३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रथीबाट अवकाशपछि पनि हमाल नै सिरियामा फोर्स कमान्डर रहने

सेनामा नयाँ रथीको रुपमा सिनियर उपरथी सरोजप्रताव राणाको नाम अगाडि
जगदीश्वर पाण्डे

काठमाडौँ — सिरियाको गोलनहाइटमा संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत शान्ति मिसनमा फोर्स कमान्डर रथी ईश्वर हमालले नेपाली सेनाबाट अवकाश भएपछि पनि जिम्मेवारी सम्हालिरहने भएका छन् ।

रथीबाट अवकाशपछि पनि हमाल नै सिरियामा फोर्स कमान्डर रहने

हमाल यही असोज २५ गतेबाट ५८ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जाँदैछन् । उनको स्थानमा नयाँ रथीमा वरिष्ठ उपरथी सरोजप्रताप राणालाई बढुवा गर्ने तयारी भएको सैनिक मूख्यालय जंगी अड्डाले स्रोतले कान्तिपुरलाई बतायो ।

हमालले नेपाली सेनाबाट अवकाश पाए पनि शान्ति स्थापनामा फोर्स कमान्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल नसक्दा समेत काम गर्न पाउने भएका हुन् । नेपाली सेनाको प्रस्तावमा यसअघि नै सरकारले रथी हमालको जस्तो अवस्था आए ‘नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निरन्रता दिने’ गरी निर्णय गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यूएनको जिम्मेवारीमा नेपाललाई उच्च तहमा थोरै मौका मिल्ने र त्यो मौका पनि जागिरको हदले जाने भएपछि उक्त निर्णय गरिएको थियो । फोर्स कमान्डरमा भने सरकारले सिफारिस गरे पनि जो कोही काम गर्नसक्ने अवस्था हुन्न । यसका लागि फोर्स कमान्डरका आकांक्षीहरुले परीक्षा पास गर्नुपर्ने हुन्छ ।

हमालसहित अन्य सैनिक अधिकृतहरुलाई हेरेर सरकारले नेपालमा अवकाश पाए पनि विदेशमा जिम्मेवारी सम्हाल्दा समेत उही पदमा रहेको जानकारी दिने गरी निर्णय गरेको हो । हमाललाई संयुक्त राष्ट्र संघले सन् २०२० को फेब्रुअरीमा फोर्स कमान्डर नियुक्त गरेको थियो । दुई वर्षे कार्यकालमा उनले १४ महिना काम गरिसकेका छन् । अब १० महिना काम गर्न बाँकी रहेको जंगी अड्डाका एक सैनिक अधिकारीले जानकारी दिए ।

हमालले सिरियामा फोर्स कमान्डरमा रहँदा नेपालको रथीकै परिचय दिनेछन् तर त्यहाँ जिम्मेवारी सकिने बित्तिकै उनी अवकाश प्राप्त हुनेछन् । सैनिक मुख्यालय जंगी अड्डाको लागि भने हमाल असोज २५ पछि अवकाश प्राप्त रथी नै हुनेछन् ।

प्रकाशित : आश्विन ११, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?