कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

न्युयोर्कमा बंगलादेशी समकक्षी मोमेन र महासभाका अध्यक्ष साहिदसँग परराष्ट्रमन्त्री खड्काको भेटवार्ता

जगदीश्वर पाण्डे

काठमाडौँ — न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघका ७६ औं महासभाका दौरान परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो साइडलाइन भेटवार्तालाई निरन्तरता दिने क्रममा शनिबार बंगलादेशका विदेश मन्त्री अब्दुल मोमेन र ७६ औं महासभाका अध्यक्ष अब्दुल्ला साहिदसँग भेटवार्ता गरेका छन् ।

न्युयोर्कमा बंगलादेशी समकक्षी मोमेन र महासभाका अध्यक्ष साहिदसँग परराष्ट्रमन्त्री खड्काको भेटवार्ता

न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार समकक्षीद्वय खड्का र मोमेनबीच द्धीपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनका बारेमा विचार आदान–प्रदान गएको थियो ।

‘छलफलमा व्यापार, लगानी, जलविद्युत् विकास र सीमापार उर्जा व्यापारलगायत क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्ने विषयमा केन्द्रित थियो,’ नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुवै नेताहरु दुई देशबीच अहिले भइरहेको जनस्तरको सम्बन्धको महत्त्व उल्लेख गर्दै दुई मुलुकबीच विगतका सम्झौताको कार्यान्वयनलाई छिटो र पारस्परिक हितको क्षेत्रमा थप सहकार्य बढाउनको लागि सहमत भएका थिए ।

त्यसअघि ७६ औं महासभाका अध्यक्ष साहिदसँग भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले बधाई दिएका थिए । माल्दिभ्सका परराष्ट्रमन्त्री साहिद यो पटक संयुक्त राष्ट्र संघको महासभाको लागि अध्यक्ष चुनिएका हुन् । उनकै नेतृत्वमा अहिले महासभाको बैठक भइरहेको छ ।

उक्त छलफलमा परराष्ट्रमन्त्रीले खड्काले संयुक्त राष्ट्रसंघमा नेपालको प्राथमिकताबारे कुरा राखेका थिए । मन्त्री खड्काले नेपालका प्राथमिकताहरुमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा, विकास, माधनव अधिकार, यूएन शान्ति स्थापना मिसन र कम विकसित मुलुकहरुलाई सहयोग लगायतका विषय कुरा उठाएका थिए ।

साहिदले आफू यूएनमा रहँदा नेपालको प्राथमिकतालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । साहिदको कार्यकाल एक वर्षको हुनेछ । मन्त्री खड्काले पनि साहिदको कार्यकालमा नेपालको तर्फबाट पूर्णरुपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

परराष्ट्रमन्त्री खड्कालाई शनिबार राति न्यूर्योकस्थित यूएनका लागि नेपालको तर्फबाट स्थायी नियोगका प्रमुख अमृतकुमार राईले आफ्नो निवासमा रात्री भोज आयोजना गरेका थिए ।

मन्त्री खड्का यूएनको ७६ औं महासभामा नेपालको टोलीको नेतृत्व गर्दै न्यूर्योक गएका हुन् ।

खड्काले यसअघि शुक्रबार यूएनको ‘पिस अपरेसन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?