एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने- समाचार - कान्तिपुर समाचार

एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् । पार्टी केन्द्रीय कमिटी बैठकअन्तर्गत शनिबार समूहगत छलफलमा उठेका विभिन्न प्रश्न टोली नेताले प्रस्तुत गरेका थिए ।  

बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संठनात्मक प्रस्ताव र उप महासचिव विष्णु पौडेलले विधान संशोधनको विषयमा जवाफ दिने कार्यक्रम छ ।

‘तीनै जना नेताले जवाफ दिने र त्यसपछि अध्यक्षले सम्बोधनसँगै केन्द्रीय कमिटीको बैठक सकिनेछ,’ केन्द्रीय सदस्य हिक्मत कार्कीले भने ।

आगामी साता पहिलोपटक आयोजना हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनबारे छलफल गर्न शुक्रबारबाट बैठक सुरु भएको हो ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस अधिवेशन : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

आश गुरुङ

लमजुङ — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । मतपत्रसहित सिरियल नम्बरमा त्रुटि भेटिएको हो । मतदान प्रक्रिया स्थगित गरिएसँगै यसअघि मतदान गरिसकिएका र मतदान गरिनसकिएको मतपत्र जलाइएको छ ।

सभापतिका लागि मतदान प्रक्रिया चलिरहेका बेला मतपत्रमा त्रुटि भेटिएपछि सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले मतदान रोक्न माग गरेका थिए । उनीसहित सभापतिमा नुरराज कडरिया चुनावी मैदानमा थिए । मतपत्र जलाउने कार्यमा आफ्नो सहमति नभएको प्रत्यासी कडरियाले बताए ।

सभापतिका उम्मेदवारमध्ये पौडेलको आफ्नो मत संकेत ठीक चिह्न गर्ने ठाउँमा कोठा नै नभएको र दुवै उम्मेदवारको क्रमसंख्या एउटै १ भएपछि विरोध जनाएका थिए । कुल २ सय २ मतदाता रहेकोमा १ सय २३ मत खसेको थियो । शनिबार अपराह्न भएको मतदानका क्रममा मतपत्रमा त्रुटि देखिएपछि दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिएकोमा सााझसम्म सहमति हुन नसकेपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले बताए । उनका अनुसार खसेको मतपत्र र खस्न बाँकी मतपत्र सबै जलाइएको छ ।


कडरियापक्षका अनुसार पौडेलपक्षले जबर्जस्ती मतपत्र जलाएका थिए । पौडेलपक्षले भने आफूलाई चुनावमा हराउन षडयन्त्र गरेर मतपत्रमा चिह्न लगाउने कोठा नबनाएको र क्रमसंख्या एउटै बनाएको आरोप लगाएका छन् । राइनासमा अर्को सूचना जारी नभएसम्म अनश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको छ ।

‘दुवै पक्षाका प्रतिनिधिलाई देखाएपछि मात्रै मतदान प्रक्रिया अघि बढाएका थियौं । सुरुमा विरोध भएन । पछि मतपत्रमा त्रुटि भेटियो,’ मतदान अधिकृत चिलुवालले, ‘अब कसरी अगाडि बढाउने र के गर्ने भन्ने जिम्मा निर्वाचन अधिकृत र पार्टीले निर्णय गर्छ ।’ सभापतिका उम्मेदवार दुवैले मतदान अधिकृतको त्रुटि देखिएको बताएका छन् ।

कांग्रेस सभापति भेषबहादुर पौडेलले छिट्टै मतदान हुने बताए । ‘हामी एक–दुई दिनमै पुन: मतदानको व्यवस्था मिलाउँछौं’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×