२२ दिनसम्म उठेन महिलाको शव- समाचार - कान्तिपुर समाचार

२२ दिनसम्म उठेन महिलाको शव

सीताले आत्महत्या गरेको प्रमाणित भएको प्रहरीको दाबी
परिवारले घटना शंकास्पद भएको भन्दै अन्त्येष्टि गर्न मानेनन्
सन्जु पौडेल

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा–४ स्थित भण्डारी रेस्टुरेन्ट रहेको घरमा दिनहुँ बाक्लो आवतजावत हुन्छ । रुवाबासी चल्छ । घरको दोस्रो तलास्थित कोठाका भित्तामा टाँगिएका तस्बिर हेरेर एक दम्पती आगन्तुकका सामुन्ने बिलौना गर्छन् । २७ वर्षीया सीता भण्डारी पौडेल गत भदौ २० को बिहान तिलोत्तमा–५ स्थित घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । त्यसयता उनको माइतीमा रुवाबासी छ ।

बाबुआमा र भाइ सुरज सीतालाई सम्झिएर शोकमग्न छन् । न्याय नपाउन्जेल अन्त्येष्टि नगर्ने उनीहरूको अडानका कारण २२ दिनदेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ । घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् । पोस्टमार्टम रिपोर्टबाट आत्महत्या प्रमाणित भएको प्रहरीको दाबी छ । परिवारले पत्याएका छैनन् । सीताको दुई वर्षअघि तिलोत्तमा–५ का टीका पौडेलसँग विवाह भएको थियो । विवाहपछि उनीहरूले पाल्पाको तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्दै आएका थिए ।

तीजका लागि भदौ ६ मा माइत आएकी सीतालाई जेठाजुका छोराको जन्मदिन परेको भनी घरमा बोलाइएको थियो । भदौ १९ को दिउँसो उपहारसमेत किनेर सीता घर पुगिन् । भोलिपल्ट बिहान आफ्नो कोठामा चुन्नीको पासोमा झुन्डिएको अवस्थामा भेटिइन् ।

परिवारका अनुसार सीताका श्रीमान् टीका भदौ १९ को साँझ मदिरा सेवन गरी ससुराली पुगेका थिए । उनले सासू–ससुरालाई ‘सीता अब बितरा पर्ने भई’ भन्दै सुनाएका थिए । सीताका बाबु हरिप्रसाद भण्डारीलाई उनले भदौ २० को बिहान ‘जरुरी काम छ’ भनेर घरमा बोलाएका थिए । छोरीको घर पुग्दा ज्वाइँ–छोरी दुवै थिएनन् । सोधपुछ गर्दा मृत पाएको बताइएको थियो । ‘छोरीको शव सिरानीको आडमा घोप्टिएको अवस्थामा थियो,’ हरिप्रसादले भने, ‘त्यसको जीउमा नीलडाम र मुखमा रगत देखिएको थियो ।’ शव भुइँमा घोप्टो पारेर राखिएको देखिनु, घरका अन्य सदस्यलाई सीताको मृत्युबारे थाहा नहुनु, मुखबाट रगत बगेकाले उनको आत्महत्या नभई हत्या भएको हरिप्रसादको दाबी छ । घटनापछि ज्वाइँले आफ्नी दिदीका कारण भएको आफूहरूलाई सुनाएको हरिप्रसादले बताए ।

सीताको मृत्युपश्चात् इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् टीका, आमाजू विष्णु र जेठाजु हरिविरुद्ध आत्महत्या दुरुत्साहन प्रयास र ज्यानसम्बन्धी जाहेरी दर्ता भएको डीएसपी सत्यनारायण थापाले बताए । तीन जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले पनि गर्दै छ ।

सीताका भाइ सुरजले सीआईबीले सकारात्मक नतिजा दिएमात्र शवको अन्त्येष्टि गर्ने बताए । ‘अब अन्तिम विश्वास सीआईबीकै हो,’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितमध्ये ८६ प्रतिशत खोप नलगाएका

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का नयाँ संक्रमितमध्ये करिब १४ प्रतिशतले खोपको डोज लगाएको पाइएको छ । अर्थात्, नयाँ संक्रमितमध्ये करिब ८६ प्रतिशतले खोप लगाएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार असोज पहिलो साता पीसीआर परीक्षण गर्दा ५ हजार ८ सय ३९ मा संक्रमण देखिएको छ । तीमध्ये ८ सय १२ जना अर्थात् १३.९० प्रतिशतले पूर्ण वा एक डोज लगाएका थिए । 

