१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कांग्रेस अधिवेशन : कतै निर्विरोध, कतै मतदान

प्रदेश ब्युरो

हेटौंडा — नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वाग्मती प्रदेशका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केही पालिकामा आइतबार मतदानको तयारी छ, कतै विवादका कारण स्थगित भएको छ ।

कांग्रेस अधिवेशन : कतै निर्विरोध, कतै मतदान

शनिबार काभ्रेको नमोबुद्ध, पनौती, पाँचखाल नगरपालिका र रोशी, चौरीदेउराली, खानीखोला र भुम्लु गाउँपालिकामा कांग्रेस गाउ–नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो । नमोबुद्धमा कुन्साङ लामा, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा सञ्जय तामाङ र रोशीमा दुधराज तामाङ, भुम्लुमा दावा लामा चौरीदेउरालीमा शेरबहादुर तामाङ, खानीखोलामा दोर्जेमान जिम्बा सर्वसम्मत चयन भएका हुन् । बनेपा, धुलिखेल र मण्डनदेउपुर नगरपालिका, बेथानचोक, तेमाल गाउँपालिकामा निर्वाचन भए पनि अबेरसम्म परिणाम आइसकेको छैन । विवादका कारण महाभारत गाउँपालिकामा प्रक्रिया अघि बढ्न सकेको छैन ।

चितवनका सातवटै पालिकामा नया कार्यसमिति चयनका लागि मतदान हुने भएको छ । भरतपुर महानगरका मतदान अधिकृत श्रीराम दवाडीले सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको बताए । वर्तमान सभापति भरत अधिकारीसहित चित्रसेन अधिकारी, हिरामणि अधिकारी, बच्चन कार्की र अर्जुन रिजालले उम्मेदवारी दर्ता गरेका छन् । भरतपुरमा १५२ जनाको कार्यसमिति निर्वाचित हुनेछन् । आइतबार मतदान हुने दवाडीले बताए । जिल्ला मतदान अधिकृत कोमल मोहन पोख्रेलका अनुसार रत्ननगर नगरपालिका र इच्छाकामाना गाउँपालिकामा पनि आइतबार नै मतदान हुने भएको छ । यीबाहेक अरु पालिकामा शनिबार साँझसम्म मतदान सकिएको उनले जानकारी दिए ।

मकवानपुरमा ४ वटा गाउपालिकाको अधिवेशन शनिबार सकिएको छ । इन्द्रसरोबर गाउँपालिकाको सभापतिमा विश्व लामा सर्वसम्मत भएका छन् । बकैया गाउँपालिका सभापतिमा दिलबहादुर भोम्जन, मनहरीमा प्रकाश बर्तौला र भीमफेदीको सभापतिमा सञ्जिव श्रेष्ठ विजयी भएका छन् । मकवानपुरमा १० पालिका छन् । तीमध्ये कतै मतदान भइरहेको छ भने हेटौंडा उपमहानगरमा उम्मेदवारी दिने काम सकिएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा चन्द्र श्रेष्ठ सर्वसम्मत सभापति चुनिएका छन् । कमलामाई र दुधौली नगरपालिकाको सभापतिमा ७ जना युवा आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । नगर सभापतिलाई स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको प्रत्याशीका रूपमा हेरिन्छ । सिन्धुलीका ७ गाउँपालिकामध्ये हरिहरपुरगढी, मरिण, घ्याङलेख, गोलन्जोर, फिक्कल, र तीनपाटन गरी ६ वटा गाउँपालिकामा पनि सभापतिलगायत पदका लागि उम्मेदवारी परेको छ । निर्वाचन समितिका प्रमुख लेखतबहादुर खड्काका अनुसार सर्वसम्मत हुन नसकेको पालिकामा सहमतिअनुसार आइतबार बिहानबाट मतदान प्रारम्भ हुनेछ ।

नुवाकोटको किस्पाङमा रणबहादुर तामाङ र लिखुमा विनोद पाठक सभापतिमा सर्वसम्मत चयन भएका छन् । अन्य गाउँपालिका र नगरमा मतदान गरिएको छ । बेलकोटगढी नगरपालिका ४ मा विवादका कारण वडा अधिवेशन नै हुन सकेको छैन । सिन्धुपाल्चोकमा केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा जिल्लाका तीन वडामा अधिवेशन गर्न नसक्दा अन्योल बढेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालयले पालिकाको अधिवेशन स्थगित भएको सूचना जारी गरेको थियो ।

दोलखाका ८ वटा पालिकामा सहमतिमा सभापति चयन भए पनि कालिञ्चोक गाउँपालिकामा विवादका कारण शनिबार निर्वाचन हुन सकेन । ९ वटा स्थानीय तहमध्ये शनिबार ३ वटामा निर्वाचन तय भएको थियो । त्यसमध्ये जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा पालिकाको सभापति सहमतिमा टुंग्याइएको छ । कालिञ्चोक गाउँपालिकामा भने संस्थापन र इतरपक्षको विवादका कारण अधिवेशन हुन सकेन । सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको निर्वाचन समितका संयोजक गोविन्द मानन्धरले वताए । सहमति नजुटे आइतबार निर्वाचन गरिने उनले बताए । ६ वटा पालिकामा भने भदौं २७ गते नै सहमति गरेर अधिवेशन गरिएको थियो । रसुवामा विवादका कारण कुनै पनि पालिकाको अधिवेशन हुन सकेको छैन ।

–नगेन्द्र अधिकारी (काभ्रे), रमेशकुमार पौडेल (चितवन), सुवास विडारी (मकवानपुर), राजकुमार कार्की (सिन्धुली), कृष्ण थापा (नुवाकोट), अनिश तिवारी (सिन्धुपाल्चोक) र केदार शिवाकोटी (दोलखा)

प्रकाशित : आश्विन १०, २०७८ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?