कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कांग्रेसमा थप पाँच जिल्लाका क्रियाशील सदस्य छिनोफानो

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिले डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाका क्रियाशील सदस्यको अन्तिम नामावली टुंग्याएको हो ।

कांग्रेसमा थप पाँच जिल्लाका क्रियाशील सदस्य छिनोफानो

यससँगै ६९ जिल्लाको सदस्यता सार्वजनिक भएको छ । अब ८ जिल्लाको सदस्यता प्रकाशित हुन बाँकी छ । हिमाली जिल्ला डोल्पामा भने निर्वाचन अधिकृत समेत खटाइसकिएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘हामीलाई थप पाँच जिल्लाको सदस्यता पार्टीले दिएको छ । ती सबै प्रकाशित गरेका छौँ । तर, तत्काल हिमाली जिल्ला डोल्पामा मात्रै अधिवेशन हुन्छ ।

त्यहाँको वडा अधिवेशनदेखिको प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृत खटाइसकेका छौँ,’ उनले भने, ‘अन्यत्रको चाहिँ एकैपटक गर्ने तयारी छ ।’ डोल्पामा भने निर्वाचन अधिकृतले समन्वय गरी मिति निर्धारण गरेर अधिवेशन गराउनेछन् ।

उनका अनुसार बाँकी आठ जिल्लाको सदस्यता टुंगो लागेपछि १२ वटै जिल्लामा एकैसाथ कार्यतालिका प्रकाशित गरेर अधिवेशनको प्रक्रिया अघि बढाइनेछ । कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ । ती जिल्लामा शनिबारदेखि पालिका तहको अधिवेशनसमेत अघि बढेको छ । शनिबारै ५४ जिल्लामा गाउँपालिका र नगरपालिकाको अधिवेशन भएको छ । निर्वाचन समितिका अनुसार डोल्पासहित हिमाली जिल्लामा दसैंअगावै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने तयारी छ । ती बाहेकमा भने दसैंअगाडि पालिका तहसम्मको मात्रै अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।

अब सदस्यताको टुंगो लगाउन बाँकी आठ जिल्लाको विषयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलसँगै छानबिन समितिका सदस्यहरू छलफलमा छन् । प्रदेश २ का ६ जिल्लासहित रसुवा र कैलालीको सदस्यता टुंग्याउन बाँकी छ ।

प्रकाशित : आश्विन १०, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?