संक्रमणका कारण मृत्यु हुनेहरूमा खोप लगाएकाको संख्या पनि निकै कम छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार असोज ७ मा संक्रमणका कारण १३ जनाको मृत्यु भएको थियो । जसमध्ये एक जना पनि खोप लगाएका संक्रमित थिएनन् । ‘कोभिडको दोस्रो लहर उत्कर्षमा पुगेका बेला अस्पतालमा भर्ना हुने अधिकांशले खोप नलगाएका थिए,’ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका डा. अच्युत कार्कीले भने, ‘हाल वीरमा भर्ना हुन आउने संक्रमितमध्ये करिब ६० प्रतिशत खोप नलगाएका र अरू खोप लगाएका होलान् ।’

खोप लगाएकामा संक्रमण छिटो निको हुने देखिएको छ । डा. कार्कीले खोप लगाएकाहरू संक्रमण भए अस्पताल भर्ना हुँदा दुई/तीन दिनमै डिस्चार्ज हुने गरेको बताए । त्यस्ता संक्रमितमा मृत्युदर पनि अत्यन्त न्यून छ । ‘खोप लगाएकामा रोगको जटिलता खासै देखिएको छैन,’ ईडीसीडीका निर्देशकसमेत रहेका मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘देशभरका अस्पतालमा बुझ्दा खोप लगाएकाहरूको मृत्यु नगण्य छ ।’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाह खोपले संक्रमण हुनबाट जोगाउन नसके पनि ज्यान बचाउने बताउँछन् । ‘नेपाललगायत विश्वभरमा पूर्ण खोप लगाएकाहरूमा गम्भीर अवस्था र मृत्युको खतरा अत्यन्त न्यून देखिएको छ,’ उनले भने ।

कडा लक्षण नदेखिएसम्म परीक्षण गर्न नजाने भएकाले दैनिक संक्रमितमध्ये खोप लगाएका बढी हुनुपर्नेसमेत विज्ञहरू तर्क गर्छन् । ‘खोप लगाएकामा लक्षणरहित कोभिड देखिने गरिएकामा त हामीले चर्चा नै गरेका छैनौं,’ उनले भने, ‘यति हो, खोपले बिरामीको गम्भीरता कम गर्न सक्छ,’ डा. शाहले भने । संक्रमणको जोखिम रहेकाले खोप लगाएकालाई पनि स्वास्थ्य मापदण्ड पालनामा गम्भीर बन्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक रूपमै आग्रह गर्दै आएको छ । खोप लगाएर पनि संक्रमित भएकाहरूको मुख्य समस्या ज्वरो वा अन्य रोग देखिएको छ । मधुमेह, रक्तचाप, टन्सिललगायत कोमर्बिडिटीका कारण खोप लगाएकालाई पनि अस्पताल भर्ना गर्नुपर्ने डा. कार्कीले बताए ।

खोप लगाएकामा समेत संक्रमण देखिनुलाई चिकित्सकहरू ‘ब्रेक थ्रु इन्फेक्सन’ का रूपमा बुझ्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा यस्तो संक्रमण खोप लगाएको दुई सातापछि देखिन सक्छ । खोप लगाएकाहरूमा देखिने ‘ब्रेक थ्रु इन्फेक्सन’ को असर कम भए पनि अन्य संक्रमणजस्तै यसको ‘साइड इफेक्ट’ भने हुन सक्ने डा. पौडेलले बताए । ‘खोप लिइसके पनि देखिने संक्रमणका लागि मुख्य जिम्मेवार हाल छ्यापछ्याप्ती देखिएको डेल्टा भेरिएन्ट नै हो,’ उनले भने ।

शनिबारसम्म पहिलो डोज ६५ लाख २८ हजार ३ सय ९२ र पूर्ण खोप ६० लाख १४ हजार ९ सय ४१ जनाले लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमाथिका लक्षित जनसंख्यामध्ये ३० प्रतिशतले पहिलो र २७.६ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेका छन् । शनिबार मात्र २ लाख १६ हजार ७ सय ३२ जनाले खोप लगाए । हालसम्म नेपालमा कोभिडविरुद्घ अस्ट्राजेनेका, भेरोसेल र जान्सेन खोप प्रयोगमा छ ।

प्रकाशित : आश्विन १०, २०७८ ०६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×