बतायो ।

हमालले नेपाली सेनाबाट अवकाश पाए पनि शान्ति स्थापनामा फोर्स कमान्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल नसक्दा समेत काम गर्न पाउने भएका हुन् । नेपाली सेनाको प्रस्तावमा यसअघि नै सरकारले रथी हमालको जस्तो अवस्था आए ‘नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निरन्रता दिने’ गरी निर्णय गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यूएनको जिम्मेवारीमा नेपाललाई उच्च तहमा थोरै मौका मिल्ने र त्यो मौका पनि जागिरको हदले जाने भएपछि उक्त निर्णय गरिएको थियो । फोर्स कमान्डरमा भने सरकारले सिफारिस गरे पनि जो कोही काम गर्नसक्ने अवस्था हुन्न । यसका लागि फोर्स कमान्डरका आकांक्षीहरुले परीक्षा पास गर्नुपर्ने हुन्छ ।

हमालसहित अन्य सैनिक अधिकृतहरुलाई हेरेर सरकारले नेपालमा अवकाश पाए पनि विदेशमा जिम्मेवारी सम्हाल्दा समेत उही पदमा रहेको जानकारी दिने गरी निर्णय गरेको हो । हमाललाई संयुक्त राष्ट्र संघले सन् २०२० को फेब्रुअरीमा फोर्स कमान्डर नियुक्त गरेको थियो । दुई वर्षे कार्यकालमा उनले १४ महिना काम गरिसकेका छन् । अब १० महिना काम गर्न बाँकी रहेको जंगी अड्डाका एक सैनिक अधिकारीले जानकारी दिए ।

हमालले सिरियामा फोर्स कमान्डरमा रहँदा नेपालको रथीकै परिचय दिनेछन् तर त्यहाँ जिम्मेवारी सकिने बित्तिकै उनी अवकाश प्राप्त हुनेछन् । सैनिक मुख्यालय जंगी अड्डाको लागि भने हमाल असोज २५ पछि अवकाश प्राप्त रथी नै हुनेछन् ।

प्रकाशित : आश्विन ११, २०७८ १९:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×