१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लाइभ आत्महत्या : प्रहरीले थाहा पाउँदा पुनर्जीवन

चरम निराशाले मानिस आत्महत्याजस्तो कठोर कदम उठाउन अघि सर्छन्, त्यस्ताको बेलैमा पहिचान गर्दा अनिष्टताबाट जोगाउन सकिने उदाहरण प्रहरीसँग छ
लिला श्रेष्ठ

काठमाडौँ — महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा २०७७ मंसिर ११ को राति १२ः१५ बजे एक पुरुषले फेसबुक लाइभमा आत्महत्या गर्दै छ भन्ने सूचना प्राप्त भयो । कन्ट्रोल रुमले तत्काल साइबर ब्युरोलाई जानकारी गरायो । ब्युरोबाट खटिएका प्रहरी अधिकृतले ‘आत्महत्या गर्दै छु’ भन्ने व्यक्तिको ‘युजर डिटेल’ पत्ता लगाइदिन फेसबुकको कार्यालयमा अनुरोध गरे । फेसबुकले तत्कालै ती पुरुषको ‘युजर डिटेल’ पठाइदियो । फेसबुकमार्फत परिवारका सदस्यहरूको पत्ता लाग्यो । त्यसपछि प्रहरीले ती पुरुषकी पत्नीको सम्पर्क नम्बरसमेत पत्ता लगायो । फोन नम्बरको लोकेसन ट्र्याक गर्दा ती पुरुष पशुपतिनाथको जंगलमा गएको खुल्यो ।

लाइभ आत्महत्या : प्रहरीले थाहा पाउँदा पुनर्जीवन

ब्युरोले तत्काल महानगरीय प्रहरी वृत्त गौशालाको समन्वयमा उनलाई बचाउन दौडधुप बढायो । आत्महत्या गर्न मोटरसाइकलमा जंगल पुगेका पुरुष भेटिए । र, उनको ज्यान जोगियो । ‘जंगलमै परामर्श दियौं । लकडाउनपछि उब्जिएको निराशाले आत्महत्याको प्रयासमा पुगेका रहेछन्,’ प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले भने, ‘रातको सवा २ बजे हामीले उनलाई घट्टेकुलोस्थित डेरामा पुर्‍यायौं । आत्महत्या गर्न गएकालाई सकुशल परिवारमा फर्काउन सफल भइयो ।’ न्युरोडको एक मोबाइल पसलमा काम गरेर परिवार धान्दै आएका ती पुरुषको लकडाउनका कारण बेरोजगार भएका थिए । निराश भएर उनले त्यस्तो कदम उठाउन लागेका थिए । हाल उनी पुनः काममा फर्किएको प्रहरीले जनाएको छ ।

...

रामेछाप घर भई सतुंगल बस्दै आएका एक युवक अर्काको ट्याक्सी चलाउँथे । झन्डै एक दशक साहुको ट्याक्सी चलाएर दुई सन्तानसहित चार जनाको परिवार धान्दै आएका उनले सोचे– आफ्नै काम गरेर स्वाबलम्बी किन नबन्ने ? ऋण गरेर

ट्याक्सी किने । लगत्तै लकडाउन भयो । ट्याक्सी चलाउन पाइएन । परिवारसँगै डेरामै थुनिए । ऋण तिर्न नसक्ने पिरलोमा उनले आफैंलाई सिध्याउने (आत्महत्या) गर्ने सोच बनाए । ‘युट्युब च्यानल’ मा आत्महत्या गर्दै छु भन्दै अन्तर्वार्ता नै दिए । सोही अन्तर्वार्ताका आधारमा साइबर ब्युरोले उनलाई बोलायो । मनोपरामर्श दिएर प्रहरीले आत्महत्या नगर्ने प्रतिबद्धतासहित काममा फर्किने वातावरणसम्म पुर्‍यायो । उनी पुनः काममा फर्किएका छन् ।

...

महामारीका कारण पटक–पटकको लकडाउन हुँदा धेरैको सपना चकनाचुर भएको छ । कतिले जागिर गुमाएका छन् भने कतिको व्यवसाय डुबेको छ । बेरोजगारीकै कारण जीवनदेखि नै विरक्तिएका कतिपयले आत्महत्या गरे भने कति जना डिप्रेसनको सिकार छन् । चरम निराशाका बीच आत्महत्याको नजिक पुगेका केहीलाई भने प्रहरीले उद्धार गरेको छ । साइबर ब्युरोले स्वदेशमा मात्र नभई विदेशमा कार्यरत नेपालीहरूलाई समेत आत्महत्या गर्नबाट बचाएको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकुमार खड्गीले बताए । उनका अनुसार विदेशका सम्बन्धित प्रहरीसँग समन्वय गरेर ‘आत्महत्याको प्रयास गर्दै छु’ भन्नेहरूको खोजी गरी तत्काल उद्धार हुँदै आएको छ ।

२०७७ भदौ ३० को साँझ ८ः३० बजे । काठमाडौं घर भई वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका एक युवकले फेसबुकमा ‘आत्महत्या गर्दै छु’ भन्ने पोस्ट गरे । त्योबारे उनको साथीमार्फत साइबर ब्युरोलाई सूचना प्राप्त भयो । तत्कालै ब्युरोका फिल्ड अफिसरले फेसबुकलाई ती युवकको आईडीको ‘इमर्जेन्सी युजर डिटेल’ मागे । फेसबुकले उपलब्ध गराएका आधारमा ब्युरोले दुबई प्रहरीलाई जानकारी दियो । दुबई प्रहरी तत्काल ती युवककहाँ पुगे र सम्झाए । मनोपरामर्शपछि ती युवकले सामाजिक सञ्जालको त्यो पोस्ट हटाए, उनी काममा फर्किए ।

