कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जातीय विभेद

जब आमाको दाहसंस्कार गर्न दिइएन

हजुरआमा बितेपछि छोरा कृष्णबहादुरलाई घाटमा कपाल काट्न दिइएन, छोराले दलित बिहे गरेकाले उनी ‘अछूत’ भइसकेको भन्दै दाहसंस्कारबाटै वञ्चित गराइयो
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी
दीपक परियार

पोखरा — लामो समयको प्रेम सम्बन्धलाई अमृत भुजेल र पूजा गन्धर्वले ३ वर्षअघि विवाहमा परिणत गरे । अमृत जनजाति परिवारका हुन् भने पूजा दलित परिवारकी । पोखरा–२७ अर्चलेका छिमेकी र आफन्तले भने उनीहरूको बिहे देखिसहेनन् । अमृतको परिवार बहिष्कारमा पर्‍यो ।

जब आमाको दाहसंस्कार गर्न दिइएन

दुईबीच २०७५ पुस ६ मा अदालतमा विवाह भएको हो । २७ वर्षीय अमृत भेटेरिनरीको गाडी चलाउँछन्, २४ वर्षीया पूजा स्नातक तेस्रो वर्षमा पढ्छिन् । उनीहरूको बिहेलाई परिवारले सहजै स्विकारे पनि आफन्त र छिमेकीले पचाएनन् । अमृतले ‘तल्लो जातकी केटी’ बिहे गरेको भन्दै परिवारलाई नै छिःछिः र दुरदुर सुरु भयो ।

तीन भाइमध्ये अमृतका बुबा कृष्णबहादुर जेठो छोरा हुन् । हजुरबुबा वर्षौंअघि बितिसकेका थिए । हजुरआमा दुर्गीमाया अमृतकै घरमा बस्थिन् । पूजालाई भित्र्याएपछि भने हजुरआमा माइलो छोरा रेशम र कान्छो भीमबहादुरकहाँ बस्न थालिन् । दसैंमा कृष्णबहादुरलाई टीका लगाउनै छोडिन् । काकाहरूले अमृत र पूजालाई घरमा बोलाउन परै जाओस् बाटोमा भेट्दासमेत नराम्रो व्यवहार गर्न थाले । न पूजाआजामा बोलाइयो न बिहेवर्तनमा । बुबाको वार्षिक श्राद्धमा पनि कृष्णबहादुर छुटाइए । सार्वजनिक धारोमा अमृतको परिवारले पानी थाप्दा छिमेकीले सुनपानी छर्किन थाले ।

भदौ १८ मा अमृतकी हजुरआमा दुर्गीमाया बितिन् । कृष्णबहादुरलाई घाटमा कपाल काट्न दिइएन । छोराले दलित बिहे गरेकाले कृष्णबहादुर ‘अछूत’ भइसकेको भन्दै दाहसंस्कारबाट वञ्चित गराइयो । मलामी फर्किएपछि भीमबहादुरको घरमा किरिया बस्ने सल्लाह भयो । त्यति नै बेला छिमेकी रमा घमाल क्षत्रीले कृष्णबहादुरलाई १३ दिने किरियामा नमिसाउन रेशम र भीमबहादुरलाई उक्साइन् । जेठी बुहारी राधिकालाई पनि माइली सरिता र कान्छी शिवसँग ५ दिनको ठाडो किरियामा नमिसाउन भनिन् । उपस्थित सबैले ‘हो मा हो’ मिलाए । माइली र कान्छी बुहारीले त राधिकालाई लुछ्नै गए । किरिया बस्ने घरमा टेक्न दिएनन् । राधिका भाग्दै आफ्नो घर पुगिन् । स्थानीय अगुवा गोविन्द वाग्ले र प्रहरीको करकापले कृष्णबहादुरलाई भने अरू दुईसँग मिसाइयो तर पकाउन दिइएन । दुई जनाभन्दा केही परै राखियो । राधिका आफ्नो घरमा एक्लै ठाडो किरिया बसिन् ।

छोराले पूजालाई विवाह गर्दादेखि नै विभेद खेप्दै आएकी राधिकाको मन यसपल्ट नराम्रोसँग भाँचियो । ‘मेरो छोराले गन्धर्व बिहे गरेपछि समाज नै बोलेनन् । आफन्तले नाता नै टुटाए,’ उनले भनिन्, ‘आफन्त हुन्, छिमेकी हुन् भनेर सहेर बसियो । यसपल्ट अति नै भयो ।’ १३ दिनको संस्कार सकिएपछि उनी अर्चलेको बतासेबाट न्याय खोज्दै पोखरा झरिन् । उनलाई छोराबुहारीले दह्रो साथ दिए । छिमेकी गोविन्द वाग्लेको आड पाए ।

उनीहरू असोज ५ मा जिल्ला प्रहरी कार्यालय कास्की पुगे । छिमेकी रमा घमाल क्षत्री, आफन्त रेशम भुजेल, सरिता भुजेल, भीमबहादुर भुजेल र शिव भुजेलले आफूहरूमाथि जातीय विभेद गरेको भन्दै जाहेरी दिन खोजिन् । प्रहरीले प्रमाण नपुगेको भन्दै साक्षी र भिडियो रेकर्ड ल्याउन भन्यो । उनीहरूले भोलिपल्ट साक्षी लिएर पुगे । त्यस दिन पनि प्रहरीले जाहेरी लिएन । अर्को दिन बिहीबार प्रहरीले दुवै पक्षलाई बोलायो । सकेसम्म आपसमा मिल्न भन्यो । कांग्रेसका जिल्ला उपसभापति राजेन्द्रमणि पौडेल र एमालेका २७ नम्बर वडा कमिटी अध्यक्ष सूर्यमणि लामिछानेले पनि मिलापत्र गर्न दबाब दिए । उनीहरूले उल्टै पीडितलाई आफन्त, छरछिमेक चाहिने भन्दै जाहेरी नदिन धम्क्याए ।

‘गाउँको कुरा गाउँमै मिलाउनुपर्छ, भोलि यही समाजमा नबसेर कहाँ जाने भनेर हामीलाई तर्साएका थिए,’ राधिकाले भनिन्, ‘खुट्टै ढोगे पनि अब कानुनी बाटोबाटै जान्छु भनेर ढिपी कसें ।’ अमृत र पूजा पनि कानुनी उपचारकै बाटो जानेमा अडान लिए । प्रहरीले ५ जनाविरुद्ध जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी कसुरमा राधिकाको जाहेरी दर्ता गर्‍यो । प्रहरीका अनुसार सबै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १६८ बमोजिम अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन । गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?