कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

लियोनार्दो डिक्याप्रियोको चस्मा

कमल पन्थी

बर्दिया — सामान्य झगडामा आफन्त, छिमेकी, साथीभाइबीच बोलचाल बन्द हुन्छ । वर्षौं दुस्मनी रहन्छ । यस्तै शत्रुता पाल्दा हुन् भने मधुवन–३ खाताका ५३ वर्षीय भदै थारुको स्वभाव बेग्लै हुन्थ्यो होला । बाघले उनको एउटा आँखा फुटायो । दुईपटक वन्यजन्तुले आक्रमण गर्दा मुस्किलले ज्यान जोगियो । तैपनि उनी वन्यजन्तु संरक्षणका काममै क्रियाशील छन् ।

लियोनार्दो डिक्याप्रियोको चस्मा

केही वर्षअघिसम्म खाता जैविक मार्गमा सितिमिति बाघ देखिँदैनथ्यो । अहिले दिनहुँ देखिन थालेपछि थारू गद्गद् छन् । ‘पहिले चोरी सिकार गर्न कोही आए कि भनेर एक्लै वनमा निगरानी गर्थें,’ उनले भने, ‘अहिले आँट आउँदैन, बाघले कति बेला आक्रमण गर्छ पत्तै हुन्न ।’ त्यसैले समूहमा वनमा गस्ती सुरु गरेको उनले सुनाए । दिनमा एकपटक स्थानीय गौरी सामुदायिक वनको नियमित अनुगमन गर्छन् । उनका अनुसार सामुदायिक वनमा बाघ, हात्ती र गैंडाको संख्या बढेको छ । त्यसैले वन हेरालुसहित समूहमा जाने गरेको उनले बताए ।

‘एक साताअघि बाघले आक्रमण प्रयास गर्‍यो,’ उनले भने, ‘भागेर ज्यान बचायौं ।’ त्यसबेला खाता समन्वय समितिका कर्मचारी र पदाधिकारीमाथि बाघले आक्रमण प्रयास गरे पनि भागेर ज्यान बचाएको संरक्षणकर्मी माया योगीले बताइन् । ‘दिनहुँ बाघ आउने गरेको छ,’ उनले भनिन्, ‘वनमा जाने अवस्था छैन ।’ वन अहिले हराभरा र घना भइसकेको उनले बताइन् ।

१० वर्षअघि हलिउड अभिनेता लियोनाद्रो डिक्याप्रियो बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउदा थारूलाई भेटेका थिए । संरक्षणमा उनको योगदानबारे जानकारी पाएकाले भेटेको लियोनार्दोले बताएका थिए । ‘त्यो हिरोले ग्वाम्मै अँगालो हालेर यु आर ग्रेट, यु आर हिरो भन्यो,’ थारूले सम्झिए, ‘त्यसबेला केहीबेर बाघ संरक्षणसम्बन्धी कुराकानी भयो ।’ हलिउड अभिनेताले सम्झनास्वरूप दिएको चस्मा थारूले अहिलेसम्म साँचेर राखेका छन् । ‘संरक्षणका काममा जहाँ गए पनि चस्मा लगाएर जान्छु,’ उनले भने । करिब दुई दशकअघि उनी गौरी सामुदायिक वन अनुगमनमा जाँदा बाघले झम्टिएर आँखा फुटाएको थियो । त्यसबेला उनी वन उपभोक्ता समूहका अध्यक्षमा पहिलोपटक निर्वाचित भएका थिए ।

निकुञ्जमा खरखडाई खुलेको थियो । वनमा प्रवेश गरेका उपभोक्ताले वन र वन्यजन्तुमा कुनै हानि–नोक्सानी नपुर्‍याऊन् भनेर अनुगमनमा गएका बेला आफूमाथि बाघले आक्रमण गरेको उनले बताए । ‘बाघले पन्जाले आँखामा हिर्काएको थियो,’ उनले सम्झना गरे, ‘त्यो बेला म मुस्किलले बाघबाट बाचेँ ।’ घटनापछि उनी एक महिना अस्पताल बसे । नेपालगन्जमा उनको आँखाको शल्यक्रिया भएको थियो । ‘बाघले आफ्नो बासस्थानमा मानिसबाट खतरा भए मात्र आक्रमण गर्छ,’ उनले भने ।’

बाघसँगको जम्काभेटको ठूलो मूल्य चुकाएका उनी उक्त घटनापछि पनि संरक्षणका काममा पहिले जसरी नै क्रियाशील छन् । बाघ बचाउ अभियान नै चलाएका छन् । चोरी सिकार नियन्त्रणमा उनले युवा दस्ता बनाएर परिचालित गरेका छन् । त्यसताका नेपाल–भारतको सीमावर्ती जंगल भएका कारण खाता क्षेत्रलाई जैविक मार्गका रुपमा संरक्षित वन घोषणा गरिएको थियो । नेपाल–भारतबाट वन्यजन्तु ओहोरदोहोर गर्ने यस मार्गमा चोरी सिकारीको बिगबिगी थियो । संकटकालका समय तीन जना चोरी सिकारीलाई बाघ मारेको अभियोगमा तत्कालीन विद्रोही माओवादीले पक्राउ गरी बेपत्ता बनाएका थिए । यस जैविक मार्गमा एक वर्षयता ६ जनाको बाघले ज्यान लिइसकेको छ ।

प्रकाशित : आश्विन ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?