काठमाडौं बूढानीलकण्ठ–११ कपन घर भई यूएईमा कार्यरत एक युवतीले ‘टिकटकमा मेरो चरित्र हत्या हुने भिडियो पोस्ट भएकाले आत्महत्या गर्दै छु’ भनेको सूचना ब्युरोलाई प्राप्त भयो । ब्युरोले उनका साथी र परिवारमार्फत यूएईमा सम्पर्क गर्‍यो । पीडित युवतीले आफ्नो अर्धनग्न भिडियो कसैले टिकटकमा पोस्ट गरेर बेइज्जत गरेकाले आत्महत्या गर्न बाध्य बनाएको बताइन् । प्रहरीले उनलाई मनोपरामर्श नै दिनुपर्‍यो । ती युवतीको मनोदशा फेरियो । उनले भनेको भिडियो प्रहरीले टिकटकबाट हटाउन लगाइदियो ।

ब्युरोले फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गर्दै गरेका तीन जनालाई भने बचाउन सकेन । दाङको तुलसीपुर–५ की एलिजा गौतमले २०७७ असार १८ को राति ‘लाइभ स्ट्रिमिङ’ मा आई आत्महत्या गर्न लागेको थाहा पाउनेबित्तिकै फेसबुकमा आकस्मिक अनुरोध गरी ब्युरोको समन्वयमा स्थानीय प्रहरी परिचालन भयो । प्रहरीले घटनास्थल पुग्दा गौतमको मृत्यु भइसकेको थियो । ब्युरोले तत्काल सम्बन्धित ‘भिडियो पोस्ट’ गर्ने साइटहरू बन्द गर्न लगायो ।

त्यस्तै चितवन भरतपुर स्याउली बजारकी विद्या पाण्डेले पनि फेसबुक ‘लाइभ स्ट्रिमिङ’ गरी आत्महत्या गरिन् । २०७७ जेठ १५ मा मोरङको बेलबारी–४ का जीवन लिम्बूले आत्महत्या गरेको भिडियो फेसबुकमा पोस्ट गरे । प्रहरीले तत्काल उद्धार गर्न सकेन । ‘कतिपय अवस्थामा तत्काल कुनै ठाउँमा पुगिहाल्न पनि सकिन्न,’ ब्युरोका एक अनुसन्धान अधिकृतले भने, ‘बचाउन खोज्दाखोज्दै पनि स्पटमा ढिला पुगेको केस थोरै छन् ।’

कोरोना महामारीका कारण होस् वा अन्य कुनै कारण, आत्महत्याको सोच आउनु आफैंमा अनौठो होइन । तर जो यस्तो कठोर कदम चाल्न तयार हुन्छन्, सूचना पाए बचाउने सक्रियता प्रहरीले देखाएको छ । साइबर ब्युरोले स्थापनाको तीन वर्षमा आत्महत्याको प्रयास गरिरहेकै अवस्थाबाट २४ जनाको जीवनरक्षा गरिसकेको छ । ब्युरोका प्रवक्ता एसएसपी अर्यालका अनुसार विरक्तिएर आत्महत्या प्रयाससम्म पुगिसकेकाहरूलाई बचाउने प्रयास जारी छ ।

ब्युरोको समन्वय, सहकार्यमा जीवनरक्षा गर्न सफल व्यक्तिहरूले पछि कृतज्ञ हुँदै धन्यवाद दिएको उनी बताउँछन् । ‘जीवन त्यागिसकेको थिएँ, बचाइदिनुभयो भन्दै धन्यवाद दिन फोन गर्छन्,’ उनले भने, ‘परिवार, छरछिमेकीले समेत प्रहरीप्रति आभार व्यक्त गर्छन् ।’ प्रहरीका अनुसार ज्यान जोगिएकाहरूले घटनालाई सम्झन पनि चाहँदैनन् । आत्महत्या प्रयासबाट उद्धार गरेका महिलालाई महिला प्रहरी अधिकृत, पुरुषलाई पुरुष प्रहरी अधिकृतले नै परामर्श दिने गर्छन् ।

साइबर अपराध, आत्महत्यालगायतको न्यूनीकरणका लागि विशिष्ट प्राविधिक विश्लेषक तथा दक्ष प्राविधिक जनशक्ति थप गर्न सके अझै प्रभावकारी रूपमा काम गर्न सकिने ब्युरोको भनाइ छ । सुरक्षा मामिलाका जानकारहरू अपराधको बदलिँदो प्रकृतिसँगै दक्ष प्राविधिक जनशक्तिको आवश्यकता रहेको औंल्याउँछन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि सरकारले सोही किसिमको प्रविधि र साधन उपलब्ध गराउनुपर्ने बताउँछन् ।

‘प्रहरी संगठनले मात्र समयानुकूलको प्रविधि जुटाउन सक्दैन,’ उनले भने, ‘अपराधमा नयाँ नयाँ प्रविधि प्रयोग हुन थालेको छ, नियन्त्रणका लागि सोही अनुरूपका अनुसन्धान प्रविधिमा दक्ष जनशक्ति जरुरी छ ।’ सरकारले सामाजिक सञ्जालका सेवा प्रदायक कार्यालयहरूसँग सिधा सम्पर्क हुने वातावरण तयार गरिदिनुपर्नेसमेत उनी बताउँछन् ।

प्रकाशित : आश्विन १०, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?